रूपन्देही र आसपासका जिल्लामा चोरी तस्करी गरी ल्याइएका र खान अयोग्य ६६ हजार किलो बोइलर कुखुरा नष्ट गरिएको छ।
पशु क्वारेन्टाइन कार्यालय भैरहवाले गत आर्थिक वर्ष २०७९/८० मा ६६ हजार २ सय एक किलो बोइलर कुखुरा नष्ट गरेको जनाएको छ। यस अवधिमा अवैध रूपमा ल्याइएका २१ हजार ८ सय ६५ वटा बोइलर कुखुराको चल्ला पनि नष्ट गरिएका छन्।
पशु क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख भक्त निउरेका अनुसार रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र पश्चिम नवलपरासीको महेशपुरमा रहेका पशु क्वारेन्टाइन चेक पोष्टहरूले खान अयोग्य कुखुरा नष्ट गरेका हुन्।
नेपालमा बर्डफ्लुको उच्च जोखिम बढेपछि भारतबाट कुखुरा तथा पंक्षीजन्य वस्तु आयातमा प्रतिबन्ध लगाइएको छ। तर सिमा क्षेत्रमा हुने फितलो निगरानीका कारण योभन्दा धेरै परिमाणमा कुखुरा र चल्लाहरू नेपाली बजारमा पुगिरहेका छन्।
यसरी तस्करी भएका कुखुराले समेत स्वस्थकर भनेर प्रमाणपत्र पाउने गरेको नेपाली किसानहरूको गुनासो छ। त्यसैले पनि तस्करी नरोकिएको उनीहरू बताउँछन्।
बर्डफ्लुको जोखिम बढेपछि नेपाली बजारभित्रै पनि कुखुरा बिक्रीका लागि स्वस्थकर प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरेको थियो। तर कतिपय पशु चिकित्सकले तस्करीबाट आएका कुखुराको स्वस्थकर प्रमाणपत्र दिने गरेका छन्। उनीहरूलाई कारबाही नभएको किसानहरूले गुनासो गर्ने गरेका छन्।
तस्करीमा संलग्नहरूले सिमावर्ती भारतीय बजारबाट गाडीसँगै मोटरसाइकल र साइकलमा समेत प्लाष्टिकका झोलामा झुण्ड्याएर कुखुरा ल्याउने गरेका छन्। बरामद गरिएका कुखुरा अस्वस्थ र खान अयोग्य हुनुको साथै कतिपय त झोलाभित्रै मरेका भेटिने क्वारेन्टाइन कार्यालयले जनाएको छ। यसरी बरामद गरिने अवैध कुखुरा तथा चल्लालाई कार्यालयले सुरक्षित स्थानमा खाडल खनेर पुर्ने गरेको छ।
कार्यालय प्रमुख निउरेका अनुसार नष्ट गरिएका कुखुराको संख्या विगतको वर्षभन्दा अहिले ३ गुणाले बढेको छ। कार्यालयको तथ्यांक अनुसार कुखुराका चल्ला भने यसवर्ष घटेको देखिएको छ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १९ हजार ८ सय ४२ किलो ब्रोईलर कुखुरा नष्ट गरिएको थियो। सोही वर्ष ४५ हजार १ सय ४० वटा चल्ला, ७ सय ६० केजी कुखुराको मासु, २ हजार ६ सय ४० वटा सेतो अण्डा नष्ट गरिएको थियो।
सबैभन्दा बढी बेलहिया पोष्टबाट ११ हजार ५ सय १४ वटा बोइलर कुखुरा नष्ट गरिएको छ। त्यस्तै कृष्णनगर पोष्टमा १ हजार ६ सय ९ र महेशपुर पोष्टमा ८ हजार ९ सय ६४ वटा बोइलर कुखुरा नष्ट गरिएको निउरेले बताए।
यस्तै यो अवधिमा अवैध कुखुरा ओसारपसारमा संलग्न व्यक्तिबाट ७ लाख २३ हजार दण्ड जरिवाना गरी पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया पठाइएकोप्रहरी बरिष्ठ नायव निरीक्षक कवि सेन्चुरीले जानकारी दिए।
चालु वर्षको दुई महिनामा समेत नवलपरासी पश्चिम, कपिलवस्तु र रूपन्देहीका पशु क्वारेन्टाइन कार्यालयले भारतबाट तस्करी भएको पाँच हजार बढी किलो मासु नष्ट गरेको छ। त्यस्तै सात हजार पाँच सय २० गोटा कुखुराका चल्ला र करिव दुई हजार किलो माछा नष्ट गरेको कार्यालयले जनाएको छ।
सिमाक्षेत्रमा संचालन गरिएका पोल्ट्री फर्मबाट नेपाली बजारमा कुखुरा, चल्ला र मासु समेत ल्याउन थालिएपछि कार्यालयले सिमा क्षेत्रमा खोलिएको ८ वटा बोइलर फर्म पनि बन्द गराएको छ।
सिमा नजिकै रहेका कुखुरा पालक किसानको अभिलेख कसैले राखेको छैन। न त त्यहाँ संचालन गरिएका फर्म र मासु पसलहरू नै दर्ता छन्। त्यस्ता व्यापारीले किसानका नाममा भारतीय कुखुरा तस्करी गर्ने गरेको तथ्य फेला परेको छ।
भारतबाट दैनिक अवैध रूपमा कुखुरा ल्याउँदा नेपाली कुखुरा पालक कृषक समस्यामा परेका छन्। भारतबाट ल्याउने अवैध कुखुरासँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली कुखुराले बजार नपाएको रुपन्देही सियारीका कुखुरा पालक कामेश्वर चौधरीले गुनासो गरे।
तिलोत्तमाकी विना कुमारी पुन पनि भारतीय बजारबाट अवैध रूपमा भित्रिने बोइलर कुखुराको कारण आफुहरु समस्यामा परेको बताउँछिन्।
‘लाखौं लगानी र महिनौं मेहनत गरेर कुखुरा पाल्छौं तर बजार पठाउनेबेला सिमाक्षेत्रबाट तस्करी गरि ल्याइने अवैध कुखुराको कारण हामीले पालेका कुखुराले बजार र मूल्य दुवै पाउँदैनन्,’ उनले भनिन्।
अहिले भारतीय बजारमा जिउँदो कुखुराको मूल्य भारतीय एकसय २८ रूपैयाँ प्रतिकिलो र मासु प्रतिकिलो एक सय ५० रूपैयाँ मात्रै छ। नेपालमा जिउँदो कुखुरा दुई सय ७० र मासु चारसय २० रूपैयाँ प्रतिकिलोमा बिक्री हुँदै आएको छ।
मूल्यमा ठूलो अन्तर भएपछि रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका सिमाक्षेत्रबाट कुखुराको अवैध तस्करी बढेको हो।
पशु क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख निउरे सबै ठाउँमा आफूहरूको निगरानी नपुग्ने भएकोले किसान र उपभोक्ता नै सचेत हुनुपर्ने बताउँछन्।
‘सबै ठाउँमा हाम्रो उपस्थिती नहुन सक्छ, यस्तो अवस्थामा किसान र उपभोक्ता नै सचेत हुनुपर्छ,’ उनले भने। किसानहरूको सक्रियताले आफुहरूलाई प्रोत्साहन हुने र काम गर्न समेत सहज हुने उनले बताए।
पशु क्वारेन्टाइन चेक पोष्ट बेलहियाका प्रमुख सन्तोष यादव पनि नाकामा खुकुलो निगरानी र सामान्य जरिवाना तिरेर छानबिन बिनै तस्करहरू छुटिरहेकाले अवैध आयात बढिरहेको बताउँछन्।
'तस्करी नियन्त्रण गर्न तैनाथ सुरक्षाकर्मीको आँखा छलेर अवैध कुखुरा भित्रिन्छन्। यसले नियन्त्रण खुकुलो भएको देखाउँछ। समातिएका तस्करलाई पनि सामान्य जरिवाना तिरेर छोडिदिने गर्दा अवैध आयात नियन्त्रण हुन नसकेको हो,' उनले भने।
सिमा निगरानीका लागि राखिएका सुरक्षा निकायका सुरक्षा बार सहजै तोडेर कुखुरा भित्रिन थालेपछि त्यसलाई रोक्न किसान आफै सक्रिय भएका छन्।
हालै रूपन्देहीको मर्चवार क्षेत्रबाट तस्करी गरि ल्याउँदै गरेको साढे तीन सय किलो कुखुरासहित सवारी साधन र तीनजना व्याक्तिलाई स्थानीय किसान आफैंले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए।
तस्करी नियन्त्रणका लागि भन्दै सिमा नाकाहरूमा प्रहरी तैनाथ गरिएको भए पनि कुखुरा तस्करी प्रहरीको छेकबारबाट सजिलै उम्किरहेको किसानहरूको गुनासो छ।
तथ्यांक अनुसार कुखुराको मासुमा मुलुक आत्मनिर्भर भनिएपनि सिमावर्ती बजारबाट भारतीय कुखुराको मासु सस्तोमा बिक्री भईरहँदा नेपाली कुखुरा पालक किसानले मूल्य पाउन सकेका छैनन्।