तपाईंलाई 'रामेन' बारे थाहा छ? थाहा छ भने गज्जब भइगयो। छैन भने यहाँ जानकारी पाउनु हुनेछ।
रामेन हाल युवा पुस्तामाझ प्रिय बन्दै गएको जापानी नुडल्स हो। कसैकसैले कोरियाली नुडल्सलाई पनि बोलीचालीमा रामेन भन्छन्। रेस्टुरेन्ट सञ्चालकहरूका अनुसार कोरियाली नुडल्सको नाम भने 'राम्योन' हो।
दुवै नुडल्स र नाम उस्तै भएकाले हामी नेपालीहरू झुक्किन त सकिहाल्छौं!
पारखीहरूका अनुसार जापानी रामेनको बनावट र स्वाद सामान्य नुडल्सभन्दा केही फरक हुन्छ। रामेनसँगै जापानी स्वाद नेपालमा भित्र्याउँदै धेरै रेस्टुरेन्टहरू थिए, खुल्ने क्रममा छन्। यसै कारण नेपाली जिब्रोलाई जापानी स्वादले लोभ्याउन थालेको छ।
यस्तै एक रेस्टुरेन्ट हो 'होक्काइदो रामेन हाउस'। यो बुढानीलकण्ठको पार्क भिलेज रिसोर्टको मूल द्वारनजिकै छ।
२०७४ सालदेखि सञ्चालित होक्काइदोको मेनुमा रामेन सेट, सुसी, बेन्टो बक्स, मेनरूइँ, दोन्बुरू, राइस एन्ड ओनिगिरी, सोबा र जापानी सलाद गरी ८० भन्दा बढी परिकारको नाम छ। यीमध्ये जापानी रामेन, सुसी र बेन्टो बक्स विशेष परिकार भएको होक्काइदोकी एक सञ्चालक सुनिता अधिकारी बताउँछिन्।
उनका अनुसार होक्काइदोमा तीन थरी रामेन पाइन्छ– सोयु, सियो र स्पाइसी रामेन।
सोयु र सियो रामेन जापनीहरूको रोजाइमा पर्छ, स्पाइसी रामेन नेपालीहरूले रूचाउँछन्।
'रामेन जापानको लोकप्रिय खाना हो। यहाँका रेस्टुरेन्टहरूमा ड्राइ रामेन पाइन्थ्यो, मसालेदार थिएन,' उनले दाबी गर्दै भनिन्, 'होक्काइदोमा अन्त नपाइने अर्गानिक जापानी स्वादको रामेन पाइन्छ।'
जापानी खाना सुसी पनि अर्गानिक स्वादमा पाइन्छ। स्वादअनुसार सागपात, माछामासु, फलफूल लगायत राखेर बाहिर जापानी लेउले बेरेर सुसी तयार हुन्छ।
बेन्टो बक्स शाकाहारी र मांसाहारी दुवैका लागि उपलब्ध छ। यो जापानी लन्च बक्स हो।
'नेपालीहरूले दालभात–तरकारी खाएजस्तै बेन्टो बक्स जापानको खाना हो,' उनी भन्छिन्, 'यसमा चिकेन, भेज, अन्डा लगायत फरक नौ स्वादका परिकार सन्तुलन मिलाएर राखिन्छ।'
पाँच वर्षअघिसम्म पनि जापानी खानाबारे सर्वसाधारण काठमाडौंबासीलाई खास जानकारी नभएको सुनिता बताउँछिन्। पाउन पनि मुस्किल थियो। अहिले भने बजारमा थुप्रै यस्ता रेस्टुरेन्ट खुलिसके।
होक्काइदोले विभिन्न थरी स्वादमा नुडल्स आफैं बनाउँछ। आगन्तुकहरूलाई जापानी रामेनको स्वाद खुवाउँछ र अन्य केही रेस्टुरेन्टलाई पनि दिन्छ। यहाँबाट जसले पनि नुडल्स किनेर लैजान सक्छन्।
उनका अनुसार होक्काइदोमा पाक्ने सागसब्जी र चामलबाहेक परिकार बनाउने सामग्री जापानबाटै आउँछ। रेस्टुरेन्टको सेन्ट्रल किचनमा रामेनका लागि सुप पाक्छ। सागसब्जी, मासु, लगायत धेरै बेर पकाएर सुप तयार गरिन्छ।
'यही सुपका कारण पनि रामेन अर्गानिक स्वादको बनेको हो। यो सुप पनि बिक्री गर्छौं,' सुनिताले भनिन्।
होक्काइदोका सञ्चालक सुनिता र उनका श्रीमान अर्जुन अधिकारी हुन्। दुई दशक जापान बसेर सात वर्षअघि फर्केपछि उनीहरूले काठमाडौंमा रेस्टुरेन्ट खोले। उनीहरूको उद्देश्य नेपालीलाई जापानको अर्गानिक स्वादका खाना खुवाउनु हो। जापानी परिकार बनाउने यहाँका रेस्टुरेन्टलाई आवश्यक इन्ग्रिडेन्ट्स (सामग्रीहरू) उपलब्ध गराउने योजना पनि उनीहरूको छ।
जापान बसाइ र त्यहाँको हस्पिटालिटीको अनुभवले नेपालमा जापानी परिकार पस्किरहेका सुनिता बताउँछिन्।
'हामीले जेजति गर्न सक्यौं, यो सबै जापानको अनुभवले भएको हो। विदेश जानुपर्छ तर सधैंका लागि होइन। सीप लिएर फर्किनुपर्छ,' उनी भन्छिन्, 'विदेशको सीपले आफ्नै देशमा व्यवसाय गर्नुपर्छ। आँट गरेर अघि बढ्दा केही पनि असम्भव छैन।'
त्यसो त सुनिताको रूचि होटल–रेस्टुरेन्ट चलाउनमा थिएन। गुल्मीमा जन्मे-हुर्केकी उनले सदरमुकाम तम्घासमा नर्सिङ पढिन्। यसै अनुसार उनी अस्पतालमा काम गर्न चाहन्थिन्।
बीस वर्षको उमेरमा उनको अर्घाखाँचीका अर्जुन अधिकारीसँग बिहे भयो। बिहेपछि परिस्थिति बदलियो, श्रीमानका साथ काठमाडौं आइन्। अर्जुन कामका सिलसिलामा २०५८ सालमा जापान गए। त्यसको चार वर्षपछि सुनिता पनि उतै पुगिन्। उनी जापानमा पनि नर्सिङ सेवामा लाग्न चाहन्थिन्, जापानी भाषा सिकिन्। अस्पतालमा नर्सिङ सेवाको अवसर पनि पाइन्।
अर्जुनले जापानमा 'बिस्तारै बिस्तारै' नाम राखेर नेपाली खानाको रेस्टुरेन्ट खोले। उनी आफैं खाना बनाउने कूक थिए। रेस्टुरेन्टको व्यापार सन्तोषजनक भयो। सुनिताले अस्पतालको जागिरमा भन्दा आफ्नै व्यवसायमा लाग्नु उचित ठानिन्।
'मलाई पनि बिजनेसको मोहले तान्यो। म पनि रेस्टुरेन्टमै काम गर्ने भएँ,' उनले भनिन्, 'उहाँ (अर्जुन) कूक हुनुहुन्थ्यो। म वेटर भएँ। यसरी रेस्टुरेन्ट सुरू गर्यौं।'
उनीहरूको रेस्टुरेन्टमा नेपाली खाना बन्थ्यो। नान रोटी पनि बनाउँथे। एक वर्षमै अर्को रेस्टुरेन्ट खोले। त्यसपछि उनीहरूले एक–एक वटा रेस्टुरेन्ट सम्हाले। रेस्टुरेन्ट व्यवसाय र जापानी हस्पिटालिटीको तरिका थाहा पाउन मौका मिलाएर त्यहाँका रेस्टुरेन्टहरू घुम्थे।
'यसरी हाम्रो करिअर (व्यावसायिक जीवन) सुरू भयो। धेरै संघर्ष गर्नुपर्यो। त्यही संघर्षले आत्मविश्वास दिलायो। काम गर्न सकिन्छ भन्ने आँट पलायो,' उनले भनिन्।
व्यवसाय राम्रो भयो। एकपछि अर्को रेस्टुरेन्ट खोल्दै अघि बढे। १८ वर्षमा उनीहरूले जापानका विभिन्न ठाउँमा २२ वटा शाखा खोले। तिनमा दुई सय जनाभन्दा बढी नेपालीले रोजगारी पाए।
'अहिले पनि १२ वटा आउटलेट चलेका छन्,' सुनिताले भनिन्, 'जापानमा नेपाली खानाले तहल्का नै मच्चायो। यसमा हामी दुई जनाको मात्रै होइन, सबै कर्मचारीको योगदान छ।'
जापानमा रेस्टुरेन्ट व्यवसायको सफलतापछि अधिकारी दम्पतीले नेपालमा जापानी परिकार पस्किने योजना बनाए। सुनिताले नेपालमा गर्न सकिने काम र जापानी रेस्टुरेन्टका लागि आवश्यक कृषि उत्पादनबारे खोज गरिन्। जसरी नेपाली खाना जापानमा लोकप्रिय बनाए, त्यसरी नै जापानी खाना नेपालमा ल्याउन चाहन्थे।
उनीहरू जापानको होक्काइदो सहरमा बस्थे। जापानमा उन्ची कम्पनीले रामेन उत्पादन गर्थ्यो। सुनिताले कम्पनीमै गएर रामेनबारे अध्ययन गरिन्। उनका अनुसार उन्ची कम्पनीको एक टोली नेपाल आएर रामेन उत्पादनको सम्भाव्यता अध्ययन गर्यो।
अन्ततः जापानी रेस्टुरेन्ट खोल्ने तयारीका साथ २०७४ सालमा अधिकारी दम्पती स्वदेश फर्के।
रामेन बनाउने र उमाल्ने मेसिन, आवश्यक भाँडा र धेरैजसो सामग्री जापानबाटै ल्याए। बुढानीलकण्ठको रेस्टुरेन्टमै सेन्ट्रल किचन बनाए। रामेन उत्पादनका लागि होक्काइदो–नेपाल बिजनेस ग्रुपले काम गर्छ। होक्काइदो रामेन हाउस पनि यही ग्रुपअन्तर्गत सञ्चालित छ। अधिकारी दम्पतीसँगै हाल कम्पनीमा चार जना साझेदार छन्।
सुनिताका अनुसार होक्काइदो रामेन हाउस सुरू गर्न पहिलो चरणमा चार करोड रूपैयाँ लगानी भयो।
यसले सुरूमा ठ्याक्कै जापानी स्वादमा परिकारहरू बनायो। त्यसमा नेपाली ग्राहकको रूचि धेरै देखिएन। यस अनुभवबाट उनीहरूले स्वादमा केही परिमार्जन गर्दै नेपाली रूचिअनुसारको बनाए।
'नेपालीलाई मनपर्ने मसालेदार रामेन बनायौं। भाटभटेनी (सुपरस्टोर) मा जापानी खानाको बेन्टो बक्स राख्यौं,' सुनिताले भनिन्, 'बिस्तारै जापानी परिकार चिनिन थाल्यो।'
हाल होक्काइदो रामेन हाउसमा २० जनाले रोजगारी पाएका छन्। दुई वर्ष अघिदेखि शाखा पनि चलाइरहेका छन्। काठमाडौं र ललितपुरमा गरी पाँचवटा शाखा छन्।सबैमा सेन्ट्रल किचनमै बनेको नुडल्स र सुप पुग्छ।
अधिकारी दम्पती होक्काइदो रामेन हाउसको प्रख्यातिबाट सन्तुष्ट छन्।
'छोटो समयमै होक्काइदो रामेनको उचाइ बढेको छ। अहिले हामीकहाँ पाक्ने परिकारमध्ये सबैभन्दा बढी रूचाइएको रामेन नै हो,' सुनिताले भनिन्, 'हामी नेपालमा जापानी परिकारको व्यवसाय फैलाउन चाहन्छौं।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी