रूपन्देहीमा पहिलो पटक चेन होटल सञ्चालनमा आउने भएको छ।
विश्वका ३८ मुलुकमा १६० वटा होटल सञ्चालन गरिसकेको लुभर होटल्स ग्रुपले रूपन्देहीको ओमसतिया गाउँपालिका ठुटीपिपलमा गोल्डेन टुलिप ब्राण्डको चेन होटल सञ्चालन गर्न लागेको हो।
शनिभा इन बुटिक होटल एण्ड स्पाको व्यवस्थापनमा चारतारे गोल्डेन टुलिप होटल सञ्चालनका लागि सरोबर होटल्स एण्ड रिसोर्टसँग सम्झौता भएको छ।
शानिभा इन बुटिक होटल एन्ड स्पाका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार केसी र सरोबर होटल्स एण्ड रिसोर्टका प्रबन्ध निर्देशक अशोक कुमार बकायाकाबीच व्यवस्थापन सम्झौतामा शुक्रबार हस्ताक्षर भएको हो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलोमिटर उत्तरतर्फ निर्माणाधीन रहेको गोल्डेन टुलिप होटल ६ महिनाभित्र सञ्चालन हुने केसीले जानकारी दिए।
होटलको भौतिक संरचना २०७९ फागुनदेखि निर्माण भइरहेको र ६ महिनाभित्र सञ्चालनमा आइसक्ने उनले बताए।
पूर्वाधार निर्माणमा मात्रै ५० करोडभन्दा बढीको लगानी रहने गोल्डेन टुलिप होटललाई भैरहवा क्षेत्रकै सबभन्दा लक्जरी होटलका रूपमा चिनिने गरी तयार गर्न लागेको उनले बताए।
सुरूआतमा ५२ वटा स्तरीय कोठासहित सेवा दिने होटलमा रोजगारीका लागि स्थानीयलाई प्राथमिकता दिइने केसीले बताए।
अहिलेको आर्थिक संकटको बेला एकल लगानीमा चारतारे होटल सञ्चालन गर्नु चुनौती रहे पनि त्यो चुनौतीलाई सामना गर्ने हिम्मतसहित लागेको उनले बताए।
‘यो कठिन समयको चुनौतीलाई ट्याकल गर्ने हिम्मतसहित आएको छु,’ उनले भने।
१२ वर्ष अस्ट्रेलियामा रोजगारी गरेर फर्किएका केसीले रूपन्देहीमा चेन होटलको सञ्चालनपछि विदेशी पर्यटकहरूलाई बुद्धको जन्मस्थल लुम्बिनी ल्याउन सकिने बताए।
पेरिसमा मुख्यालय रहेको सरोबर होटल्स विश्वभर आतिथ्य उद्योगको रूपमा स्थापित भइसकेको र ३८ मुलुकमा होटल सञ्चालन गरिरहेकोले ती देशहरूबाट थोरै पर्यटक लुम्बिनी ल्याउन सके पनि राम्रो उपलब्धी हुने उनले बताए।
होटलमा रूफ टप बार, स्वीमिङ पुलसहित अत्याधुनिक फिटनेस सेन्टर, स्पा, अत्याधुनिक बैठक कक्षहरू रहने छन्। होटलले छिट्टै नै क्यासिनो समेत सञ्चालन गर्ने जनाएको छ। गोल्डेन टुलिप होटल सञ्चालन नेपालको पहिलो होटल रहे पनि नेपालका अन्य स्थानमा समेत सरोबर समूहका होटलहरू निर्माणको तयारीमा रहेका छन्।
सरोबर होटल्स एण्ड रिसोर्ट्सका प्रबन्ध निर्देशक अशोक कुमार बकायाले नेपाल पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएको बताए। उनले रूपन्देहीको गोल्डेन टुलिप होटलपछि वीरगन्जमा सरोबर पोर्टी, चितवनको सौराहमा रोयल टुलिप र काठमाडौंमा मिराज सरोबर पोर्टी सञ्चालन गर्ने तयारी रहेको बताए।
उनका अनुसार यी तीन वटै स्थानमा पनि २०२५ भित्रै होटल सञ्चालन हुनेछन्।
होटल सञ्चालनका लागि आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले निजी क्षेत्रले आफ्नो लगानीको दायित्व पूरा गरे पनि सरकारले आफ्नो दायित्व निर्वाह गर्न नसकेको स्वीकार गर्दै नीतिगत सुधार अघि बढाउनुपर्ने बताए।
‘नेपालको निजी क्षेत्रले आफ्नो दायित्व पूरा गर्दै पर्यटन क्षेत्र धानेको छ, अब दायित्व पूरा गर्ने समय सरकारको हो,’ उनले भने।
गृहमन्त्री पाण्डेयले भारतीय पर्यटकले २५ हजार रूपैयाँभन्दा बढी रकम लिएर आउन नपाउने सरकारी नीतिका कारण भारतीय पर्यटकलाई आकर्षित गर्न नसकिएकोले ४ लाखभन्दा बढी रकम लिएर आउन पाउने गरी नीति बनाउन लुम्बिनी प्रदेश सरकारको तर्फबाट संघीय सरकारलाई सुझाव दिएको बताए।
गृहमन्त्री पाण्डेयले सुरक्षाको बहानामा भारतीय पर्यटकहरूलाई अनावश्यक दुःख दिने गरेको बताए।
‘भारतीय गाडीहरू आउँदा नेपालका सुरक्षाकर्मीहरू खुसी हुने अवस्था छ, बाटो बाटोमा अनावश्यक चेकजाँच गरेर दुःख दिने र पैसा माग्ने गरेका गुनासा भारतीय पर्यटकहरूबाट आउने गर्छन्, यस्तो प्रवृत्तिले कसरी पर्यटक विकास हुन्छ, पर्यटन विकासका लागि हामी सबै सुध्रिनुपर्छ,’ उनले भने।
नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रबन्धक लक्ष्मण गौतमले अन्तर्राष्ट्रिय विमानस्थल सुरू भैसकेको भन्दै थप समस्याहरू हट्ने बताए। लुम्बिनी एक नम्बरको पर्यटकीय स्थल भएको दाबी गर्दै उनले यहाँ विकासको ढोका खुलिसकेको बताए।
होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य गोपाल रानाले पर्यटनलाई कृषिसँग जोडेर आर्थिक रूपमा सबल हुन सकिने सिकाइ कोभिड संक्रमणको समयमा देखिएको बताए। धेरै समस्याका बीच पर्यटन नै आर्थिक विकासको पाटो भएको भन्दै उनले अब निराशाको कुरा छोडेर उज्वल भविष्यतर्फ अघि बढ्नुपर्ने बताए।