बुटवलमा यति बेला रूपन्देहीकै सबभन्दा जेठो व्यावसायिक संस्था 'बुटवल उद्योग वाणिज्य संघ' को चुनावी माहोल छ। यसले उद्योगी तथा व्यवसायीहरूलाई तताएको छ।
सत्तरी वर्ष पुरानो इतिहास बोकेको संघको २५ औं अधिवेशनको प्रक्रिया शुक्रबारदेखि सुरू भइसकेको छ। शुक्रबार औपचारिक उद्घाटनसँगै सुरू भएको अधिवेशन अन्तर्गत सोमबार मतदान हुँदैछ।
कुल एक हजार ७ सय ७८ जना उद्योगी-व्यवसायी मतदाता रहेको संघको नेतृत्वका लागि अहिले दिनेशप्रसाद श्रेष्ठ र हरिप्रसाद अर्यालले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दर्ता गरेर चुनावी प्रचारप्रसारमा व्यस्त छन्।
अन्य व्यावसायिक संस्थाहरूमा फरकफरक राजनीतिक दलमा आस्था राख्नेहरू प्रतिस्पर्धी बन्ने गरेकोमा बुटवल उद्योग वाणिज्य संघमा भने नेपाली कांग्रेसनिकट व्यवसायी नै प्रतिस्पर्धी बनेका छन्। यसले पनि यसपटकको अधिवेशन थप पेचिलो र रोचक बनेको छ।
पछिल्लो दुई दिनयता श्रेष्ठ र अर्याल प्यानलका उम्मेदवारहरू मत माग्दै उद्योगी-व्यवसायी समक्ष पुगिरहेका छन्। नेतृत्व हात पार्न उम्मेदवारहरूलाई अधिवेशनको दौडधुपले छोपेको मात्र होइन, उद्योगी-व्यवसायीहरू पनि संसदीय निर्वाचनको झल्को दिने गरी दुई समूहमा विभाजित भएर चुनावी प्रचारप्रसारमा लागेका छन्।
२००९ सालमा बुटवल व्यापार मण्डलको नामबाट स्थापना भएको बुटवल उद्योग वाणिज्य संघ बुटवल उपमहानगरपालिकाभन्दा पुरानो हो। यति पुरानो इतिहास बोकेको संस्था साझा बन्न नसकेको भन्दै बुटवलमा आधा दर्जन बढी समानान्तर संस्था क्रियाशील छन्।
स्थापनादेखि नै नेतृत्वमा नेपाली कांग्रेसनिकट व्यवसायीहरूले पकड जमाएको संघलाई यसपटकको अधिवेशनबाट व्यवसायीको मात्र होइन, सबै दलहरूको समेत साझा बनाउनुपर्छ भन्नेमा अन्य दलनिकट व्यवसायीहरू पनि लागेका छन्।
अध्यक्षका दुवै उम्मेदवार आफ्नै पार्टीका भएपछि नेपाली कांग्रेसको नेतृत्वलाई टाउको दुखाइ भएको छ। अन्य संघसंस्थामा अधिवेशनको चर्चा चलेदेखि नै पार्टीको आधिकारिक उम्मेदवार घोषणा गर्ने नेपाली कांग्रेस रूपन्देहीले यसपटक भने आधिकारिक उम्मेदवार को हो भनेर घोषणा गरेको छैन।
नेपाली कांग्रेस रूपन्देहीका अध्यक्ष रामकृष्ण खाणले अध्यक्षका दुवै उम्मेदवार पार्टीका प्रदेश र जिल्ला तहका नेता भएकोले पार्टीले एउटालाई मात्र आधिकारिक घोषणा नगरेको बताए।
'दुवै जना कांग्रेसकै नेता हुनुहुन्छ। जसले जिते पनि पार्टीनिकट व्यवसायी नै नेतृत्वमा पुग्ने भएकाले आधिकारिक उम्मेदवार भनेर यसपटक हस्तक्षेप गर्दैनौं,' खाणले भने।
अध्यक्षका प्रतिस्पर्धी श्रेष्ठ नेपाली कांग्रेस लुम्बिनी प्रदेश परिषद सदस्य हुन् भने अर्याल रूपन्देहीका कोषाध्यक्ष हुन्। श्रेष्ठले नेतत्व गरेको प्यानलमा दलीय हिसाबले सबै उम्मेदवार नेपाली कांग्रेसनिकट व्यवसायी छन्।
श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा नविनप्रसाद श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई, महासचिवमा बाबुराम बिक, कोषाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ, सचिवमा प्रतिक पोखरेल र सह कोषाध्यक्षमा जाकिर हुसेनले उम्मेदवारी दिएका छन्।
अर्याल नेतृत्वको प्यानलमा भने कांग्रेससहित नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादी लगायत दलनिकट व्यवसायी उम्मेदवार छन्। त्यसैले पनि अर्यालले आफ्नो प्यानल समावेशी रहेको दाबी गरेका छन्।
अर्यालको प्यानलबाट वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे र उद्योग उपाध्यक्षमा सुरज भट्टराई, महासचिवमा मुक्ति अधिकारी, कोषाध्यक्षमा बसन्तप्रसाद ढकाल, सचिवमा भेषराज गैरे र सह–कोषाध्यक्षमा धनाकुमारी खनालले उम्मेदवारी दिएका छन्।
अर्यालको प्यानलका उद्योग उपाध्यक्षका उम्मेदवार सुरज भट्टराई एमाले निकट हुन्। त्यस्तै कार्यसमिति सदस्यमा राप्रपाका इर्साद आलम र एकीकृत समाजवादीनिकट लोकनाथ पाण्डेले उम्मेदवारी दिएका छन्।
वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष भने दुवै प्यानलबाट उम्मेदवार बनेपछि निर्विरोध भइसकेका छन।
वरिष्ठ उपाध्यक्षमा टंक गैरे र वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराईको मात्र उम्मेदवारी दर्ता भएको छ। निर्विरोध भइसकेका वाणिज्य उपाध्यक्ष भट्टराईले दुवै प्यानलमा अटाउन सकेकामा उद्योगी व्यवसायीहरूलाई धन्यवाद दिए। गैरे र भट्टराई निर्विरोध निर्वाचित भएपछि भने श्रेष्ठको प्यानललाई मत माग्दै घरदैलो गरिरहेका छन्।
दुवै प्यानलका उम्मेदवारहरू लामो समय संघमा आबद्ध भएर व्यवसायीहरूको हकहित र व्यवसाय प्रवर्द्धनमा आवाज उठाउँदै आएकाले व्यवसायीहरूले एकपटक आफूलाई नेतृत्वको अवसर प्रदान गर्ने दाबी गर्छन्।
२०४५ सालमा १८ वर्षको उमेरदेखि फेन्सी पसलबाट व्यावसायिक यात्रा सुरू गरेका श्रेष्ठले किराना व्यवसाय हुँदै हाल मदिरा व्यवसाय सञ्चालन गर्दै आएका छन्।
व्यावसायिक यात्राको झन्डै ३५ वर्ष संघको कार्यसमिति सदस्यदेखि वरिष्ठ उपाध्यक्षसम्म रहेर व्यवसायीहरूको पक्षमा काम गर्दै आएकाले यसपटक नेतृत्वमा आफ्नो दाबी स्वाभाविक भएको उनी बताउँछन्।
२०५९ सालमा संघको कार्यसमिति सदस्य निर्वाचित भएका ५२ वर्षीय श्रेष्ठ चार कार्यकाल सदस्यमै रहे। २०६८ सालमा सचिव, २०७१ सालमा कोषाध्यक्ष, २०७४ सालमा महासचिव र २०७७ सालमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए।
'व्यवसाय सञ्चालनसँगै संघमा आबद्ध भएर सदस्यदेखि वरिष्ठ उपाध्यक्षसम्मको भूमिका निर्वाह गरेको छु। वरिष्ठ उपाध्यक्षपछि अब जाने भनेको अध्यक्षमै हो। म जुन पदमा रहेर काम गरे पनि व्यवसायीकै पक्षमा रहेर काम गर्दै आएको छु। अहिले पनि व्यवसायीहरूले मलाई पक्कै पनि निरास बनाउनु हुन्न,' श्रेष्ठले भने।
अध्यक्षका अर्का उम्मेदवार अर्याल पनि संस्थागत हितका लागि विगतमा त्याग गर्दै आएको र यसपटक भने बुटवलको व्यवसाय र व्यवसायीहरू संकटमा परेकाले व्यवसायलाई पुरानै लयमा फर्काउन आफ्नो उम्मेदवारी रहेको दाबी गर्छन्।
व्यावसायिक संस्थालाई कुनै एउटा दलको पकडमा मात्र रहन नदिई सबैको साझा बनाउने गरी आफ्नो नेतृत्वमा सबै दलमा आस्था राख्नेहरूलाई समावेश गरिएकाले पनि व्यवसायीहरूले आफूलाई जिताउनेमा ढुक्क रहेको उनले बताए।
'बुटवललाई गुलजार र चलायमान बनाउने स्पष्ट योजनासहित संघमा राम्रा काम लागू गर्न हाम्रो टिम प्रतिबद्ध छ,' अर्यालले भने, 'बुटवलका व्यवसायीले संघको नेतृत्वमा परिवर्तन चाहेका छन्।'
कुनै बेला बुटवल नगरपालिकामा कर्मचारी रहेका अर्याल स्टेसनरी व्यवसायी हुन्। अर्याल २०६५ सालमा संघको कार्यसमिति सदस्य बनेका थिए। २०६८ सालमा श्रेष्ठसँगै सचिव पदमा मनोनयन दर्ता गराए पनि सहमतिका लागि भन्दै उम्मेदवारी फिर्ता लिएका थिए। सचिवमा उम्मेदवारी फिर्ता लिएपछि उनी वाणिज्यतर्फको सदस्यमा मनोनीत भएर काम गरे।
२०७१ सालमा महासचिव बनेका उनी २०७४ सालमा वाणिज्य उपाध्यक्ष निर्वाचित भए। २०७७ सालमा अध्यक्षमा प्रतिस्पर्धा गरेका अर्याल वर्तमान अध्यक्ष उज्ज्वल कसजूसँग केही मतले पराजित भएका थिए।
पुस्तक तथा स्टेसनरी व्यवसायी संघको केन्द्रीय अध्यक्ष भएर आफ्नो परिचय विस्तार गरेका अर्याल अहिले भने संघमा 'कमब्याक' गर्ने योजनामा छन्।
खम संघमा जोडिएको दुई दशक भयो। संघमा रहेर जहिले पनि काम गरेँ। आफ्नो जिम्मेवारीलाई इमानदारी साथ पूरा गरेको छु। संस्थागत हितका लागि भन्दै विगतमा आफ्नो आकांक्षालाई मारेर भए पनि त्याग गरेको छु। यसपटक मेरो त्यो योगदानको व्यवसायीहरूले कदर गर्नुहुन्छ भन्ने ठानेको छु,' अर्यालले भने।