महिनावारी हुँदा प्रयोग हुने स्यानिटरी प्याडको बजारमा विदेशी कम्पनी हाबी छन्। प्याडमा करौडौं रूपैयाँ विदेशिनु नयाँ होइन। बजारमा नेपाली कम्पनीका लागि विदेशीसँगको प्रतिस्पर्धा निकै ठूलो चुनौती बनेको छ।
यसका बाबजुद नेपालका प्याड कम्पनी निराश छैनन्। उनीहरूले नयाँ बजार फेला पारेका छन्, भारत।
पछिल्लो एक वर्षमा नेपाली प्याडको निर्यात ह्वात्तै बढेको छ। यो आर्थिक वर्षको ९ महिनामा (साउनदेखि चैतसम्म) प्याडको निर्यात चार गुणा बढेको हो। भन्सार विभागका अनुसार यो अवधिमा करिब तीन करोड चार लाख वटा प्याड निर्यात भएको छ। यसबाट ८ करोड ४७ लाख रूपैयाँ भित्रियो।
अघिल्लो वर्षका यिनै नौ महिनामा करिब साढे ७० लाख मात्र प्याड निर्यात भएको थियो।
यो अवधिमा प्याडको आयात पनि कम भएको छ। गत वर्षभन्दा यो वर्ष साढे तीन करोड वटा प्याड आयात भएको हो।
विशेषगरी भारतीय प्याडले नै नेपाली बजार ओगटिरहेका छन्। यस्तो अवस्थामा नेपाली प्याड भारतमै निर्यात हुन कसरी सम्भव भयो।
यसका मुख्य दुई कारण देखिएका छन्।
एउटा, नेपाल सरकारको नीति।
अर्को, भारत सरकारको नीति।
पहिले कुरा गरौं नेपालको।
२०७९/८० को बजेटमा सरकारले प्याडको कच्चा पदार्थ आयात गर्दा लाग्ने कर घटाएको थियो। सरकारको यो नीतिले उत्पादनमा सहज भएको 'एन्जल टच हाइजिन' का सञ्चालक सन्तोष भुसाल बताउँछन्।
'सरकारले प्याडको कच्चा पदार्थ आयातमा कर घटाइदियो। हामीले सस्तो मूल्यमा गुणस्तरीय प्याड उत्पादन गर्न सक्यौं,' उनले भने।
भुसालका अनुसार नेपाली कम्पनीहरूले विभिन्न आठ वटा कच्चा पदार्थ प्रयोग गरेर प्याड बनाउँछन्। अघिल्लो वर्षसम्म ती कच्चा पदार्थमा पाँच प्रतिशतदेखि ३० प्रतिशत कर लाग्दै आएको थियो। केही कच्चा पदार्थमा त थप पाँच प्रतिशत अन्तशुल्क पनि लाग्थ्यो।
बजेटमा सरकारले दुई-तीन वटाबाहेक अरू कच्चा पदार्थमा लाग्दै आएको कर करिब एक प्रतिशतमा झार्यो। लागत कम भएपछि उद्योगीहरूलाई उत्पादनमा सहज भयो।
यहाँका उद्योगले अहिले भारतमा स्यानिटरी प्याड निर्यात गरिरहेका छन्। स्वाभाविकै भारत ठूलो बजार हो। यसमा भारत सरकारको नीतिले अझ मलजल गरेको छ।
'पछिल्ला वर्षमा भारत सरकारले सबै घरमा प्याड पुर्याउने नीति राखेको छ। निःशुल्क प्याड वितरण गरिरहेको छ। त्यस कारण अहिले भारतबाट प्याडको माग धेरै आएको हो,' भुसालले भने।
भारत आफैंले ठूलो मात्रामा उत्पादन गरिरहँदा नेपाली प्याड किन लगिरहेको हो त?
हामीकहाँ प्रिमियम (महँगो) ब्रान्डका प्याड आयात हुन्छ। यो व्यावसायिक र प्रतिस्पर्धात्मक बजारकै लागि हो। नेपाली कम्पनीले जुन प्याड भारतमा निर्यात गरिरहेका छन्, त्यो प्रिमियम ब्रान्ड होइन। सरकारले बाँड्ने प्याड सामान्य किसिमको हुन्छ। भारतले पनि आफूकहाँ उत्पादन भएका प्रिमियम प्याड बाँड्दैन। सामान्य प्याड त्यहाँ उत्पादितभन्दा यहाँबाट निर्यात भएको सस्तो पर्ने भएकाले भारतले लगिरहेको भुसालले बताए।
'भारतमा धेरै प्रिमियम ब्रान्डकै प्याड बन्छ। हामीकहाँ आउने पनि तिनै हुन्। तर सरकारले बाँड्ने सामान्य प्याड हो। प्रिमियम त बाँड्न सम्भव हुँदैन,' उनले भने, 'त्यसैले उसले यहाँबाट लगिरहेको हो।'
आगामी वर्ष निर्यात अझै बढ्ने उनको भनाइ छ। उनको कम्पनी एन्जल टचले 'प्योर' ब्रान्डको प्याड बजारमा ल्याएको एक वर्ष भयो। यो प्याड पनि निर्यात गर्ने तयारी छ।
'हाम्रो उत्पादन केही दिनमै निर्यात हुँदैछ,' भुसालले भने, 'अर्को वर्ष दसदेखि ११ करोड वटा निर्यात हुन्छ होला।'
हेल्थ एन्ड हाइजिन प्रोडक्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश लाहोटी पनि अब निर्यात बढ्दै जाने बताउँछन्। अहिलेको निर्यात उत्साहजनक भए पनि यहाँका उद्योगको क्षमताअनुसार परिमाण ठूलो नभएको उनले बताए।
हाल नेपालमा साना–ठूला गरेर ४० वटा स्यानिटरी प्याडका उद्योग छन्। तिनको कुल लगानी करिब ६ अर्ब रूपैयाँ छ। तर यी उद्योग पूरा क्षमतामा चलेका छैनन्। सञ्चालित सबै उद्योगले वर्षमा ९० करोड वटा प्याड उत्पादन गर्न सक्छन्। हाल २० देखि २५ प्रतिशत क्षमता मात्रै चलिरहेका उनले बताए।
'अहिले हामीले वार्षिक २० देखि २५ करोड वटा मात्रै प्याड उत्पादन गर्न सकिरहेका छौं,' उनले भने, '१० देखि १२ प्रतिशत महिलाले मात्रै स्वेदेशी प्याड प्रयोग गर्छन्।'
ठूलो माग धान्न सक्ने भए पनि बजार नहुँदा कम उत्पादन गर्नुपरेको उनी बताउँछन्। उनको कम्पनी हेल्थ एन्ड हाइजिन प्रोडक्टले 'प्याड-डिलक्स' ब्रान्डको प्याड उत्पादन गर्छ। दुइटा मेसिन छन्। तिनले एक मिनेटमा पाँच सय वटा प्याड उत्पादन गर्न सक्छन्। आधा समय मात्रै मेसिन चलाउने हो भने मासिक दुई करोड वटा प्याड उत्पादन हुने लोहाटीले बताए।
'अहिले ठूला उद्योग नै ६ वटा छन्। तिनबाट मात्र महिनामा १२ करोड प्याड उत्पादन गर्न सकिन्छ,' उनले भने, 'क्षमता पनि छ, नेपाली प्याड गुणस्तरीय र सस्तो छ। त्यसैले निर्यात बढ्ने सम्भावना पनि धेरै छ।'
यहाँ सञ्चालित चार वटा स्यानिटरी प्याड उद्योगले नेपाल गुणस्तर चिह्न (एनएस) लिइसकेका छन्। अन्य उद्योग पनि लिने प्रक्रियामा छन्।
स्यानिटरी तथा बेबी डाइपर उत्पादन संघका अध्यक्ष तथा एजी हेल्थ इन्डस्ट्रीका निर्देशक डोलप्रसाद अधिकारी स्वदेशी प्याड कम्पनीले नै नेपाली बजारको माग धान्न सक्ने बताउँछन्। आयातित प्याडसँग प्रतिस्पर्धा मुश्किल भएकैले आफूहरूले निर्यात गर्न थालेको उनले बताए।
उनको उद्योगले 'सगुन' ब्रान्डको प्याड बजारमा पुर्याउँदै आएको छ। अधिकारीका अनुसार पहिले ठूला उद्योग कम हुँदा ९० प्रतिशत उत्पादन यहीँ खपत हुन्थ्यो। अहिले उद्योग बढे, विदेशी प्याड ब्रान्ड पनि थुप्रै भित्रिए। त्यसपछि बजार भेट्न झनै गाह्रो भयो।
नेपाल सरकारले पनि विद्यालयमा निःशुल्क प्याड वितरण गर्ने नीति लिएपछि भने अलि सहज भएको उनी बताउँछन्।
भारतीय बजारमा प्याड निर्यात बढेको खबरसँगै के यो वास्तविक हो भन्ने प्रश्न पनि उठिरहेको छ। उद्योगीहरूले विदेशबाटै प्याड ल्याएर प्याकेजिङ मात्र यहाँको गरेर निर्यात गरेको भन्ने आशंका भएको हो।
उद्योगीहरू यसमा कुनै सत्यता नभएको दाबी गर्छन्।
अझ उद्योगीहरूले प्याड प्याकेजिङ नगरी पठाउने भएकाले यसमा शंका गर्नुपर्ने कुनै ठाउँ नरहेको उनीहरूको भनाइ छ।
'हामीले पिस-पिस पठाउने हो। प्याकेजिङ गरेर पठाउँदैनौं,' अधिकारीले भने, 'यहीँ बजारमा बेच्नेले त्यसो गरेका छन् भने राज्यले अनुगमन गर्नुपर्छ।'
सरकारले कच्चा पदार्थ आयातको भन्सार अझ कम गरिदिए निर्यात थप बढ्ने उद्योगीहरू बताउँछन्।