मूल्य अभिवृद्धि करको समस्या देखाएर मंसिर १९ गतेदेखि रोकिएको आलु–प्याजको कारोबार गर्न व्यवसायीहरू सहमत भएका छन्।
चार दिन पूर्ण कारोबार बन्द गरेका व्यवसायीहरूले शनिबारदेखि कारोबार खुला भएको बताएका छन्।
आइतबार कालिमाटी तरकारी बजारमा आलुको मूल्य तोकिए पनि प्याजको भने तोकिएको छैन।
व्यवसायीहरू कारोबार गर्न सहमत भए पनि आयात नै रोकिएपछि कारोबार ठप्प भएको हो।
कालिमाटी तरकारी बजार पूर्णतः प्याजमा भारतीय बजारमा निर्भर छ।
भारतले गत बिहीबार सूचना प्रकाशन गर्दै प्याजको निर्यातमा रोक लगाएको जानकारी गराएको छ। भारतले यसअघि निर्यातलाई निरूत्साहित गर्नको लागि भन्दै प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएको थियो।
'कालिमाटी तरकारी बजारमा नेपाली प्याजको हिस्सा दुईदेखि पाँच प्रतिशत मात्रै हुन्छ अरू सबै भारतबाट आउने हो,' कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक महादेवप्रसाद पौडेलले भने, 'सामान नै नभएको कारणले मूल्य तोकिएको छैन।'
गत मंसिर १९ गतेदेखि नै सुकेको प्याजको मूल्य नतोकेको कालिमाटी तरकारी बजार विकास समितिले आइतबार पनि मूल्य तोकेको छैन।
आलु–प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलले प्याजको आयात रोकिएको कारण बजार ठप्प भएको बताए।
'भ्याट विवादको कारण पहिले हामीले आयात गरेनौं, अहिले हामी कारोबार गर्न तयार हुँदा भारतले पठाउन रोकिसकेको रहेछ, त्यसैले कारोबार गर्न सकेका छैनौं,' उनले भने।
वीरगञ्ज भन्सार कार्यालयले पनि प्याजको आयात मंसिर १९ गतेदेखि नै नभएको बताएको छ।
कालिमाटी तरकारी बजारबाट मात्रै दैनिक ५० देखि ६० टन प्याजको बिक्री हुने गरेकोमा अहिले ठप्प भएको छ। कालिमाटी मात्रै नभएर बल्खु, टुकुचा, बानेश्वर लगायतका तरकारी बजारमा पनि प्याज छैन।
व्यवसायीहरूले कूटनीतिक पहल गरेर प्याजको आयात खुला गर्नको लागि अनुरोध गरेका छन्। सरकारी अधिकारीहरूले भने अहिले वैकल्पिक बजार खोजिनु पर्ने बताएका छन्।
'भारतले निर्यात निरूत्साहित गर्नको लागि पहिले कर बढायो, अहिले निर्यात नै रोकेको छ,' वाणिज्य मन्त्रालयका सहसचिव गजेन्द्र ठाकुरले सेतोपाटीसँग भने, 'उसले आफैं अफ्रिकाबाट प्याज आयात गरिरहेको सन्दर्भमा आन्तरिक बजार पूर्ति गर्न रोक लगाएको कारण आयात खुलाउन समस्या पर्ने देखिन्छ।'
उनले प्याजको आयातको लागि वैकल्पिक बजार खोज्न आवश्यक रहेको बताए।
आलुकाे कारोबार सुरू, आयात कम
भारतले आलु निर्यातमा पनि निरूत्साहन गरेको छ। भारतले यस वर्षदेखि आलुको निर्यातमा पनि निकासी कर सुरू गरेको हो। यसै वर्षबाट नेपालमा भ्याट लागू र भारतले पनि निकासीमा कर लगाएको कारण आयातमा कमी आएको वीरगञ्ज भन्सार प्रमुख डिलाराम पन्थीले बताए।
गत वर्ष कात्तिकसम्म १५ करोड २२ लाख केजी आलु तीन अर्ब ८८ करोड रूपैयाँमा आयात भएको थियो। चालु आर्थिक वर्षमा १३ करोड १७ लाख केजी आलु तीन अर्ब ३२ लाख रूपैयाँमा आयात भएको छ। परिमाणात्मक रूपमा आलुको आयात घटे पनि मूल्य भने बढेको छ।
भ्याटकै विवादको कारण मंसिर १९ गतेदेखि रोकिएको कारोबार अहिले सुरू भएको व्यवसायीले बताएका छन्।
सरकारले आन्तरिक आलु-प्याजलाई भ्याट नलगाउने सूचना जारी गरेपछि व्यवसायीहरूले कारोबार गर्न सुरू गरेका हुन्।
आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै भनेको छ, 'आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरूप नेपाल उत्पादन गरिने आलु-प्याज र स्याउमा मूल्य अभिवृद्धि कर नलाग्ने तथा नलगाइएको जानकारी गराइन्छ।'
आइतबारको लागि रातो आलुको प्रतिकेजी औसत मूल्य ४९ रूपैयाँ र सेतोको ३९ रूपैयाँ तोकिएको छ।
सरकारको यस्तो आश्वासनपछि कारोबार सुरू गरिएको व्यवसायीले बताएका छन्।
अहिलेको कर नीति अनुसार कृषिमा ५० लाख रूपैयाँसम्मको आन्तरिक उत्पादन तथा कारोबारमा कर नलाग्ने भए पनि ठूलो कारोबार र डिपार्टमेन्ट स्टोरबाट हुने कारोबारमा भने भ्याट लागू हुन्छ। तर, आन्तरिक राजस्व विभागले जतिसुकैको कारोबार तथा उत्पादनमा पनि भ्याट नलाग्ने आश्वासन दिएको व्यवसायीहरूले बताएका छन्। यसका लागि छुट्टै कार्यविधि तयार गरिने उनीहरूको भनाइ छ।