सेल रोटी तिहारको मुख्य परिकार मानिन्छ। सेलसँगै लुम्बिनी प्रदेशका अधिकांश ठाउँमा झिनिया पनि तिहारको अनिवार्य परिकार हो। झिनिया पनि एक प्रकारको रोटी नै हो।
बुटवल उपमहानगरपालिका–१६, रानिगञ्जका गिरिबहादुर नेपाली तिहारको मौकामा एक महिना झिनिया बनाउन र बेच्नमा व्यस्त हुन्छन्।खासमा उनको मुख्य पेसा अटोरिक्सा चलाउनु हो। यसपालि एक महिनाअघि अटोरिक्सा थन्क्याएर तिहारको झिनिया बनाउन थाले।
उनले झिनिया बेच्न यो छैटौं वर्ष हो। यो व्यापार एक महिनाका लागि हो। वर्षका ११ महिना त अटोरिक्सा चलाउनु छँदै छ।
उनले सुरूका दुई वर्ष आफ्नी बहिनीले गुल्मी बनाएको झिनिया बेचे। यसबाट सन्तोषजनक आम्दानी भएपछि आफैंले बनाएर बेच्न थालेको चार वर्ष भयो।
उनले भने, ‘दुई वर्ष बहिनीले बनाएका झिनिया ल्याएर बेचेँ। त्यसपछि आफैं थालेको हुँ।’
झिनिया रोटी तिहारमा धेरै चल्छ। अरू बेला फाटफुट मात्रै हो। तिहारमा धेरै माग हुने भएकाले गिरिबहादुर एक महिनामात्रै भए पनि झिनिया बनाएर बेच्छन्।
गत वर्षको तिहारमा उनले तीन क्विन्टल चामलको झिनिया बेचे। यस वर्ष पाँच क्विन्टल चामलको बनाएका छन्। बनाउने काम सकेर बेच्न थालेका छन्।
‘बनाएर लगभग सकियो। एक–दुई दिन अघि बनाएको झिनियाँ सुक्दै छ,’ शुक्रबार बुद्धनगरमा भेटिएका गिरिबहादुरले भने, ‘बिहीबार (गत साता) देखि ठेलामा राखेर बिक्री गर्न निस्केको छु।’
उनले यसपालिको तिहारका लागि गत असोज दोस्रो सातामै झिनिया बनाउन सुरू गरेका थिए। उनको लक्ष्यअनुसार बनाएर सकियो।
‘तिहारमा अटोरिक्सा चलाएरभन्दा झिनिया रोटी बनाएर अलिक बढी कमाउन सकिन्छ,’ उनी भन्छन्, ‘एक महिना दुई जना (श्रीमान्–श्रीमती) मिलेर झिनिया बनाउँछौँ।’
गिरिबहादुरले गत वर्षको तिहारमा ६० हजार रुपैयाँभन्दा बढीको झिनिया बेचेका थिए। यस वर्ष दुई क्विन्टल चामल थपेर ६ सय दर्जन झिनिया बनाएका छन्। थोक र खुद्रा गरेर कम्तीमा एक लाख तीस हजार रुपैयाँको बिक्री हुने उनको विश्वास छ।
सेल रोटी घरमै बनाउनेहरूले पनि झिनिया बजारबाटै किनेर लैजान्छन्। नेवारी परिकार मानिने झिनिया सबै समुदायमा तिहारमा अनिवार्य झैँ मानिन्छन्।
गिरिबहादुर भन्छन्, ‘झिनिया बनाउन झन्झट हुन्छ। घरमा थोरै बनाउन सजिलो हुँदैन। धेरैले बजारबाटै किन्छन्।’
उनका लागि झिनिया व्यापार मौकाको फाइदा हो।
मसिनो गरी पिसेको चामलको पिठो राम्ररी पकाइन्छ र मेसिनमा हालिन्छ। मेसिनबाट निस्कने पिठोको मसिनो त्यान्द्रो केराको पात वा प्लास्टिकमा थापेर गोलो आकारमा घुमाउँदै झिनिया बनाइन्छ।
मेसिनबाट बनाएर घाममा राम्रोसँग सुकाइन्छ र घिउ वा तेलमा खारेपछि झिनिया तयार हुन्छ। आकर्षक देखाउन विभिन्न थरी रङ प्रयोग गरिएको हुन्छ।
झिनिया रोटी निकै स्वादिलो हुन्छ। तिहारमा अनिवार्य मानिन्छ। अन्य समयमा तयारी खाजाका रूपमा प्रयोग हुन्छ।