सुर्खेतको लेकबेसी नगरपालिका–९, चौरासेका हेमन्तकुमार दर्लामी वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए। त्यहाँ उनले बहुराष्ट्रिय कम्पनी 'नेसनल पानासोनिक' मा काम गरे। काम खासै अप्ठ्यारो थिएन। केही पैसा कमाएर उनी साढे दुई वर्षपछि घर फर्के।
मलेसियाबाट फर्केपछि उनी स्वदेशमा कुनै उद्यम गर्न चाहन्थे। केही योजना पनि बन्यो तर त्यसअनुसार लगानी पुग्ने भएन। केही दिनपछि उनी फेरि रोजगारीका धेरैको रोजाइमा पर्ने देश कोरिया गए। त्यहाँ पाँच वर्ष बसे।
हेमन्त कोरियामा सवारीसाधनका पाटपुर्जा बनाउने कम्पनीमा काम गर्थे। विदेशमा ठूला उद्योगमा काम गर्ने मौका पाएकाले नेपालमा उद्योग चलाउन सकिन्छ भन्ने उनलाई लाग्यो। कोरियाबाटै नेपाली व्यवसायीहरूसँग फोनमा कुराकानी पनि गरे। साथीहरूले भने उनलाई कोरिया नै फर्किन सल्लाह दिएका थिए। उनले उद्यम नै गर्ने मन बनाइसकेका थिए।
'सधैं अरूको कामदार हुनुभन्दा आफ्नै उद्यम गर्नुपर्छ भन्ने भयो। मैले थाहा पाएदेखि मेरा बुबा अरूकैमा रोजगारी गर्नुहुन्थ्यो। मैले पनि विदेशमा अर्कैको काम गरेँ,' हेमन्तले भने, 'क्षमताले भ्याएसम्म आफ्नै उद्यम गर्नुपर्छ भन्ने सोच आयो। गाउँका युवाहरूले पनि सिकून् भन्ने अर्को उद्देश्य हो।'
उनले कोरियामा हुँदै नेपाल फर्केर साबुन उद्योग खोल्ने निर्णय गरे। व्यापारको पाटो सबै थाहा नपाए पनि उद्योग चलाउन सकिने रहेछ भन्ने बुझेका थिए।
'मेसिनमा काम गर्ने बानी पनि भयो, काम गर्न सकिन्छ भन्ने आत्मविश्वास आयो,' उनले भने।
कोरियाबाट फर्केपछि हेमन्तलाई केही साथी र छरछिमेकीले बजारमा घर किनेर बस्न पनि सुझाव दिए। उनी भने आफ्नो सोच र योजनामै अडिइरहे।
'बजारमा घर किनेर बस्न सक्थेँ। आफ्नै गाडी चढ्न पनि पैसाले पुग्थ्यो,' उनले भने, 'मैले त्यसो गरिनँ, स्थिर लगानी गर्नुभन्दा उद्योगबाट परिचालन गर्नु राम्रो लाग्यो।'
उनले आफ्नो योजनाअनुसार २०७६ वैशाखमा 'एचके सोप इन्डस्ट्री' नाम राखेर मझौला उद्योग दर्ता गरे। आफ्नै गाउँ चौरासेमा उद्योग स्थापना गर्ने योजनाअनुसार सबै प्रक्रिया पूरा गरे। संरचना निर्माण र अन्य तयारीमा झन्डै दुई वर्ष लाग्यो।
साबुन सबैको दैनिक आवश्यकताको र चाँडै खेर नजाने वस्तु भएकाले यसमै हात हालेको उनले बताए।
'साबुन सबैलाई चाहिन्छ। विलासी वस्तु होइन। यो उद्योगबाट मलाई घाटा हुँदैन,' उनले भने।
दुई वर्षदेखि एचके सोप इन्डस्ट्रीबाट तीन फरक तौलमा 'लेकबेसी' नामको लुगा धुने साबुन उत्पादन हुन्छ।
हेमन्तका अनुसार हालसम्म चार करोड रूपैयाँ लगानी भएको छ। वैदेशिक रोजगारीको कमाइ र बैंकको ऋणबाट लगानी जुटाएका हुन्। करिब डेढ करोड रूपैयाँ ऋण रहेको उनले बताए।
उद्योगमा अझै लगानी थप्नु छ तर उनी ऋण थप्ने विचारमा छैनन्। उत्पादनबाट आर्जन गर्दै लगानी बढाउँदै जाने उनले बताए।
हाल उद्योगमा सात वटा मेसिन छन्। यी मेसिनबाट प्रतिघन्टा पाँच क्विन्टल साबुन उत्पादन हुन सक्छ तर अहिले यति परिमाणमा उत्पादन भएको छैन। प्रारम्भिक समय भएकाले बजार मागअनुसार मात्र उत्पादन गरिरहेको उनी बताउँछन्।
'उत्पादन सुरू गरेको भर्खरै दुई वर्ष पुग्यो, अहिले क्षमताअनुसारको उत्पादन छैन। लगानीअनुसार कारोबार पनि छैन,' उनले भने, 'बजारको माग बढ्दै जाँदा उत्पादन र कारोबार पनि बढ्दै जान्छ।'
हेमन्तका अनुसार साबुनको पनि सिजन हुन्छ। यो कुरा उनले पनि काम गर्दै जाँदा थाहा पाएका हुन्। पहिले उनलाई साबुनको माग बाह्रै महिना एकैनास हुन्छ भन्ने लागेको थियो। उत्पादन थालेपछि थाहा भयो, चिसो मौसममा माग धेरै घट्ने रहेछ।
एचके सोप इन्डस्ट्रीको साबुन वीरेन्द्रनगरका बिक्रेतामार्फत कर्णालीका सबै जिल्लामा पुगेको छ। हाल मासिक औसत ३० लाख रूपैयाँसम्मको साबुन बजार पुग्ने गरेको उनले बताए।
व्यापारीहरू सम्पर्कमा आउने क्रम बढ्दै गएको छ। व्यापारी संख्या बढ्दै जाँदा उत्पादन बढाउँदै जाने उनको रणनीति छ।
'कर्णालीमा हाम्रो स्तरका अन्य साबुन उद्योग छैनन्, साना मात्र छन्। प्रतिस्पर्धा विराटनगर, भैरहवा, चितवन लगायत क्षेत्रका र भारतीय उद्योगसँग छ,' उनले भने।
हाल उद्योगमा १५ जना कर्मचारी छन्। उत्पादन वृद्धिसँगै जनशक्ति पनि बढ्ने उनले बताए। अपांगताका कारण कामको अवसर नपाएका व्यक्तिलाई रोजगारी दिने उनको सोच छ।
माग पनि आउन थालेकाले अब नुहाउने साबुन, लिक्विड र सर्फ पनि चाँडै उत्पादन गर्ने हेमन्तको तयारी छ। प्रतिघन्टा दुई सय किलो सर्फ उत्पादन क्षमताको मेसिन किन्ने प्रक्रिया अघि बढेको छ।
'वासिङ मेसिनमा चक्की साबुन काम लाग्दैन। मागअनुसार सबै किसिमको साबुन उत्पादन गर्ने अवधारणा अनुसार उद्योग सुरू गरेको हुँ,' उनले भने।
साबुनको धेरै जसो कच्चा पदार्थ भारतबाटै आउने गरेको छ। उनी नेपालमै कच्चा पदार्थ उत्पादन भइदिए हुन्थ्यो भन्ने चाहन्छन्।
हेमन्तले बैंकको चर्को ब्याजदर पनि समस्याका रूपमा देखेका छन्। अहिलेको आर्थिक मन्दीले पनि चुनौती थपेको उनको भनाइ छ। कच्चा पदार्थ उधारोमा नपाइने तर आफ्नो उत्पादन उधारोमा चलाउनुपर्ने बाध्यता उनको अर्को समस्या हो।
'तर समस्या र चुनौती सामना गर्दै व्यवसाय चलाउन र उत्पादन बढाउन दृढ छु,' उनी भन्छन्।