उद्योगीहरूले बंगलादेशमा धागो निर्यात गर्ने तयारी गरेका छन्।
बंगलादेशी सरकारले बंगलाबन्ध सुख्खा बन्दरगाहबाट धागो निर्यात गर्न अनुमति दिएसँगै उद्योगीले धागो पठाउने तयारी गरेका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बंगलादेशले नेपाललाई धागो निर्यात गर्नसक्ने बेहोरा पठाएको छ। उक्त विषयसँग सम्बन्धित निर्णय बंगलादेशी सरकारले राजपत्रमा समेत सूचना प्रकाशित गरिसकेको छ।
पहिलो चरणमा परीक्षणका रूपमा दस हजार किलो धागो पठाउन लागेको नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले बताए।
'हामीले परीक्षणका रूपमा १० टन धागो पठाउने तयारी गरिरहेका छौं,' रिलायन्स स्पिनिङ मिल्सका अध्यक्ष समेत रहेका गोल्यानले भने, 'एक महिनाभित्रमा पठाउँछौं।'
उनका अनुसार बंगाबन्ध बन्दरगाहबाट नियमित भए वार्षिक तीन/चार अर्ब रूपैयाँ बराबरको धागो निर्यात गर्न सकिनेछ।
अहिले नेपाली धागो टर्की र भारतमा निर्यात हुन्छ। पछिल्लो समय ती देशमा धागोको माग कम भएकाले बंगलादेशमा पठाउन पाए उद्योगीलाई राहत मिल्ने उनको भनाइ छ।
बंगलादेशले आफ्नै उत्पादन प्रवर्द्धन गर्ने भन्दै धागो आयात रोकेको थियो। नेपाली धागो २०५८ सालदेखि नै निर्यात भएको थिएन। धेरै वर्ष अघिदेखि नेपालले धागो निर्यात खुलाउन आग्रह गरिरहेको थियो। २०७५ चैतमा बल्ल बंगलादेशको राष्ट्रिय राजस्व बोर्डले नेपाली धागो निर्यात अनुमति दिएको थियो।
त्यही निर्णयअनुसार नेपालले बंगलादेशको बेनापोल भूमि र चटगाउँ बन्दरगाहबाट धागो निर्यात गर्न पाएको थियो। तर ती बन्दरगाहबाट महँगो पर्ने भएकाले उद्योगीहरूले पठाउन नसकेको नेपाल धागो उत्पादक संघका सचिव उत्तम गौतमले बताए।
'त्यहाँबाट कोलकाता हुँदै पठाउनुपर्ने भएकाले हाम्रो लागत बढ्थ्यो। त्यसैले पठाउन सकिएको थिएन,' गौतमले भने, 'अब सिधै काकडभिट्टा हुँदै पठाउन पाइने भएको छ। लागत सस्तो पर्छ।'
लागत सस्तो पर्दा भारतीय र चिनियाँ धागोसँग प्रतिस्पर्धा गर्न सकिने उनी बताउँछन्।
नेपालमा हाल निजी स्तरका रिलायन्स, त्रिवेणी, जगदम्बा र जय स्पिनिङ मिल्स गरी चारवटा धागो उद्योग सञ्चालनमा छन्। सरकारी स्वामित्वको बुटवल धागो उद्योग बन्द छ।
उत्पादक संघका अनुसार चालु अवस्थाका चार उद्योगको कुल पुँजी करिब १५ अर्ब रूपैयाँभन्दा बढी छ। यी उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब १० हजारलाई रोजगारी दिएका छन्।
चार उद्योगले वार्षिक रूपमा ५० हजार टन धागो उत्पादन गरिरहेका छन्। यिनले पोलिस्टर, भिस्कस, एक्रेलिक, सिन्थेटिक लगायत धागो उत्पादन गर्छन्। नेपाली धागोको मुख्य प्रयोग सुटिङ–सर्टिङ, स्कुल ड्रेस, स्विटर, अरू खाले तयारी पोसाक, टोपी, पञ्जा, मोजा लगायतमा हुँदै आएको छ।
यहाँबाट निर्यात हुने धागोबाट बनेका सुटिङ–सर्टिङ र अन्य कपडा नेपालमै पनि भित्रिने गरेका छन्। नेपालमा तयारी कपडा बनाउने कारखाना भए धागोको ठूलो हिस्सा स्वदेशमै खपत गर्न सकिने व्यवसायीहरूले बताउँदै आएका छन्।
चार धागो उत्पादकमध्ये निकासीमा सबभन्दा ठूलो हिस्सा सुनसरी, इटहरीको रिलायन्स स्पिनिङ मिल्सले ओगट्छ। यसको स्थापना गोल्यान समूह र एमएस समूहको संयुक्त लगानीमा सन् १९९५ मा भएको हो।
सुरूमा वार्षिक ७/८ हजार टन धागो उत्पादन गर्ने रिलायन्सले कुल उत्पादनको ८० प्रतिशत भारत निर्यात गर्थ्यो। बंगलादेशमा भइरहेको निर्यात भने रोकियो। त्यसको केही समयमै टर्कीबाट माग आउन थालेको हो।
'हुन त बेलायत र खाडी देशहरूमा पनि निर्यात हुन्छ, तर भारत र टर्कीले जति नेपाली धागोको बजार अन्य देशले लिएको छैन,' गोल्यानले भने।
अहिले रिलायन्स उद्योगले मात्र वार्षिक २०/२१ हजार टन धागो उत्पादन गर्दै आएको छ। रिलायन्सपछि क्रमशः त्रिवेणी, जगदम्बा र जय स्पिनिङ मिल्स सञ्चालनमा आएका हुन्। निकासी फस्टाउँदै गएपछि थप लागत प्रतिस्पर्धी बन्न धागो उत्पादकहरूले सरकारबाट केही सहुलियत माग गरेका छन्।
खासगरी, बिजुली महसुल, ब्याज र नयाँ मेसिन झिकाउँदा पार्टपुर्जामा लाग्ने भन्सार सहुलियत दिनुपर्नेमा उद्योगीको जोड छ। सरकारले धागो निर्यात गरेबापत उद्योगीलाई सहुलियत पनि दिँदै आएको छ।
'धागो र कपडा उद्योगको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ। जबसम्म नेपाली कपडा उद्योग विकास हुँदैन, तबसम्म नेपाली धागो उद्योग विकास हुन सक्दैन,' गोल्यानले भने, 'कपडाको न्यून बिजकीकरण र चोरी पैठारी नरोकिएसम्म नेपालमा उत्पादित धागो नेपालमै खपत गर्न गाह्रो छ।'
अवैध रूपमा भित्रिएका कपडाले नेपाली कपडा उद्योगमा समस्या परेको उनले बताए।