हिमालपारी मुस्ताङमा यतिबेला विदेशी पर्यटकको भीड बढेको छ। अन्नपूर्ण फेरो पदयात्रामा जाने पर्यटक मात्र होइन, मुक्तिनाथ दर्शन गर्न जाने धार्मिक पर्यटकले मुस्ताङमा नेपाली भन्दा विदेशी धेरै देखिन थालेका छन्।
पर्यटक बढिरहेका बेला मुस्ताङका किसान स्याउ टिप्न व्यस्त छन्। नेपालमा प्रख्यात मुस्ताङका स्याउ अर्गानिक र स्वादिलो भएको किसान कर्मा गुरूङ बताउँछन्।
‘मुस्ताङका स्याउमा विषादी हुँदैन, स्वादमा पनि विश्वमै चर्चित मानिन्छ,’ उनले भने, ‘बेनी–जोमसोम सडक सुचारू भए बजारको पनि समस्या छैन।’
मुस्ताङका स्याउ मात्र होइन, आलु, उवा, जौ, फापर, विभिन्न प्रजातिका सिमी लगायत कृषि उत्पादन पनि बिक्रीका लागि समस्या छैन। मुस्ताङ घुम्न जाने पर्यटकले स्थानीय उत्पादन किन्ने गरेको स्थानीय किसान निमकुमारी शेरचनले बताइन्।
घरपझोङ गाउँपालिकाले विहिबारदेखि आयोजना गरेको तीनदिने कृषि पर्यटन महोत्सबमा स्टल राखेर शेरचनले स्थानीय उत्पादनका तरकारीबाली बिक्री गरिन्। स्थानीय सिरिघाङ कृषक समूहका अध्यक्षसमेत रहेकी शेरचन गाउँमा उत्पादित कृषि उपज गाउँमै बिक्री भइरहेको बताइन्।
‘हाम्रो कृषक समूहको उत्पादन गाउँमै बिक्री भइरहेको छ, बिक्री नभए समूहले बिक्री गर्छ,’ उनले भनिन्, ‘उत्पादन बढाउन सके बजारको समस्या छैन।’
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र पर्ने मुस्ताङका कृषिमा रासायनिक पदार्थ प्रयोग गर्न पाइँदैन। संरक्षित क्षेत्र भएकाले मुस्ताङमा खेतिपाती गर्दा रासायनिक मल र विषादी प्रयोगमा निषेध गरिएको हो।
हिमाली चिसोमा फलेका अर्गानिक उपज भएकाले यहाँको उत्पादन बिक्रीमा समस्या नहुने घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए।
‘मुस्ताङका उत्पादन ‘ब्राण्डेड’ भइस्क्यो, बजार खोज्नुपर्दैन,’ उनले भने, ‘हामीलाई उत्पादन बढाउन समस्या मात्र छ।’
गाउँपालिकामा कृषि उत्पादन बढाउन कृषि पर्यटन महोत्सव आयोजना गरेको उनले बताए। महोत्सवमा २२ वटा स्टल थिए। अधिकांश स्टलमा स्थानीय कृषि प्रदर्शनी राखिएको अध्यक्ष लालचनले बताए।
महोत्सवमा खेलकुद र सांस्कृतिक कार्यक्रमका साथै कृषि उत्पादनलाई पनि पुरस्कारको व्यवस्था गरेको उनले बताए। मेलामा ३५ वटा प्रजातिका स्याउ राखिएका थिए।
गाउँघरबाटै बिक्री हुन बाँकी रहेका उपज कोसेली घरमार्फत बिक्री गरेर कृषि प्रवर्द्धन गरेको उनले बताए। जिल्ला आउने पर्यटकले मुस्ताङबाट स्थानीय उत्पादन नै खरिद गर्न चाहने भन्दै उनले कोसेली घरमा राखिएका उपज पनि समयमै बिक्री भइरहेको बताए।
नेपाल आउने पर्यटकको वृद्धिसँगै उत्पादन पनि बढाउन सके देशको अर्थतन्त्रलाई फाइदा पुग्ने नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत सागर श्रेष्ठले बताए। कृषिलाई पर्यटनसँग जोडेर अघि बढ्ने घरपझोङ गाउँपालिकाको योजनामा बोर्डको साथ रहने उनले बताए।
‘पर्यटकले नेपाल आएर यहींका स्वाद लिन रूचाउँछन्, हामीले उत्पादनलाई पनि जोड दिन सक्नुपर्छ,’ उनले भने, ‘घरपझोङ गाउँपालिकाले पर्यटन र कृषिलाई जोडेर प्राथमिकता दिएको छ, अन्य गाउँपालिकाले पनि यहाँबाट सिक्न सक्छन्।’
कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार जिल्लाको कुल क्षेत्रफलको १ प्रतिशत अर्थात ३ जार ६ सय ३९ हेक्टर जमिनमात्र खेतियोग्य छन्। जसमा हजार ८ सय ९२ जमिनमा मात्र खेती गरिएका छन्। अझै ७ सय ४६ हेक्टर खेतियोग्य जमिन बाँझो रहेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताए।
उनका अनुसार मुस्ताङमा सबैभन्दा धेरै स्याउ र आलु उत्पादन हुन्छ। जौ, उवा र फापरमा पनि मुस्ताङ आत्मनिर्भर छ।
हिमाली जिल्ला भएकाले मुस्ताङमा धान फल्दैन। बाहिरी जिल्लाबाट चामल खरिद गर्नुपर्ने अवस्था रहे पनि अन्य बाली मुस्ताङले निर्यात गर्ने बस्ताकोटीले बताए।
‘पहिला पहिला मुस्ताङमा चामलको सट्टा जौ, उवा, गहुँ जस्ता अन्नबाली खाइन्थ्यो,’ उनले भने, ‘चामलबाहेक मुस्ताङमा फल्ने फलफूल र अन्नको उत्पादन राम्रो छ, रैथाने बाली भएकाले मुल्य पनि राम्रो छ।’
पर्यटकलाई उवा, गहुँ, जौ जस्ता अन्नका परिकार बनाएर खुवान सके जिल्लाका किसानले अझै आम्दानी गर्न सक्ने बस्ताकोटीले बताए। महोत्सवको उद्घाटन गरेका गण्डकी प्रेदशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ आउने पर्यटकलाई जिल्लाकै उपज खुवाउने र बिक्री गर्नुपर्ने बताए।
‘यहाँ आउने पर्यटकले यहींको उत्पादन खान पाउनुपर्छ, यहाँका कृषि उत्पादन किनेर लैजान पाउने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘तबमात्र पर्यटनबाट यहाँका बासिन्दाले लाभ पाउँछन्, नत्र यहाँ आउने पर्यटकको पैसा बाहिर जान्छ।’
मुस्ताङमा फलेका कृषि उपजको स्वाद मिठो मात्र नभई अर्गानिक भएकाले स्वस्थकरसमेत रहेको उनले बताए। विदेशबाट ल्याएका विषादीयुक्त खानेकुराले अनेक रोग बढेको भन्दै उनले मुस्ताङको कृषि विकासमा प्रदेश सरकारले सहयोग गर्ने बताए।
‘व्यवसायिक कृषिका योजना लिएर आउनुस्, तपाइहरूलाई सहयोग गर्न प्रदेश सरकार तयार छ, उनले भने, बिउदेखि उत्पादनमा आधारित अनुदान दिने हाम्रो योजना छ, मुस्ताङको अर्गानिक उत्पादनलाई प्राथकिता दिएको छु।’