बुटवलदेखि पाल्पाको नुवाकोट गढीसम्म चल्ने सिद्धार्थ केबलकार मंसिरभित्रै सञ्चालनमा ल्याइने भएको छ।
निर्माण थालेको दुई वर्षभित्रै सञ्चालनमा ल्याउने योजनासहित यसको काम थालिएको थियो। कोरोना महामारीका कारण केही ढिलाइ भए पनि अबको डेढ महिनाभित्रै केबलकार सञ्चालनमा ल्याइने केबलकार प्रालिले जनाएको छ।
'दसैंलगत्तै रोप-वे जडान गरेर परीक्षण गर्ने र तिहारको १०/१२ दिनपछि सञ्चालन गर्ने गरी काम भइरहेको छ,' कम्पनीका अध्यक्ष राजेन्द्र सिंह गुरूङले भने।
एक अर्ब रूपैयाँ लगानीमा बनिरहेको केबलकारको २०७७ फागुन ९ गते शिलान्यास भएको थियो। अहिलेसम्म केबलकारतर्फको ८५ प्रतिशत र बाँकी पूर्वाधारतर्फको ६५ प्रतिशत काम सम्पन्न भएको अध्यक्ष गुरूङले बताए।
अहिले केबलकारको बटम-स्टेसन रहेको पारि बुटवलको देउराली डाँडामा पार्क निर्माणका लागि विभिन्न संरचना बनिरहेका छन्। अधिकांश लगानीकर्ता बुटवलका मात्रै रहेको सिद्धार्थ केबलकार नेपालकै नमूना रहने अध्यक्ष गुरूङले बताए।
'केबलकारका करिब एक सय जना लगानीकर्तामध्ये ८० जनाभन्दा बढी बुटवलकै बासिन्दा छन्। जसले गर्दा केबलकारप्रति बुटवलबासीको अपनत्व समेत हुन्छ,' गुरूङले भने।
नेपाली सेनाका कर्णेल उजिर सिंहको कमान्डमा ब्रिटिस फौजलाई परास्त गरेको जितगढी किल्ला र राजा मणिमुकुन्द सेनको शितकालीन दरबारको शिर हुँदै मणिमुकुन्द सेनको गृष्मकालीन दरबार रहेको पाल्पाको नुवाकोटसम्म पुग्ने भएकाले यसको ऐतिहासिक महत्व पनि रहेको गुरूङले बताए।
'यो नेपालको पहिलो यस्तो केबलकार हो जहाँ प्रवेश गरेपछि मानिसहरूलाई पर्याप्त मनोरञ्जनका संरचना निर्माण हुने छन्,' उनले भने।
उनका अनुसार बटम-स्टेसनको प्रवेशद्वारभित्र छिर्ने बित्तिकै वाटर फाउन्टेन सहितको बगैंचामा पुग्न सकिन्छ। केबलकार चढ्ने मात्र नभई जंगलको हरियालीबीच केही समय भए पनि मनोरञ्जन लिन सकियोस् भनेर बटम-स्टेसनमा कफी-सप र रेस्टुरेन्टको व्यवस्था गरिनेछ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीको नजिकै रहेकाले यहाँ कमलको फूल आकारमा लोटस-पार्क निर्माण गरिने भएको छ। यहाँ सिद्धार्थ गौतमका सातवटा पाइलाको प्रतीक पनि राखिने छ।
'सिद्धार्थ गौतम जन्मिनेबित्तिकै सात पाइला हिँडेका थिए भनिन्छ। त्यसैको सम्झना स्वरूप कमलको फूल आकृतिमा ६ पाइला बटम-स्टेसनमा रहने छन् भने सातौं पाइला टप-स्टेसनमा रहने छ,' अध्यक्ष गुरूङले भने।
टप-स्टेसनमा कमलको फूलको आकृति सहितको सातौं पाइलामाथि गौतमबुद्धको ५० फिट अग्लो मूर्ति बनाइने छ।
देउराली डाँडादेखि केबलकारमा सात मिनेट यात्रापछि नुवाकोट पुग्न सकिने छ। यो यात्रा बुटवल बजार अवलोकन गर्दै हरियाली जंगलमाथिबाट हुनेछ।
चुरे क्षेत्रमा पाइने जंगली जनावर र चराचुरूंगी पनि देख्न सकियोस् भनेर सुरूमा रोप-वेका लागि टावर होचो राखिएको छ। आधा किलोमिटरभन्दा माथि पुगेपछि भने तिनाउ नदी, बुटवल, भैरहवा, भारतको नौतनहवा र गोरखपुरसम्मको दृश्य अवलोकन गर्दै नुवाकोट पुग्न सकिने गुरूङले बताए।
केबलकारको टप-स्टेसन रहेको नुवाकोट डाँडामा रैथाने खानाका परिकारसहितका होटल तथा रिसोर्ट बन्दैछन्। त्यहाँ पुग्ने पर्यटक केही समय सुस्ताउन मिल्ने गरी बगैंचा, सिद्धार्थ गौतमबुद्धसँग सम्बन्धित विभिन्न जानकारीसहितको संग्रहालय राखिने छ।
मणिमुकुन्द सेनको गृष्मकालीन दरबार रहेको नुवाकोट बुटवलदेखि नजिकै रहेर पनि ओझेलमा परिरहेकाले केबलकार सञ्चालनपछि विकासमा टेवा पुग्ने गुरूङको अपेक्षा छ।
'हामी बुटवलमै भएकाले नुवाकोटको विकास कसरी गर्न सकिन्छ भन्ने लागेको थियो। मणिमुकुन्द सेन उद्यान पार्कमा समिति गठन भएपछि धेरै विकासका काम भए पनि कर्णेल उजिर सिंहसँग जोडिएको जितगढी र नुवाकोट ओझेलमै छन्, केबलकार बनेपछि ती क्षेत्रको विकासमा पनि योगदान पुग्ने छ,' गुरूले भने।
नुवाकोटमा मणिमुकुन्द सेनको पालामा निर्माण गरिएको भैरव मन्दिर छ। यसलाई अग्लो त्रिशुलले सजाइएको छ। त्यस्तै मणिमुकुन्द सेनको गृष्मकालीन दरबारको भग्नावशेष, राजा रूद्र सेनले स्थापना गरेको शिव लिंग, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोधनका गुरू ऋषिको आश्रमस्थल, भैरव कामना मन्दिर, खड्ग मन्दिर, अग्लो त्रिशुल तथा ऐतिहासिक रानीकुवा छ।
केबलकारसँगै टप-स्टेसनमा सांस्कृतिक डबली, ढुंगेधारा, होटल तथा रेस्टुरेन्ट लगायत पूर्वाधार बनाइएका छन्।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण र रमणीय भएकाले नुवाकोटमा सरकारले सडक निर्माण गरेसँगै निजी क्षेत्रबाट गुरूयोजना सहितका अर्बौंका योजना अगाडि सारिएका हुन्।
गुरूयोजनाभित्र केबलकार सँगै बसपार्क, चिल्ड्रेन पार्क, पर्यटन सूचना केन्द्र, ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयले निर्माण गर्ने शान्ति पार्क, गुम्बा, भ्यू-टावर, स्वास्थ्य केन्द्र लगायत संरचना समावेश गरिएका छन्।
प्रालिका सञ्चालक माधव नेपालका अनुसार नुवाकोटमा हिल साइड रिसोर्ट सञ्चालन गरिने छ। केबलकार सञ्चालन भएपछि लुम्बिनी आउने आन्तरिक एवं बाह्य पर्यटकलाई नुवाकोटसम्म ल्याउन सकिने नेपाल बताउँछन्।
'नुवाकोटमा जितगढी युद्धको झल्को दिने गरी कुनै पनि कला देखाउन सके पर्यटकको आकर्षण बढ्न सक्छ,' उनले भने।
रूपन्देही र पाल्पाको संगमस्थलका रूपमा रहेको नुवाकोट गढीको मनोरम प्राकृतिक दृश्यसँगै त्यहाँबाट उत्तरतर्फ देखिने हिमशृंखला र दक्षिण तर्फको समथर फाँटले त्यहाँ पुग्ने पर्यटकलाई आकर्षित गर्ने छ।
बुटवलदेखि नुवाकोटसम्म केबलकार सञ्चालनपछि विशेषतः पुरानो बटौली बजार क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ। २५ वटा गोन्डुला (केबलकारको बाकस) रहेको केबलकारमा सुरूआती समयमा दैनिक पाँच हजार यात्रु आवतजावत गर्ने र अधिकतम दैनिक दस हजारसम्म यात्रु बोक्न सक्ने क्षमता छ।
यसअघि बुटवलदेखि साँघुरो जंगलको बाटो हुँदै नुवाकोट जानुपर्थ्यो। केबलकार निर्माणको तयारी थालिएपछि बुटवलको बेलवास शान्तिचोकदेखि ११ किलोमिटर पर्यटनमार्ग निर्माण गरिएको छ।
छोटो दुरीको यात्राबाटै बुटवलको चर्को गर्मीबाट उन्मुक्ति मिल्ने भएपछि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने यहाँका लगानीकर्ता बताउँछन्। सामान्यतया, बुटवलभन्दा यहाँको तापक्रम झन्डै ८ डिग्री सेल्सियस कम हुन्छ।
नुवाकोटमा केबलकार लैजाने योजना २०५५ सालमै बुटवलका तत्कालीन मेयर भोजप्रसाद श्रेष्ठले बुटवलको 'भिजनरी प्रोजेक्ट' का रूपमा अगाडि सारेका थिए। सरकारी संयोजन नमिल्दा २२ वर्षसम्म अगाडि बढ्न सकेको थिएन। अब भने यो परियोजना सञ्चालनको तयारीमा पुगेको छ।
सामुदायिक वनको ६.०९८ हेक्टर क्षेत्र ३० वर्षका लागि भोगाधिकार लिएको केबलकार प्रालिले सोही क्षेत्र बराबर पाल्पामा जग्गा किनेर वृक्षरोपण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ।
बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्मको लुम्बिनी केबलकार भने यसअघि नै सञ्चालनमा आइसकेको छ।