निजी क्षेत्रको लगानीमा खोलिएको पहिलो राष्ट्रिय खाद्य बैंक २८ जिल्लाका किसानसँग जोडिएको छ।
किसानलाई आवश्यक लगानी गर्ने, कृषि उपजलाई बजारको पहुँचमा पुर्याउने तथा प्रांगारिक उत्पादनलाई जोड दिने उद्देश्यले २०७७ सालका स्थापना भएको बैंकसँग २८ जिल्लाका दुईलाख किसान जोडिएका छन्।
सातै प्रदेशका प्रतिनिधि २८ जिल्लाका उत्पादन अहिले काठमाडौं उपत्यकामा लोकन्थलीबाट बिक्री-वितरण गरिएको छ। यसको लागि खाद्य बैंकले आफ्नै मार्टसमेत स्थापना गरेको छ।
'२८ जिल्लाका उत्पादन उपभोक्तासमक्ष पुर्याउन हामीले लोकन्थलीमा मार्ट खोलेका छौं, त्यहीँबाट बिक्री गर्छौं,' खाद्य बैंकका कार्यकारी निर्देशक शंकरनाथ उप्रेतीले भने।
उप्रेतीका अनुसार मार्टमा दाल, पिठो, गेडागुडी, चामल, गहुँ, मकै, जहुँ, फापर, कोदो, चिनो, कागुनो लगायतका खाद्यन्न तथा दलहन पाइन्छ।
मार्टसम्म पुग्न नसक्ने ग्राहकलाई कम्पनीले घरमा पुर्याइदिने व्यवस्था गरेकाे छ। त्यसका लागि ग्राहकले राष्ट्रिय खाद्य बैंकको फेसबुक पेज र टिकटकमा अर्डर गर्न सक्नेछन्।
घरमा पुर्यादिए बापत अतिरिक्त शुल्क नलाग्ने खाद्य बैंकले जानकारी गराएको छ।
कसरी स्थापना भयो खाद्य बैंक?
उप्रेती आफैँ कृषक हुन्। खाद्य बैंक स्थापना गर्नु अघि उनको चितवनमा फार्म थियो। फार्ममा खाद्यान्न, दूध, तरकारी उत्पादन गर्थे। बिक्रीका लागि भने अरूको भर पर्नुपर्थ्याे।
'व्यापारीहरू आफूलाई फाइदा हुने भयो भने किन्न आउँथे, नभए आउँदैन थिए,' उनले सुनाए, 'एक पटक त डिडिसीले दूध लिन नआएर धेरै दूध फ्याक्नु पर्यो।'
प्रविधि र सीप भएको भए त दूध प्रशोधन गरेर पनिर, चिजलगायत दुधजन्य पदार्थ बनाउन सकिन्थ्यो। तर, उनलाई यो विषयमा जानकारी थिएन।
कृषि कर्म गर्ने त धेरै छन् तर उनले यसमा बजारीकरणको समस्या देखेँ। उनलाई अहिले नै कृषकलाई बजारीकरण र उत्पादनमा नसघाउने हो भने कृषक पलायन हुने चिन्ता भयो।
उनले आफ्ना साथीभाइलाई कृषकलाई उत्पादन र बजारीकरणमा सघाउने गरी खाद्य बैंक खोल्ने योजना सुनाए। उनको योजनामा साथीहरूले सहमति जनाए।
एक सय आठ जनाको समूह बन्यो। उनीहरूले १३ करोड लगानी गरेर राष्ट्रिय खाद्य बैंक सुरू स्थापना गरे।
'आफैं समस्या भोगपछि खाद्य बैंकको अवधारणा आएको हो,' उनले भने, 'यसले मुख्य उद्देश्य किसानलाई उत्पादन, भण्डारण र बजारीकरणमा सघाउनु हो।'
खाद्य बैंकको स्थापनाको सुरूआतमै झापा, मोरङ सुनसरी, चितवन, दोलखा गरी २३ वटा जिल्लाका किसानलाई खाद्यान्न उत्पादन गर्न लगाएको उप्रेतीले बताए।
'हामीले किसानसँगै भएका रैथाने बिउ प्रयोग गर्यौँ,' उनले भने, 'हाम्रा प्राविधिकले प्रांगारिक मल बनाउन सिकाउँथे।'
ती उत्पादन कम्पनीले स्थानीयस्तर मै पनि बेच्छ। त्यहाँ बेचेर बढी भएको उत्पादन लोकन्थलीस्थित आफ्नै मार्टबाट बेच्दै आएको छ।
उत्पादन भएका खाद्य सामग्रीको सुरक्षित भण्डार गर्न कम्पनीसँग ती वटा भन्डारण गृह छ। आगामी दिनमा भन्डारण क्षमता बढाउँदै लैजाने कम्पनीले योजना बनाएको छ।
किसानको आलीमा उत्पादन भएको खाद्यान्न सिधैं उपभोक्ताको थालीसम्म पुर्याउन खाद्य बैंक खोलिएको हो। यसबाट बिचौलियाको अन्त्य हुने उप्रेती बताउँछन्।
खाद्य बैंकले कृषि उत्पादनमा लागेका कृषकहरूलाई आवश्यक पर्ने बिउँ, मल, कृषि औजार, प्राविधिक ज्ञान सीप प्रदान गर्छ। साथै उनीबाट उत्पादित सामान आफैं किनिदिन्छ। उप्रेती भन्छन्, 'सामान बिक्छ भन्ने विश्वास दिलाउन सके किसानले खुशी भएर उत्पादन गर्छन्।'
उत्पादन बढाउने सवालमा बाँझो जग्गा जमिनको उपयोग गर्न स्थानीय तह र प्रदेशसँग सहकार्य गरिरहेको उनले जानकारी दिए। उनका अनुसार झापा र बर्दियामा भने कम्पनी आफैंले पाइलट प्रोजेक्टको रूपमा उत्पादन सुरू गरेको छ।
अहिले कम्पनीले खाद्यान्न मात्रै उत्पादन गर्दै आएको छ। आगामी दिनमा दूध, माछा, मासु, फलफूल तथा तरकारी पनि उत्पादन गर्ने योजना बनाएको छ।
'७५ जिल्लामै रैथाने बाली उत्पादन गरी बिक्री वितरण गर्ने योजना छ,' उनले सुनाए।
अहिले कम्पनीमा सेयरधनीको संख्या ८ सय बढी पुगिसक्यो। आगामी वर्ष कम्पनीले आइपिओमा जान तयारी गरिरहेको छ।
'कुल दुई अर्ब पुँजीमध्ये ६० करोड सर्वसाधfरणलाई र एक सय २० करोड संस्थापक सेयरधनीलाई छुट्याइएको छ,' उनले भने।
हाल खाद्य बैंकबाट मासिक ६५ करोडभन्दा बढीको कारोबार हुँदै आएको छ।