आठ वर्ष वैदेशिक रोजगारीमा बिताएका बुटवलका कृष्ण प्रधानको योजना थियो बुटवलमा नौलो प्रकृतिको रेस्टुरेन्ट चलाउने।
चार वर्षअघि घर आएका कृष्ण फर्केर विदेश नजाने निधो गरे।
एकजना साथीसँग मिलेर २०७६ साल फागुनमा कालिकापथमा ‘केकेएफसी’ नामको रेस्टुरेन्ट सुरु गरे। भित्री सडक भए पनि चार लेनको बन्दै थियो। होटल तथा रेस्टुरेन्टको क्षेत्र बन्दै गरेको कालिकापथ बुटवलको ‘ठमेल’ भनेर चर्चा हुन थालेको थियो।
केकेएफसी सुरु गरेको महिना दिनमै कोरोना भाइरस संक्रमणको महामारी (कोभिड–१९) फैलियो। कम्तीमा चार करोड रुपैयाँ लगानीमा सुरु गरेको रेस्टुरेन्ट लकडाउनको मारमा पर्यो।
व्यापार–व्यवसाय र उद्योग कलकारखाना पनि लकडाउनको मारमा परेपछि कृष्ण यसै चित्त बुझाउँथे। लकडाउन अन्त्य भएपछि दुई वर्ष जसोतसो चलेको केकेएफसी एक महिनाअघि सधैँको लागि बन्द भएको छ।
रोबोर्टले खाजा बाँड्ने केकेएफसीमा बालबालिका र युवाहरूको आकर्षण बढेको थियो तैपनि चल्न सकेन।
बुटवलमा उनको मात्र होइन उत्साहका साथ खोलिएका अरू धेरै रेस्टुरेन्ट चल्न नसकेर बन्द भएका छन्। होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष माधव खनालका अनुसार पछिल्लो तीन महिनामा मात्रै ५० लाखदेखि चार करोड रुपैयाँसम्म लगानीका डेढ दर्जनभन्दा बढी रेस्टुरेन्ट र क्याफे बन्द भए।
हामीले केही व्यवसायीसँग रेस्टुरेन्ट बन्दै गर्नुपर्ने अवस्था कसरी आयो भनेर उनीहरूको अनुभव सोधेका छौँ।
कोभिड–१९ पछिको आर्थिक संकटसँगै सडक निर्माणमा भएको ढिलासुस्ती र बैंकको चर्को ब्याजका कारणले केकेएफसी चलाउन नसकेको जवाफ कृष्णले दिए।
‘सञ्चालन भएको एक महिनामै लकडाउनमा परिगयो। त्यसपछि साथीले छाडेर म एक्लै भएँ,’ कृष्णले भने, ‘एक वर्षयता देशको अर्थतन्त्र नै संकटमा छ छ त्यसको मार मेरो रेस्टुरेन्टमा पनि पर्यो। बैंकको चर्को व्याज, आर्थिक मन्दीसँगै अरू कारणहरू पनि छन्।’
केकेएफसीमा १७ जना श्रमिक काम गर्थे। मासिक १ लाख ९५ हजार रुपैयाँ भाडा थियो। आफ्नै देशमा काम गर्ने उत्साहका साथ सुरू गरेको रेस्टुरेन्ट बन्द भएपछि उनलाई ठूलो क्षति भएको छ।
‘विदेशमा कमाएको पैसा, बैंकबाट लिएको ऋण र आफ्नो मिहिनेत सबै डुब्यो,’ उनले भने, ‘नेपालमा लगानी गर्ने वातावरण नै रहेनछ।’
बुटवलकै दिनेश थापासहित चार जनाको समूहले सवा एक करोड रुपैयाँमा ‘डी फाइभ’ नामको रेस्टुरेन्ट सुरु गरेको १५ दिनमा लकडाउन भयो। रेन्टुरेन्ट बन्द भएर एक वर्षपछि खुल्यो। करिब सात महिना चल्यो फेरि बन्द भयो।
एक वर्षपछि दोस्रो पटक खुलेपछि दिनेश एक्लै भए। उनका सहकर्मीहरू रेस्टुरेन्ट छाडेर विदेश गए। दिनशले अहिले अन्य दुई जनालाई चलाउन दिएका छन्।
दिनेश ढुवानी व्यवसायी पनि हुन्। उनका अनुसार रेस्टुरेन्ट चल्न नसक्नुको मुख्य कारण कोभिड–१९ होइन।
‘कोरोनाको असरभन्दा पनि सरकारी नीतिनियम र बैंकको चर्को ब्याजका कारण नेपालमा कुनै पनि व्यवसाय गर्न नसकिने रहेछ,’ उनी भन्छन्, ‘आठ प्रतिशत ब्याजमा बैंकबाट ५० लाख रुपैयाँ ऋण लिएको चार–पाँच महिनामै ब्याज १४ प्रतिशत पुग्यो। यस्तो भएपछि बैंकबाट ऋण लिन सकिँदैन।’
शिक्षण पेसामा रहेका विष्णु घिमिरेले पनि कोभिड–१९ सुरु हुनु केही महिनाअघि कालिकापथमै ‘इट वेल’ नामको रेस्टुरेन्ट सञ्चालन गरेका थिए। उनले ६० लाख रुपैयाँ लगानी गरेको इट वेलमा आठ जना श्रमिक थिए। भाडा मासिक ६० हजार रुपैयाँ थियो।
त्यस्तै इट वेल रेस्टुरेन्ट गत महिना बन्द भयो।
‘बुटवलको ठमेल भनेर चर्चा हुन थालेपछि साँच्चै व्यवसाय फस्टाउला भन्ने लागेको थियो। सुरुमै कोभिडको मारमा परेपछि गति लिनै सकेन,’ विष्णुले भने, ‘हरेक महिना भाडा र कर्मचारीको तलबभत्ताका लागि ऋण थपिरहनु उचित नलगेर बन्द गरिदिएँ।’
देवदहका यम रानाले ११ महिनाअघि कालिकापथमै ‘पोर्क स्टेसन’ सुरु गरेका थिए। बंगुरको मासुको परिकारका पारखीहरू बढ्दै गएकाले उनलाई बुटवलमा पनि पोर्क स्टेसन राम्रै चल्छ भन्ने लागेको थियो।
सुरुका केही महिना ग्राहकको भिड लाग्यो। उनले १२ लाख रुपैयाँ लगानी गरेका थिए। बंगुरको मासुको परिकार मात्र पाइने भएकोले बुटवलमा नौलो पनि थियो। पाँच जनाले पाँच जना श्रमिक काम गर्थे। दैनिक ३५ हजार रुपैयाँसम्मको बिक्री हुन्थ्यो। भाडा मासिक ५० हजार रुपैयाँ थियो।
केही महिनायता व्यापार खस्किदै गयो। ग्राहक संख्या घट्यो। उनीहरूको अर्डर पनि घट्यो। ब्रान्डेड मदिरा पिउनेहरू घरेलु मदिरा मगाउन थाले। दैनिक व्यापार तीन हजार रुपैयाँभन्दा कममा झर्यो।
यमले एक महिनाअघि पोर्क स्टेसन बन्द गरे।
‘व्यापार घटेपछि खर्च धान्नै नसकिने भयो,’ उनले भने, ‘महिनैपिच्छे ५० हजार रुपैयाँभन्दा बढी घाटा हुन थालेपछि एक महिनाअघि बन्द गरेँ।’
उनले एक वर्ष नहुँदै लगानी र घाटासमेत गरेर कम्तीमा १५ लाख रुपैयाँ डुबेको बताए। रेस्टुरेन्ट बन्द गरेर त्यहाँको समान थन्क्याउन मासिक तीन हजार रुपैयाँ भाडामा एउटा कोठा लिएका छन्।
उनी भन्छन्, ‘मुलुकमा उत्पन्न आर्थिक संकटको प्रभाव हरेक व्यवसाय र हरेक व्यक्तिमा परेको छ। मान्छेको क्रय शक्ति घटेपछि होटलमा पैसा तिरेर खाने मान्छे पनि घटे।’
यमले दुई वर्षअघि कालिकापथमै ‘मेरो चिया’ सुरु गरेका गरेका थिए। उनका अनुसार निर्माण र सजावटमा ६० लाख रुपैयाँ खर्च भयो। अहिले मरो चिया चलाउन पनि कठिन भएको छ।
उनी भन्छन्, ‘अहिलेको अवस्थामा भाडा तिर्नु नपर्ने गरी आफ्नै घरमा चलाउने हो भने चल्ला तर भाडा तिर्ने र कामदारमा भर पर्ने हो भने रेस्टुरेन्ट चलाउने गाह्रो छ।’
चार वर्षअघि बुटवलमा ‘मगर्स किचन’ सुरु गर्दा रुपन्देहीको रुद्रपुरका सञ्जय काउचाले मगर समुदायका परिकार बुटवल हुँदै देशभर ब्रान्ड बनाउने सपना देखेका थिए। उनी मगर्स किचनलाई मगर समुदायको सांस्कृतिक रेस्टुरेन्ट र संग्रहालय समेत बनाउन चाहन्थे।
उनले सोचेजस्तै मगर्स किचन सांस्कृतिक रेस्टुरेन्ट बन्दै थियो। मगर्स किचन साँच्चै मगर परिवारको सुव्यवस्थित ग्रामीण घरजस्तै थियो। गाउँको घरमा हुने सबै जसो सामग्री जम्मा गरेर सजाएका थिए। मगर्स किचनलाई संग्रहालय सहितको रेस्टुरेन्ट बनाउन धेरै मिहिनेत गरेका सञ्जयको सपना दुई वर्षमै धराशयी भयो।
करिब ७० लाख रुपैयाँ लगानी गरेर २०७६ सालमा सुरु गरेको मगर्स किचनमा सञ्जयले गत जेठ एक गते ताला झुन्ड्याए।
उनले भने, ‘लकडाउनकै बीचमा सुरु गरेर होला, मगर्स किचन मात्रै होइन, मेरो त सपना पनि लकडाउन भयो।’
मुलुकमा उत्पन्न आर्थिक संकटका कारण मगर्स किचन चलाउन नसकेको उनको भनाइ छ।
‘कर्मचारीको पारिश्रमिक, जग्गाभाडा, बैंकको ब्याज सबै गरेर मासिक दुई लाख रुपैयाँ खर्च धान्न मुश्किल पर्यो,’ उनले भने, ‘मासिक खर्च चलाउन ऋण खोज्नुपर्ने भएपछि बन्द गर्नुपर्ने अवस्था आयो।’
यी त उदाहरणमात्र हुन्। होटल व्यवसायी संघका अनुसार बुटवलमा डेढ करोडभन्दा बढी लगानीका नोटरियर्स, पाइन, रेसुंगा पार्टी प्यालेस र चार करोडभन्दा बढी लगानीका केकेएफसी, सिटी भिलेज र बाजेको सेकुवा बन्द भएका छन्। लाइम एन्ड लेमन, डार्क उड, पट ब्ल्याक जस्ता स्तरीय रेस्टुरेस्टहरू आर्थिक संकटमा परेका छन्।
भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र एकसाथ दुईवटा केबलकारको निर्माण सुरु भएपछि करिब पाँच वर्षयता बुटवलमा स्तरीय होटल–रेस्टुरेन्ट खुल्ने क्रम बढेको थियो।
लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल तोकिएपछि यहाँ पर्यटन व्यवसायमा लगानी बढेको थियो।
गौतमबुद्ध जन्मस्थल लुम्बिनी, अन्तर्राष्ट्रिय विमानस्थल, भारतसँको सीमानाका बेलहियाबाट बुटवलसम्म र बेथरीबाट बेलबाससम्म फराकिलो सडक बन्न थालेपछि होटल तथा र रेस्टुरेन्ट व्यवसायी खुुसी भएका थिए।
सिंगो रुपन्देहीमा पर्यटनको सम्भावना निकै राम्रो देखेर व्यवसायीहरूले पुराना होटल–रेस्टुरेन्टको स्तरोन्नति गरे। विदेशी पर्यटक लक्षित होटल–रेस्टुरेन्ट, क्लब तथा क्यासिनोमा पनि लगानी गरे।
व्यवसायीहरूका अनुसार पछिल्लो समय मुलुकमा देखिएको आर्थिक संकटका कारणले नै होटल तथा रेस्टुरेन्टहरू धमाधम बन्द भएका हुन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्नु र प्रदेशको राजधानी बुटवलबाट सर्नुले होटल–रेस्टुरेन्ट व्यवसाय धराशायी भएको हो।
देशमा आर्थिक संकट भयो। प्रदेश राजधानी बुटवलबाट बाहिर गयो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न सकेको छैन,’ होटल तथा वरिष्ठ उपाध्यक्ष खनालले भने, ‘बजारको राम्रो आकलन नगरी अन्धाधुन्ध लगानी भयो। कोभिडको मार पर्यो। उपभोक्ताको क्रय शक्ति घट्यो।’
ढुवानी ग्राम, यातायात कार्यालय जस्ता सेवाग्राहीको चाप हुने कार्यालयहरू बुटवल बजारबाट बाहिर जाँदा र सरकारी क्षेत्रबाट व्यवसाय प्रवर्द्धनमा सहयोग नहुँदा पनि होटल–रेस्टुरेन्ट व्यवसायमा असर परेको उनको भनाइ छ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीका अनुसार रुपन्देहीमा साना ठूला गरी कम्तीमा २५ सय होटल छन्। संघमा एक हजार २०३ वटा होटल–रेस्टुरेन्ट आवद्ध छन्। पर्यटक स्तरका होटल, क्याफे र रेस्टुरेन्टको संख्या कम्तीमा एक हजार छ।
बुटवलका होटलमा एक रातमा १५ हजार पाहुनालाई बास दिने क्षमता छ।
संघका वरिष्ठ उपाध्यक्ष खनालका अनुसार रुपन्देहीका होटल व्यवसायमा पाँच खर्ब रुपैयाँभन्दा बढीको लगानी छ। यिनमा कम्तीमा २० हजार हाराहारीले रोजगारी पाएका छन्। व्यवसायको यति ठूलो क्षेत्रमा दिन प्रतिदिन संकट बढ्दो छ।