धेरै पहिला भारत जाँदा सेवन्तीदेवी आलेले रेलभित्रै बिरयानी खाएकी थिइन्।
मासु र चामलमा विभिन्न थरीका मसला राखेर एउटै भाँडोमा पकाएको बिरयानीको स्वाद उनको जिब्रोमै टाँसिएको थियो।
बुटवल उपमहानगरपालिका–११, देवीनगरकी सेवन्तीदेवीले अहिले श्रीमानसँग मिलेर देवीनगरमै चिया-खाजाको होटल चलाएकी छन्। उनको होटलमा बिरयानी पाक्दैन।
एक दिन उनले बुटवलमा बिरयानी पाइने रेस्टुरेन्ट खुलेको थाहा पाइन्। वर्षौं पहिले रेलमा खाएको बिरयानीको स्वादले लोभ्याइरहेको थियो। अब त बुटवलमै खान पाइन्छ भनेर खुसी भइन्। उनले सुनाएको कथा सुनेर नातिनातिनाले पनि बिरयानी खान जाने भन्दै हैरान बनाए। जाने फुर्सद मिलिरहेको थिएन।
गत शनिबार भने श्रीमानलाई होटल जिम्मा लगाएर नातिनातिना र बुहारीलाई लिएर उनी पुगिन् 'हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी' रेस्टुरेन्टमा।
'छोराहरू विदेशबाट आउँदा कहिलेकाहीँ बिरयानी खुवाउँथे। बुटवलमा बिरयानी पाउने ठाउँ खुलेको छ भनेर तीन-चार महिनाअघि सुनेकी थिएँ। आज आउने मौका पर्यो,' उनले खुसी हुँदै भनिन्।
बुटवलकै मैनाबगरकी खुमकुमारी सोमै पनि पहिलोपटक बिरयानी खान आएकी थिइन्।
उनका छोरा पुरन पश्चिम नवलपरासीको सुनवलमा जिम हाउस चलाउँछन्। शनिबार बिदाको दिन घर आएका पुरनले आमा र भाइबहिनीलाई बिरयानी खान ल्याएका थिए।
'बुटवलमा स्वादिलो बिरयानी पाइन्छ भन्ने सुनेका थियौं। कस्तो रहेछ भनेर आज बिदाको दिन परिवारका सबै जना आयौं,' उनले भने।
देवीनगरकै लीला पचभैया एक–डेढ महिनामा सपरिवार बिरयानी खान आउँछिन्। उनले पहिलोपटक यहीँ खाएकी थिइन्।
'यहाँको स्वादिलो बिरयानीले सबैको मन तान्छ,' उनले भनिन्, 'बाबुहरू (छोराहरू) बिरयानी खान जाऊँ भनिरहेका थिए। आज बिदाको दिन पारेर आएकी हुँ।'
बुटवलका बासिन्दालाई हैदराबादी मट्का बिरयानी पस्किने व्यवसायी हुन् रोल्पाका जनक खड्का।
उनका अनुसार यहाँ एकै थालीमा स्वादको विविधता हुन्छ। चामल, मासु र अन्डासहित घिउ, प्याज, जाइफल, दालचिनी, तेजपत्ता, धनियाँ, ल्वाङ, केशर आदिको मिश्रणबाट बिरयानी तयार गरिन्छ। ग्राहकको मागअनुसार मासु वा अन्डा रोज्न वा थपघट गर्न सकिन्छ।
'बिरयानीको लागि सबभन्दा महत्वपूर्ण चाहिँ त्यसमा राखिने मसला नै हो,' उनले भने, 'स्वादिलो बिरयानी बन्न मासु, चामल, घिउ र मसलाको मात्रा मिल्नुपर्छ। यीमध्ये कुन कति बेला राख्ने र कति समय पकाउने भन्ने कुरामा स्वाद भर हुन्छ।'
बियानी बनाउन अधकल्चो हुने गरी भात पकाएझैं चामल पकाइन्छ। यो अधकल्चो भात मसला र मासुसहित माटोको हण्डी (भाँडा) मा राखेर माथिबाट बन्द गरी आगोको रापमा पकाइन्छ। यसरी पकाएपछि 'दम बिरयानी' बन्छ। आगोको राप र घिउतेलको वाफबाट पाक्ने भएकोले यसलाई दम बिरयानी भनिएको जनकले बताए।
जनकको घर रोल्पाको सुनिलस्मृति गाउँपालिका हो। भारतीय सेनाका जागिरे बुबा कलबहादुरसँग दुई वर्षकै उमेरमा उनी हैदराबाद पुगे। कलबहादुरले परिवारजनले चलाउने गरी त्यहीँ एउटा होटल खोलेका थिए।
जनक हैदराबादमै १० कक्षासम्म पढे। आफ्नो होटलमा काम गर्थे। एक दिन भने भागेर अर्काको होटलमा गए र त्यहीँ काम गर्न थाले।
अरूकै होटलमा ६ वर्ष काम गर्दा उनी बिरयानीका पारखी बने। अनेक स्वादमा बिरयानी बनाउन पनि जान्ने भए। त्यसपछि उनले आफ्नै होटल चलाए।
रोल्पा फर्किसकेका बाबु कलबहादुरको २०७६ साल फागुनमा मृत्यु भयो। जनक पनि सपरिवार रोल्पा फर्के। बाबुको काजकिरिया सकिएपछि मधुमेहका रोगी जनक उपचारका लागि बुटवल आए।
उनलाई बिरयानी खाने इच्छा भयो। बुटवलमा केही होटलहरूले बनाउँथे। बिरयानीका पारखी जनकले ११ दिन बुटवल बस्दा ९ दिन बिरयानी मात्रै खाए। तर कहीँ चित्त बुझेन। आफूले पहिले खाएको स्वाद भेटेनन्। भारतको सुनौली नै पुगे। त्यहाँ पनि मनपरेन।
'हामीले बनाउने स्वादको बिरयानी कतै पनि पाएनौं। पकाउनमा केही न केही नमिलेको हुन्थ्यो,' उनले भने, 'मसलाको मात्रा पनि मिलेको पाइएन।'
यसपछि उनले बुटवलमा बिरयानी पाइने होटल खोल्ने विचार गरे। हातमा सिप छँदै थियो। भारतको आफ्नो होटल भाडामा दिए।
'स्वादिष्ट बिरयानी बनाएपछि यति ठूलो बुटवलमा कसो नचल्ला त भन्ने सोचेँ। अमरपथमा घर भाडा लिएर बिरयानी हाउस सुरू गर्यौं,' उनले भने।
जनकले होटल सुरू मात्रै गरेका थिए, कोरोना महामारीका कारण देशभर एकसाथ लकडाउन भयो। बिरयानी बेच्न नपाउने भएपछि होटलमा ताला लगाएर उनी रोल्पा फर्के।
सात महिनापछि होटलको ताला खुल्यो। एक मनले त जनकलाई हैदराबाद नै फर्किऊँ जस्तो पनि भएको थियो। तर अर्को मनले दुई-चार महिना अझै हेरौं भन्ने ठान्यो।
अर्को मनले जित्यो।
व्यापारबिनै सात महिनाको दुई लाख ८० हजार रूपैयाँ एकमुष्ठ घरभाडा बुझाए। लकडाउन पछिको चार महिनामै नाफा सुरू भयो। यसपछि उनले फर्केर हेर्नुपरेन।
हाल यहाँ दैनिक सरदर १७५ किलो मासु र ८० किलो चामलको बिरयानी पाक्छ।
'पहिलो दिन दुई किलो चिकेन र दुई किलो चामलको बिरयानी बनाएका थियौं,' उनले भने, 'अहिले दैनिक पौने दुई क्विन्टल मासु र ८० किलो चामल पाक्छ।'
दुई वर्ष अवधिमा अमरपथमा ग्राहकको चाप धेरै बढ्यो। यो चाप धान्न उनले नेपालगञ्ज रोडमा पनि शाखा खोलेका छन्। यो शाखा खुलेको नौ महिना भयो। दुवै ठाउँमा ग्राहकको भिड लाग्छ।
जनकले सुरूमा भाँडाकुँडा र फर्निचरसहित तीन लाख रूपैयाँ खर्च गरेका थिए। अहिले धेरै सामान थपेका छन्। ग्राहक बस्ने ठाउँ वातानुकूलित छ। कुल लगानी कति भयो भन्ने मिहिन हिसाब राखेका छैनन्।
'सुरूमा आवश्यक सामान किनेपछि यहीँबाट कमाउँदै थप्दै गरेका छौं। राम्रा सामान राखेका छौं। गुणस्तरमा ध्यान दिएका छौं,' उनी भन्छन्।
'हैदराबादी मट्का दम बिरयानी' का दुई वटा होटलमा १४ जना कर्मचारी छन्। व्यवस्थापनको काम परिवारका सदस्यहरूले नै हेर्छन्। बजारतिरको काम जनकको जिम्मामा छ। भान्सा श्रीमती डिला खड्काले सम्हाल्छिन्। क्यास काउन्टर छोरीहरू चन्द्रिका र चन्द्राको हातमा छ।
जुम्ल्याहा चन्द्रिका र चन्द्रा लुम्बिनी वाणिज्य क्याम्पसमा स्नातक तहका विद्यार्थी हुन्। उनीहरू बिहान क्याम्पस जान्छन्। क्याम्पसबाट फर्केपछि राति दस बजेसम्म होटलमै खट्छन्। हालै एसइई दिएर फुर्सद भएकी कान्छी छोरी विष्णुले पनि काम सघाउँछिन्।
जनकका अनुसार दुई वटा होटलमा गरी दैनिक कम्तीमा तीन सय ग्राहक आउँछन्।
यहाँबाट बिरयानी होम डेलिभरी पनि हुन्छ। सालझण्डी, भैरहवा, देवदहसम्म डेलिभरी हुने गरेको उनले बताए।
'दिनमा डेढ एक लाख रूपैयाँसम्मको व्यापार हुन्छ। नाफा पनि निकै राम्रो छ,' जनक भन्छन्, 'घरकै पाँच जना बिहान ५ बजेदेखि राति १० बजेसम्म खट्छौं। हाम्रो मेहनतको पारिश्रमिक पनि जोड्दा कारोबारको ३५ प्रतिशत जति मुनाफा निस्किन्छ होला।'
ग्राहकको रूचिअनुसार यहाँ चिकन बिरयानी, मटन बिरयानी, एग बिरयानी, मट्का चिकन–मटन बिरयानी, चिकन/मटन जम्बो प्याक इत्यादि तयार हुन्छ। आधा प्लेट बिरयानी सामान्यतया एक जनालाई पेटभरि हुन्छ। यसको मूल्य २४० रूपैयाँ छ। कम्तीमा ६ जनालाई पुग्ने मटन जम्बो प्याकलाई दुई हजार २५० रूपैयाँ पर्छ।
'अरू खाजा र खानाभन्दा बिरयानी सस्तो पर्छ,' जनकले भने, 'एक हजार रूपैयाँको बिरयानीले ६ जना अघाउँछन्।'
सस्तो र स्वादिलो हुने भएकाले बिरयानीमा ग्राहकको आकर्षण बढेको उनको भनाइ छ।
'परिवारका सदस्यले चलाएको बिरयानी हाउस हो। यहाँ खान आउने पनि धेरै पारिवारिक सदस्यहरू हुन्छन्,' जनक भन्छन्, 'यहाँ धुमपान र मदिरापान भने पाइँदैन।'
यहाँ जाडोमा मट्का चिया र कफी पाइन्छ भने गर्मीमा मट्का लस्सी। दिनमा सरदर सय किलो दहीको लस्सी बिक्छ। लस्सी मात्र खाने ग्राहकका लागि बस्ने ठाउँ अलग्गै छ।
बिरयानी, चिया र लस्सीका लागि महिनामा दुई ट्रक हण्डी खपत हुन्छ। तुलनात्मक रूपमा धेरै सस्तो पर्ने भएकाले हण्डी भारतको गोरखपुरबाट मगाउँछन्।
यहाँ ग्राहकको मनोरञ्जनका लागि हरेक शुक्रबार 'च्यालेन्ज अफर' पनि हुन्छ। यसमा एक हजार चार सय रूपैयाँ मूल्यको एक मट्का बिरयानी दस मिनेटमा खाइसक्नेले पाँच हजार रूपैयाँ पुरस्कार पाउँछ। जित्नेले बिरयानीको पैसा पनि तिर्नु पर्दैन। हार्नेले भने तिर्नुपर्छ।
यो च्यालेन्जमा हालसम्म आठ जनाले पुरस्कार जितेका छन्। शनिबार आएका ग्राहकले 'म च्यालेन्ज दिन्छु' भन्न पनि पाउँछन्।
महिला मात्र सहभागी हुने गरी अलग्गै च्यालेन्ज अफर पनि छ। यसमा ७५० रूपैयाँको बिरयानी दस मिनेटमा खाइसक्नु पर्छ। जित्नेले तीन हजार रूपैयाँ पुरस्कार पाउँछ।
यसरी छोटो समयमै बुटवलमा जनकले बिरयानीको व्यापार स्थापित गरेका छन्।
'यति छिट्टै यसरी चलाउन सकिएला भन्ने लागेको थिएन तर निकै राम्रो भएको छ। हाम्रा ग्राहकहरू खुसी हुनुहुन्छ। स्टाफ पनि खुसी छन्,' उनले भने।