काम गरी खाने सबैले आफूले सोचेअनुसार चाडबाड मनाउने बिदा कहाँ पाउँछन् र! त्यसमाथि होटलको काम, कहिल्यै फुर्सद हुँदैन।
यस्तै बेफुर्सदी व्यक्ति हुन् मोहन कुँवर। ३७ वर्षे उनको जीवनका पछिल्ला बीस वर्ष काममै बिते। यसबीच उनले अधिकांश चाडबाड र उत्सव 'मिस' गरे।
यो वर्षको दसैंमा भने घर जाने मौका मिलेको थियो। आमाबुबाका हातबाट टीका–जमरा लगाए। उनको खुसीको सीमा रहेन।
'म त कति खुसी भएँ नि, बुबाआमा झन् धेरै खुसी हुनुभयो। परिवारमा छुट्टै उमंग भयो,' उनले भने।
बितेका दुई दशकमा उनी सहभागी भएको पारिवारिक समारोह भनेको भाइको बिहे हो। त्यो पनि अचानक पुगेका थिए। खबर पाएर, थाहा भएर होइन।
'भाइको बिहेमा अचानक अघिल्लो दिन घर पुगेँ। आफ्नै सुरले गएको थिएँ, बिहे रहेछ,' उनले भने।
मोहनको कामको प्रकृति नै त्यस्तै छ, फुर्सदै हुँदैन। अहिले उनी ललितपुरस्थित चारतारे होटल हिमालयमा एक्जुकेटिभ शू–सेफको जिम्मेवारी सम्हालिरहेका छन्। बिहान आठ बजे होटल पुग्छन्, फर्किने समयको टुंगो हुँदैन। सबै आगन्तुकलाई खुवाएर मात्रै निस्किन्छन्।
उनी आमाबुबाका जेठा सन्तान हुन्। स्थायी बसोबास सुदूरपश्चिमको धनगढी हो। बुबाआमा उतै छन्। श्रीमती र छोराछोरीका साथ उनी ललितपुरको पाटनमा बस्छन्।
मोहनको सेफ यात्राको आफ्नै कथा छ। बुबा सरकारी जागिरे थिए, आमा गृहिणी। बाल्यकाल सुखद थियो। स्कुल जान्थे। समयअनुसार कहिलेकाहीँ खेतबारीमा काम सघाउँथे।
उनको उमेरका धेरै किशोरहरू पैसा कमाउने काम गर्न भारत जान्थे।
एसएलसी दिएर उनी पनि आमाबुबालाई नभनी धनगढीबाट सुटुक्क भारत गए।
'बुबाआमाले मलाई पढाइ छाडेर भारत जान दिनुहुन्न भन्ने लाग्यो। साथीहरूको लहलहैमा भागेर गएँ। अलिपछि साथीहरूबाटै आमाबुबाले थाहा पाउनुभयो,' उनले भने।
जागिरे बाबुका छोरा, चिटिक्क र सुकिला लुगा लगाएका, हँसिलो मुहारका थिए। फूर्ति पाराका देखिन्थे। मासिक दुई हजार भारू तलब पाउने र खानबस्न पैसा नलाग्ने गरी एउटा रेस्टुरेन्टमा वेटरको काम पाए।
त्यसअघि उनले घरभित्रको काम कहिल्यै गरेका थिएनन्। भान्साको काम त झनै थाहा थिएन।
वेटर भएर काम गर्दा कहिलेकाहीँ गडबडी हुन्थ्यो। केही पटक त पोखढल पनि भयो। गाली वा सजाय भने पाएनन्। मायालु वातावरणमा काम सिक्ने अवसर मिल्यो।
यसले उनको आत्मविश्वास बढ्दै गयो। होटलका परिकार बनाउन सिक्ने चाह बढ्यो। परिकार, तरकारी, मसला, फलफूल इत्यादिको नाम अंग्रेजीमा जानेको हुनुपर्थ्यो। उनी कापीमा नाम टिप्दै सम्झिन थाले।
त्यो रेस्टुरेन्टमा करिब ६ महिना काम गरे। कामकै सिलसिलामा अर्को रेस्टुरेन्टका सेफसँग चिनजान भयो। तिनले आफ्नो रेस्टुरेन्टमा काम गर्न प्रस्ताव गरे। काम पक्का गरेर मोहन केही दिनका लागि घर आए।
घरबाट भागेर हिँडेका थिए, मनमा एक खालको संकोच र भय थियो। नभन्दै त्यस्तै भयो। उनले भारू आठ हजार जोगाएर लगेका थिए। बुबाले त्यो पैसा लिनै मानेनन्।
त्यो दिन सम्झिँदै मोहनले भने, 'बुबाले त कसको पैसा लिएर आइस् भनेर गाली गर्नुभयो। आफैंले कमाएको भनेर बुझाउन पनि गाह्रो भयो। सबै कुरा विस्तार लाएर भनेपछि मात्रै पैसा लिनुभयो।'
केही दिन घर बसेर उनी भारत फर्के। अर्को रेस्टुरेन्टका सेफसँग कुरा भएअनुसार काम थाले। उनको काम र दाम दुवै फरक पर्यो। उनी वेटरबाट परिकार बनाउने सहयोगी भए, तलब दोब्बरभन्दा बढी भयो।
'भन्सामा सेफले अह्राएको सबै काम गर्ने सहयोगी भएँ। तलब महिनाको भारू पाँच हजार भयो,' उनले भने।
सहयोगी भएर काम गदागर्दै एक वर्षमा उनी अनेक परिकार बनाउन जान्ने भए। कुनै रेस्टुरेन्टको भान्सा सम्हाल्न सक्छु भन्ने आत्मविश्वास भयो। अर्को रेस्टुरेन्टमा सेफ भएर गए। त्यसले इन्डियन, साउथ इन्डियन, चाइनिज र कन्टिनेन्टल परिकार खुवाउँथ्यो। उनले कन्टिनेन्टलमा काम पाए। नजानेका परिकार बनाउन ठूला सेफले सिकाए।
त्यहाँ पाँच वर्ष काम गरे। कहिलेकाहीँ गाली पनि सहनुपर्यो, धेरै चाहिँ प्रशंसा नै भयो। पाँच वर्षमा उनी रेस्टुरेन्टका अनेक परिकार बनाउन र फरक स्वाद दिन पोख्त भए।
अनुभव भएपछि काम नपाउने कुरै भएन। पहिलो रेस्टुरेन्टमा सँगै काम गरेका एक जना सेफ साथीमार्फत उनी बैंगलोरको अर्को रेस्टुरेन्टमा गए। खाने र बस्ने खर्च नलाग्ने गरी मासिक भारू आठ हजार तलब थियो। बैंगलोरमा नयाँ मान्छेसँग काम गर्न पाए, सिकाइ भयो। त्यहाँ करिब नौ महिना काम गरेपछि एउटा इटालियन रेस्टुरेन्टमा अवसर पाए।
इटालियन रेस्टुरेन्ट एउटा फड्को भयो। कहिल्यै नबनाएका परिकार बनाउन सिके। सीप र अनुभव बढ्यो।
'मलाई म आफू साँच्चै सेफ भएँ, पाँचतारे होटलको रेस्टुरेन्टमा काम गर्न सक्छु भन्ने विश्वास भयो,' उनले भने।
भर्खरै खुलेको एउटा पाँचतारे होटलले सेफ खोजेको थाहा पाए। उनले आवेदन दिए। 'फुड ट्रायल' भयो, २० वटा परिकार बनाए।
'मेरो पढाइ कम भयो भनेका थिए। तर मैले बनाएको खाना सबैले मन पराए,' मोहनले भने।
मासिक २५ हजार भारू पाउने गरी उनी असिस्टेन्ट कुक भए। काम सुरू गरेको केही दिनमै त्यहाँ इटालियन फुड फेस्टिभ भयो। मोहनका लागि त्यो फुड फेस्टिभ काम देखाउने अवसर भइदियो। तीन महिनामै तलब बढ्यो।
त्यसको केही समयपछि उनलाई त्यो होटलका सेफले पढ्दै काम गर्न सुझाए।
'सेफले मलाई पढाइ भएन भने माथिल्लो तहमा जान सकिँदैन, काम गर्दै पढ भने। साँच्चै हो भन्ने लागेर ११ कक्षामा भर्ना भएँ,' उनले सुनाए।
त्यहाँ झन्डै दुई वर्ष काम गरेपछि उही कम्पनीको अमेरिकन ब्रान्डको अर्को पाँचतारे होटलमा एक्जुकेटिभ सेफ भए। तर उनलाई त्यहाँ काम गर्न सहज भएन। एक्जुकेटिभ सेफलाई सबै किसिमका खानाको जानकारी चाहिन्छ। उनी इटालियन खानामा पोख्त थिए, अरूमा सामान्य।
पाँचतारे होटलमा काम गर्ने मोह यहीँ सकियो। कामको सिलसिलामा एउटा शिक्षा भयो। उनी मल्टिकुजिन (एउटै भान्सामा धेरै देशका परिकार बनाउने) मा काम खोज्न थाले र पाए पनि।
त्यहाँ दुई वर्ष काम गरेपछि मोहन इन्दौर पुगे जहाँ उनले एउटा रिसोर्टमा काम पाए। त्यहाँ उच्च ओहोदाका र धेरै खर्च गर्न सक्ने ग्राहक आउँथे। काममा सन्तुष्टि थियो। त्यही समय कोरोना फैलियो। रिसोर्ट बन्द भयो। काम बन्द भए पनि कम्पनीले आधा तलब दिँदै थियो।
उनलाई कामबिना अल्झिरहनु उचित लागेन। बरू आफ्नै देशमा एउटा रेस्टुरेन्ट खोल्छु भन्ने सोचेर फर्के। धनगढीमै उच्च गुणस्तरको रेस्टुरेन्ट खोल्ने योजना बनाए। बजार अध्ययन गरे तर परिणाम सोचेजस्तो आएन।
'मैले सोचेअनुरूपका परिकार दिन सबै सामान त नपाइने रहेछ। अरू जस्तै सामान्य रेस्टुरेन्ट खोल्नुको अर्थ थिएन,' उनले भने।
आफ्नो योजना त्यागेर उनी कामको खोजीमा काठमाडौं आए। एक जना साथीमार्फत नगरकोटको 'तायो इको रिसोर्ट' ले एक्जुकेटिभ सेफ खोजेको थाहा पाए।
भारतका होटल–रेस्टुरेन्टमा १८ वर्ष काम गरेका मोहनले अवसर नपाउने कुरै थिएन। आवास र खानाको सुविधासहित सन्तोषजनक पारिश्रमिक भयो। काम राम्रो थियो, रमाइलो पनि। तर आफ्नै देशमा भएर पनि परिवारका साथ बस्ने अवसर भएन। अन्ततः गत जेठमा ललितपुरको होटल हिमालय आइपुगे।
अहिले व्यस्त भए पनि परिवारका साथ बस्न पाएकोमा उनी खुसी छन्। भारतको तुलनामा कामको चाप कम नै छ।
'परिवारसँग बस्न पाएको छु। छोराछोरीलाई मिठा परिकार बनाएर खुवाउँछु। रमाइलो भएको छ,' उनी भन्छन्, 'होटल क्षेत्रमा नाम छ, दाम छ, सुविधा पनि छ। जागिर खोज्न विदेश जानु पर्दैन।'
उनका अनुसार अनेक परिकार बनाउनु भनेको मेहनती हुनु र निरन्तर सिकाइ गर्नु हो।
'पढ्नु अनिवार्य छ तर हातमा सीप छैन भने शैक्षिक प्रमाणपत्रले मात्रै खान दिँदैन,' उनले भने।