महिला उद्यमीका कथा
काठमाडौंकी सीता थापा भट्टराई बाह्र वर्षअघिसम्म क्यान्सरविरूद्ध संघर्ष गर्दै थिइन्। उपचार क्रममा पाँच वर्ष देशविदेशका अनेक अस्पताल धाइन्।
कहिलेकाहीँ जिन्दगीदेखि निराश भए पनि हार नखाइकन उनी लडिरहिन्। आखिरमा क्यान्सरलाई पराजित गरिन्।
रोगलाई जितेर अगाडि बढेकी उनी अहिले कृषि उद्यमीका रूपमा चिनिन्छिन्। धेरैका लागि उनी प्रेरणाको स्रोत हुन्। उनी काठमाडौंमा 'सीता अर्गानिक एग्रो फार्म' चलाइरहेकी छन्। मुख्य बिक्री केन्द्र गोकर्णेश्वर नगरपालिकाको माकलबारीमा छ। त्यहाँ सयभन्दा बढी अर्गानिक तथा स्थानीय उत्पादनहरू पाइने उनले बताइन्।
'अर्गानिक एग्रो खोलेर कृषि र पशुपालनको काम गरिरहेकी छु। सानैदेखि कृषि कर्ममै रमाएर होला, कृषिमै काम गर्नुपर्छ भन्ने लाग्छ,' मौरीपालन र पशुपालनमा सक्रिय उनले भनिन्।
उनले पशुपालन सुरू गरेको दुई वर्ष भयो। फार्ममा सिमी, विभिन्न प्रकारका दाल, गेडागुडी, मार्सी चामल, च्याँख्ला, मसला, चिया सिड्स, इलामको चिया, तुलसी चिया लगायत किन्न पाइन्छ। यसबाहेक मह, तोरी, जौ, गहुँ, कोदो, फापर, बेसार, ओखर लगायत उपलब्ध छ। अचार र मस्यौरा पनि यहाँको उत्पादन हो।
सीता विभिन्न जिल्लाबाट कृषि उत्पादनहरू ल्याउँछिन्। तिनलाई आफ्नो बिक्री केन्द्रमार्फत काठमाडौं उपत्यकाका भान्साहरूमा पुर्याउँछिन्। उनको बजार काठमाडौं बाहिर र विदेशसम्म फैलिएको छ।
बुटवलमा जन्मिएकी सीताको परिवार हङकङमा थियो। उनी नेपालमा १२ कक्षाको पढाइ पूरा गरेर १८ वर्षको उमेरमा हङकङ पुगिन्। उतै काम थालिन्। पढाइ भने रोकियो। उनी ६ वर्ष हङकङ बसेर नेपाल फर्किन्। यता आएपछि ओखलढुंगाका प्रताप भट्टराईसँग उनको बिहे भयो। प्रताप वीरगञ्जमा होटल र ट्राभल व्यवसाय गर्थे। सीता घरायसी काममै व्यस्त हुन्थिन्।
२०६३/६४ सालको मधेस आन्दोलनले व्यापार-व्यवसाय ठप्प भयो। उनीहरू वीरगञ्जबाट काठमाडौं आए। काठमाडौं आएको केही समयपछि, २०६८ सालमा उनको घाँटीमा क्यान्सर देखियो।
'म गर्भवती भएपछि टिबीको समस्या देखियो। उपचारका क्रममा थाइरोइडको समस्या भयो। लगत्तै घाँटीमा क्यान्सर भयो,' सीताले सुनाइन्, 'डाक्टरले शल्यक्रिया गर्न जोखिम छ भन्यो। लाखौं खर्च लाग्ने भयो। मैले शल्यक्रिया गर्न चाहिनँ, औषधि खाएँ।'
उनी उपचारका लागि भारतको दिल्ली पुगिन्। शल्यक्रियाबाहेक सबै उपचार गराइन्।
'सधैं एउटै तनावमा अल्झिएँ। जीवन र मरणको दोसाँधमा पाँच वर्ष बिताएँ,' उनले भनिन्।
२०७२ को भुँइचालो सीताको जीवनमा नयाँ घुम्ती बनिदियो। त्यो समय तनाव भुलाउन सीता सामाजिक सेवामा लागिन्। भूकम्पका घाइतेहरूको उपचारमा धेरै विदेशी डाक्टरहरू नेपाल आएका थिए। सीता तिनै विदेशीको समूहमा पुगिन्। अस्ट्रेलियाली महिला स्टेफेनी साथी भइन्। उनी केही दिन सीताकै घरमा बसिन्। तिनै स्टेफेनीले सीताको जीवनमा नयाँ घुम्ती दिइन्।
'स्टेफेनी आफ्नो समूहमा नगरकोटमा योग तालिममा जानुहुन्थ्यो। त्यहाँ जमराको जुसबारे बुझेर आउनुभएछ,' उनले भनिन्, 'मसँग योग र जमरा दुबैको कुरा गर्नुभयो। जमराको जुसको फाइदा बताउनुभयो।'
क्यान्सरसँग जुधिरहेकी सीतालाई जुसको कुरा उति पत्यार लागेन। स्टेफेनीले विभिन्न अध्ययन देखाइन्। सीताले मात्रा मिलाएर केही दिन पिइन्।
'शरीरलाई फाइदा भएको अनुभव भयो। अनि जमरा जुस बनाउने तालिम लिएँ,' उनले भनिन्।
तालिमपछि घरमै ५० रूपैयाँको बिउ गहुँ किनेर जमरा उमारिन्। जुस बनाएर बेच्न थालिन्। यो काम भ्याइनभ्याइ भयो। कर्मचारी राखेर काम अगाडि बढाइन्।
रोगले छोएपछि सीताले भान्सामा अर्गानिक उत्पादनलाई जोड दिन थालेकी थिइन्। पिठो, दाल, बेसार गाउँघरबाटै मगाउँथिन्। कहिलेकाहीँ उताबाट केही बढी मगाएर बेच्न पनि थालिन्। गाउँबाट मगाएको खाद्य वस्तुको व्यापार राम्रो हुने सम्भावना देखिन्।
उनले घरमा एउटा सानो मिल राखिन्। बेसार, कोदो, मकै, फापर, भटमास इत्यादि पिस्न थालिन्। विभिन्न जिल्लाका उत्पादनहरू संकलन गर्दै व्यापार बढाइन्। यसरी अघि बढ्दै सीता अर्गानिक एग्रो फार्मसम्म पुगेकी हुन्।
उनी अहिले हुम्ला, जुम्ला, पाल्पा, सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली, इलाम, तेह्रथुम लगायतका जिल्लाबाट कृषि उत्पादनहरू मगाउँछिन्। बिक्री केन्द्रमा केलाउने, सफा गर्ने र प्याकेजिङ गर्ने काम हुन्छ।
फार्ममा थरीथरीका अचार बनाउने उद्योग छ। डल्ले खुर्सानी, गुन्द्रुकछोप, सोयाचंक (सोयाबिन), टिमुरछोप, चिकन, बफ, माछा, भिटाछोप, आँप लगायत २२ किसिमको अचार बन्छ। सिजनअनुसारको फलफूलबाट पनि अचार बन्छ।
त्यस्तै यो फार्मले अचार र जमराको जुस बनाउन महिलाहरूलाई तालिम पनि दिन्छ। सीताका अनुसार यस्तो तालिम लिन काठमाडौं उपत्यकाका, उपत्यकाबाहिरका र कहिलेकाहीँ विदेशी पनि आउँछन्।
'अहिलेसम्म ३० हजारभन्दा बढीले तालिम लिइसके,' सीताले भनिन्।
सीताले महको उत्पादन पनि बढाउँदै छिन्।
तीन वटा घारबाट सुरू गरेको मौरीपालनमा १८ घार पुगेको थियो। कोरोनाताका महको माग बढ्यो। यही मौकामा उनले पाँच लाख रूपैयाँ लगानी गरेर सय घार मौरी किनिन्। गोकर्णको पाखाथोकमा २१ रोपनी जग्गामा राखिन्।
'घरको कौसीमा सानो ठाउँमा राखेका मौरी खुला ठाउँ पाएपछि उडेर वरपर जान पाए। म व्यावसायिक रूपमै मौरीपालनमा लागेँ,' उनले भनिन्।
मौरीका लागि काठमाडौंमा पर्याप्त चरन छैन। सीता चिवतन, मकवानपुर लगायतका ठाउँमा चराउन पठाउँछिन्। यस काममा दुई जना कर्मचारी छन्।
हाल फार्मले वार्षिक १० टनसम्म मह उत्पादन गर्छ। आम्दानी पनि राम्रो भएको उनले बताइन्।
'रेखदेख राम्रो गर्न सके मौरीपालन व्यवसाय राम्रो छ,' उनले भनिन्, 'मेरा लागि मौरी कीरा मात्र होइन। मेरो खुसीको आधार हो।'
सबै मह उनको फार्मबाटै बिक्री हुन्छ। अनलाइन अर्डरमार्फत काठमाडौंबाहिर र अन्तर्राष्ट्रिय बजारसम्म पुगेको छ। उनले कुखुरा, टर्की, कालिज र बाख्रा पालनमा पनि लगानी गरेकी छन्। यी उत्पादन रेस्टुरेन्टहरूले लैजान्छन्।
उनले दुई वर्षअघि सिन्धुपाल्चोक र नुवाकोटबाट बाख्रा ल्याएर सुरू गरेकी थिइन्। हाल बोयर र स्थानीय जातका गरी सय वटाभन्दा बढी खसीबाख्रा छन्। बाख्रालाई खुवाउन गोकर्णमै १८ रोपनी जमिनमा घाँस लगाएकी छन्।
सीता अर्गानिक एग्रो फार्मसँगै उनले 'सिनर्जी एग्रो' पनि चलाएकी छन्। दुवै कम्पनीमा गरेर हालसम्म दुई करोड रूपैयाँ लगानी भएको छ। हाल वार्षिक कम्तीमा चार करोड रूपैयाँको कारोबार गर्छिन्। काम सुरू गरेको भने ५० रूपैयाँको बिउ गहुँबाट नै हो।
दुवैतर्फ गरेर हाल १३ जना कर्मचारी छन्।
सीता क्यान्सर र अन्य रोगीको सेवा काममा पनि सक्रिय छन्। उनले 'क्यान्सर केयर' चलाएको पाँच वर्ष भयो। यसले बिरामीलाई प्राकृतिक थेरापी गर्छ। आफ्नो कमाइको १० प्रतिशत यो संस्थामा खर्च गरेको उनले बताइन्।
सीता पाँचौं महिला अधिकार दिवसका अवसरमा 'राष्ट्रपति महिला उत्थान कार्यक्रम' बाट उत्कृष्ट कृषि उद्यमी ठहर भई सम्मानित पनि भएकी थिइन्। व्यवसायमा उनलाई परिवारबाट पनि सहयोग छ।
आफ्नो व्यवसायलाई ब्रान्डका रूपमा अघि बढाउन चाहने उनी भन्छिन्, 'म आफ्नो लक्ष्यमा पुग्छु भन्ने विश्वास छ।'