'परदेशको दुःख सम्झेर आफ्नै देशमा परिश्रम गर्ने हो भने हरेक व्यक्तिको उन्नति हुन्छ भन्नेमा म विश्वस्त छु।'
यो विश्वास हो पर्वतको सेतीबेणीका सूर्यप्रसाद न्यौपानेको। उनी सन् १९९९ मा प्रशिक्षार्थी कामदारका रूपमा दक्षिण कोरिया पुगे।
त्यहाँ पुग्दा उनी २६ वर्ष उमेरका थिए।
उनले त्यहाँ प्लास्टिक उद्योगमा काम गर्नुपर्ने थियो। उद्योगमा उत्पादन हुने सामग्री मिलाउनु र लोड–अनलोड गर्नु उनको मुख्य काम। सुरूमा त काम गर्न निकै कठिन भयो। यता उनले श्रमको काम गरेका थिएनन्।
उनले त्यो विदेशी भूमिमा भोगेका प्रारम्भिक दिनहरू सम्झिए, 'काम छाडेर फुत्किन पाए हुन्थ्योजस्तो लाग्थ्यो। एकपटक त अब सक्दिनँ, फर्किन्छु जस्तो लागेको थियो।'
मन यसरी बिथोलिए पनि कामकै लागि कोरिया पुग्न आफूले गरेको प्रयास र लगानी सम्झे। आजको दुःखले कुनै दिन सुख पनि निम्त्याउला भन्ने सोचेर आफूलाई सम्हाले।
दिन बित्दै जाँदा काममा बानी पर्दै गयो। सुरूमा आठ घन्टा काममा टिक्न कठिन मान्थे। बिस्तारै ओभरटाइम पनि गर्न थाले।
'दुई–तीन महिना टिकेपछि बानी पर्यो,' प्रशन्न मुद्रामा उनले भने, 'बानी परेपछि त आठ घन्टाभन्दा बढी काम गर्न पाए हुन्थ्यो जस्तो लाग्न थाल्यो। अनि त १२ घन्टासम्म खटेर काम गरेँ।'
कामअनुसार कमाइ हुन्थ्यो। बढी समय काम गर्दा कमाइ पनि बढ्थ्यो। त्यो बेला दिनको १२ घन्टा खट्दा मासिक ७० हजार रूपैयाँसम्म कमाइ हुन्थ्यो।
सूर्यले दुई वर्षको भिसा पाएका थिए। फेरि परीक्षा दिएर उत्तीर्ण हुन सके एक वर्ष थपिन्थ्यो। उनले परीक्षा दिए। उत्तीर्ण भए। भिसा थपियो। यसरी तीन वर्ष काम गरे।
कोरियाको कामले उनलाई सीप, मेहनत र अनुशासनको महत्त्व सिकायो। आफ्नै लगानी र आफ्नै नेतृत्वमा राम्रो व्यवसाय गर्न सक्छु भन्ने आत्मविश्वास दियो। परदेशमा श्रम गरेर आर्जेको पैसाले आफ्नै माटोमा श्रम गर्ने आत्मविश्वास र अठोटका साथ उनी तीन वर्षमा स्वदेश फर्के। २१ वर्षअघि सन् २००२ मा।
यता आइपुगेपछि पो उनी अलमलमा परे। के काम गर्ने! हचुवामा लगानी गर्दा दुःखले कमाएको पैसा डुब्ने पो हो कि! मनमा एक किसिमको नजादिँदो भय उत्पन्न भयो।
उनले भने, 'परदेशमा दुःख गरेर कमाएको अलिकति पैसा पनि डुब्ने हो कि भन्ने पिर भयो। गर्न त गर्ने तर के गर्ने भनेर अलमलमा परेँ।'
सूर्यले कोरियामा काइँयो र सामान प्याक गर्ने कार्टन बनाउने उद्योगमा पनि केही समय काम गरेका थिए। केही अनुभव थियो, लगानीका लागि केही पैसा पनि थियो तर काम सुरू गरिहाल्न आँट आएन। देशको परिस्थिति पनि उति अनुकूल थिएन। नेपाली बजारको सम्भावनाबारे पनि उनी अनभिज्ञ थिए।
'निकै समय यसै भौंतारिए। यहाँ के काम गर्दा ठीक होला भनेर बुझ्नै धेरै समय लाग्यो। केही सुरू गरिहाल्ने आँट पनि आएन,' उनले भने।
फर्केको केही दिनपछि उनले एउटा जागिर पाए। प्लास्टिकका सामग्री उद्योगहरूलाई आपूर्ति गर्ने काम थियो। करिब तीन वर्ष त्यही काम गरे। कामको सिलसिलामा धेरै उद्योगी–व्यवसायीहरूसँग चिनजान भयो। सामानको आवश्यकता र आपूर्ति व्यवस्थाबारे पनि जानकारी पाए।
'यहाँका उद्योगहरूमा केके सामग्री चाहिँदो रहेछ भन्ने थाहा पाएँ। बजार हिँड्ने क्रममा धेरै अध्ययन–अनुसन्धान पनि गरेँ,' उनले भने, 'बजार बुझ्न भारत पनि गएँ। धेरैतिरको जानकारी लिँदा उद्योगहरूका सामग्री प्याकेजिङका लागि चाहिने कार्टनको खाँचोँ रहेको देखेँ।'
उनलाई यस्तो उद्योगका बारेका केही ज्ञान छँदै थियो। त्यस्तै उद्योगको परिकल्पना गरे। आफूसँग अनुभव भएकाले योजना बनाउन पनि सजिलो भयो।
'कोरियामा सिकेको सीप काम लाग्ने भयो। काम गर्ने बानी बसेकै थियो, खटेर काम गर्न सिकेको थिएँ,' सूर्यले भने, 'मैले कार्टन बनाउने उद्योगमै लगानी गर्ने विचार गरेँ।'
उनी अठोटका साथ अघि बढे तर लगानीका लागि उनी एक्लैसँग पैसा थिएन। कोरियामा जोगाएर ल्याएको पैसाले मात्र पुग्ने थिएन। उनले निकटस्थ केही साथीहरूसँग सल्लाह गरे। उनीहरू लगानीका लागि तयार भए।
अन्ततः सूर्यको योजनाअनुसार पाँच जना साथी मिलेर २०६८ सालमा भैरहवामा 'मनकामना कार्डबोर्ड इन्डिस्ट्रिज' नामको उद्योग स्थापना गरे।
थुप्रै उद्योगी–व्यवसायीहरूसँग चिनजान रहेकाले सूर्यलाई बजार पाउन समस्या भएन। मनकामना कार्डबोर्ड इन्डिस्ट्रिजले सुरूमा औषधि उद्योगका लागि कार्टन बक्स बनायो। त्यसपछि चाउचाउ र बिस्कुट कम्पनीको काम आयो। बिस्तारै अन्य उद्योगले पनि कार्टन बक्स अर्डर गर्न थाले।
व्यापार विस्तार हुँदै गयो तर प्रारम्भिक दिनहरूमा उद्योगहरूबाट भुक्तानी लिन केही समस्या पर्यो।
'उद्योगहरूसँग उधारो कारोबार गर्नुपर्थ्यो। सुरूसुरूमा केही उद्योगबाट पैसा उठाउन अलिक मुस्किल पर्यो। उधारो डुब्ने हो कि भन्ने डर पनि भयो,' सूर्यले भने, 'चुनौती नभएको त काम नै हुँदैन। केही ढिलो भए पनि पैसा उठ्यो। काम अघि बढ्दै गयो।'
उद्योग सन्तोषजनक ढंगले चल्दै गए पनि उनका सहकर्मीहरूले हात झिके। अन्ततः आफ्नो योजनाअनुसार सुरू भएको उद्योगमा सूर्य एक्लै भए। एक्लै भए पनि हिम्मत हार्ने, पछि हट्ने कुरै थिएन।
'कोरियाले मेहनत गर्न सिकाएको थियो। आफैं खटेर काम गरेँ। अहिले पनि उद्योगमा खट्न छाडेको छैन,' उनले भने।
सूर्यका अनुसार साढे दुई करोड रूपैयाँ लगानीमा थालेको उद्योग अहिले १० करोड रूपैयाँको भएको छ। उद्योगले व्यापारका अनेक सामान प्याकेजिङका लागि चाहिने कार्टन बक्स तयार गर्छ।
हाल कम्तीमा १५० उद्योगका लागि कार्टन बक्स उत्पादन हुन्छ। साना तथा ठूला गरी दैनिक एक हजार पाँच सय कार्टन बक्स तयार हुन्छ। वार्षिक सरदर ६ करोड रूपैयाँसम्मको कारोबार हुन्छ।
केही महिनायता कारोबार केही घटेको छ। देशमा छाएको आर्थिक मन्दीले कारोबारमा असर परेको उनको भनाइ छ।
'अहिले आर्थिक संकटका कारण कारोबार घटेको छ। सामान्य अवस्थाको तुलनामा ४० प्रतिशत काम घटेको छ,' उनी भन्छन्, 'उद्योगमा श्रमिकहरू पनि कम छन्।'
कारोबार उच्च रहेको समयमा ५५ जना कर्मचारी थिए, हाल ३० जना मात्रै छन्। उद्योगले रोजगारीमा महिलालाई प्राथमिकता दिएको छ। आधाभन्दा बढी कर्मचारी महिला छन्।
उनले कोरियामा सिकेको सीपकै कारण आफूले उद्योग चलाउन सकेको बताए, 'कोरिया नगएको भए उद्योगको सोच नै आउने थिएन होला। म अहिलेको अवस्थासम्म आइपुग्ने नै थिइनँ।'
देशको समग्र आर्थिक अवस्था राम्रो हुँदा आफ्नो उद्योगको उत्पादन पनि बढ्ने र थप रोजगारीको अवसर सिर्जना हुनेमा उनी विश्वस्त छन्।
'यति बेला उद्योग–व्यवसाय राम्ररी चल्न सकेका छैनन्। यो समय उद्योगी–व्यवसायीहरूमा निराशा बढेको छ,' उनले भने, 'निराश भएर त व्यवसाय नै बरबाद हुन्छ। यस्तो समयमा सबै संयमित भएर काम गर्नुपर्छ।'
सूर्यले कोरियामा श्रम गरे। त्यहाँको प्रगति पनि देखे। उनी कामका लागि विदेश जानुलाई नराम्रो मान्दैनन् तर सीप सिकेर फर्किनुपर्छ र आफ्नै भूमिमा श्रम गर्नुपर्छ भन्ने मान्यता छ।
'परदेशमा पनि कमाउन सजिलो छैन। कोरिया जाने व्यक्ति थ्री-डी अर्थात् डर्टी, डेन्जर र डिफिकल्टी भोग्न तयार हुनुपर्छ। कडा परिश्रम गर्नुपर्छ। दुःख पनि पाइन्छ,' उनी भन्छन्, 'अहिले नगरे कहिले गर्ने भन्ने सोचका साथ इमानदार भएर सबैले काम गर्ने हो भने नेपालले पनि आर्थिक–सामाजिक विकासमा छिटो फड्को मार्न सक्छ।'