ललितपुरको चापागाउँ दोबाटो चोकमै देखिन्छ विभिन्न थरीका हस्तकलाका सामग्री राखिएको एउटा ठूलो घर।
नाम राखिएको छ– 'उद्यमी घर'।
चारतले घरका दुईवटा तला हस्तकला र घरेलु उत्पादनले भरिएका छन्। कम्तीमा तीन दर्जन प्रकारका सामान पाइने पसल हो यो। बाँकी दुई तलामा उद्यमी घरको कार्यालय छ।
यहाँ गाउँघरका स्रोतसाधनबाट तयार पारिएका उपयोगी सामान किन्न पाइने उद्यमी घरका सञ्चालक दीपक कार्की बताउँछन्।
'साना उद्यमीले उत्पादन गरेका सबै प्रकारका सामग्री एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले उद्यमी घर खोलिएको हो,' उनले भने।
यहाँ ढाका, पश्मिना, सिस्नो, गाँजा (हेम्प), केरा, बाँसको रेसा र रेशम (सिल्क) बाट बनेका लुगा पाइन्छ। साडी, कुर्तासुरूवाल, लेहेंगा, दौरासुरूवाल, कोट र जातीय–सांस्कृतिक वेशभूषाका तयारी लुगादेखि तन्ना र रूमालसम्म। पास्नी र बिहेका लागि खास किसिमका पोसाक पनि उपलब्ध छन्।
'आजभोलि शुभकार्यमा परिवारका सदस्यहरूले खास डिजाइनमा एकै प्रकारका लुगा लगाउने चलन आएको छ। ग्राहकको मागअनुसार हामीले यस्ता लुगा राखेका छौं,' दीपकले भने।
उद्यमी घरमा मखमल, ढाका, गाँजा र अल्लोबाट बनेका जुत्ताचप्पल, ब्याग र पर्स/वालेट पाइन्छ। बच्चाका लागि बाँसबाट बनेका खेलौना मोटरसाइकल र गुडिया उपलब्ध छ। गरगहना, सजावटका सामग्री, राडीपाखी, गलैंचा र काष्ठकलाका अनेक सामग्री छन्। बाँस, निगालो र बेतबाट बनेका कुर्सी, मुडा र अन्य उपयोगी सामग्री पनि उद्यमी घरमा पाइन्छ। फोटो फ्रेम, मायाको चिनो, सम्मानपत्र, प्रमाणपत्र, शिल्ड लगायतको काम पनि हुन्छ।
दीपकका अनुसार दुई वर्षको तयारीमा उद्यमी घर सुरू भएको हो। व्यापार सुरू भएको आठ महिना मात्र भयो।
व्यवसाय सुरू भए पनि औपचारिक उद्घाटन गर्न बाँकी छ। यही चैतमा एक्स्पो (प्रदर्शनी) सहित उद्यमी घरको औपचारिक उद्घाटन गर्ने तयारी हुँदैछ।
'अहिले सामान थप गर्ने काम चलिरहेको छ। नयाँ उद्यमी पनि थपिँदै छन्,' दीपकले भने, 'सबै सामान समेटेर तीन–चार दिनको एक्स्पो गर्छौं। त्यही बेला उद्यमी घरको उद्घाटन पनि गर्छौं।'
बिक्री खुला गर्नुअघि दीपकले उद्यमी घरको पसलका लागि उपयुक्त डिजाइन गरेका थिए। यसपछि उद्यमीका सामान राखे। उनलाई नेपाली उत्पादन खोज्न धेरै भौंतारिन परेन। पहिले आफूले तालिम दिएका उद्यमीहरूका सामान ल्याएर राखे। विस्तारै नयाँ उद्यमीहरू जोडिन आए।
दीपक करिब २० वर्षअघिदेखि विभिन्न गैरसरकारी संघसंस्थामा आबद्ध थिए। संस्थामा संलग्न रहँदा जीविकोपार्जन, उद्यमशीलता, आयआर्जन, महिला सशक्तीकरण र युवा रोजगारीका क्षेत्रमा काम गरे। ती संस्थामार्फत धेरै जनालाई उद्यमसम्बन्धी तालिम दिए।
'देशका ४२ वटा जिल्लामा पुगेर उद्यमशीलता तालिम दिएको छु,' उनले भने।
तालिम दिने संस्थाले उत्पादनको बजारीकरणका लागि उत्पादकलाई व्यवसायीसँग जोडिदिन्थे। उद्यमीका केही सामान व्यवसायीहरूले किन्थे। केही सामान यसै रहन्थे।
'तालिम दिने निकाय धेरै छन् तर बजारीकरणमा कुनै निकायको चासो छैन,' दीपकले भने, 'स्वदेशी उत्पादन खेर गएको र विदेशी सामानले स्वदेशी बजार ढाकेको देखेर मलाई नेपाली उद्यमीका सामान बेच्ने सोच आयो।'
यही सोचअनुसार उनले उद्यमी घर सुरू गरेका हुन्। आफ्नो समेत संलग्नतामा तालिम दिएका दुई सय उद्यमीका उत्पादन आफूले राखेको उनले बताए। हाल करिब ५० जिल्लाका उद्यमी जोडिएका छन्।
'तालिम दिने काम त धेरैले गर्छन्। तर तालिम दिएर मात्रै हुँदैन। उद्यमीले उत्पादन गरेका सामान बिक्री पनि हुनुपर्छ,' दीपक भन्छन्।
उद्यमी घरको उद्देश्य उद्यमीहरूको यही आवश्यकता पूरा गर्ने हो। सामान बिक्री हुन सके मात्रै उद्यमशीलता विकास हुन्छ।
दीपकका अनुसार उद्यमीहरूले उद्यमी घरलाई बेचेको सामानको भुक्तानी तत्कालै पाउँछन्।
'हामीसँग भुक्तानीमा समस्या छैन। सामान बेचेर पैसा दिऊँला भन्दैनौं,' उनले भने, 'सामान लिनासाथ एकै पटक पूरै पैसा दिन्छौं। उद्यमीले ल्याएको सबै सामान किन्छौं।'
उचित मूल्यमा सामान पाइने भएकाले उद्यमी घरमा ग्राहकको आकर्षण बढ्दो रहेको उनको भनाइ छ।
यहाँ सामान किन्न विदेशी पर्यटकहरू पनि आउने गरेका छन्। दीपकका अनुसार नेपाली सामानका लागि विदेशबाट पनि माग आउने गरेको छ। अमेरिका, जर्मनी र अन्य केही देशमा सामान पठाएका छन्। नियमित रूपमा निर्यात गर्ने योजना बनाइरहेको उनले बताए।
'नेपाली उत्पादन भनेर धेरैले बढी मूल्य राख्ने गर्छन्। हामी त्यस्तो गर्दैनौं। उत्पादक र ग्राहक दुवैले लाभ पाउँछन्,' उनले भने।
अब चाँडै कृषि उत्पादन र विभिन्न जातजातिका मुख्य खाद्य परिकार पनि राख्ने तयारी छ।
उद्यमी घरमा दीपक एक्लैको दुई करोड रूपैयाँ लगानी छ। हाल १० जनाले रोजगारी पाएका छन्।
हाल उद्यमी घरको एउटा मात्रै पसल छ। ग्राहकको मागअनुसार अरू खोल्ने योजना दीपकले बनाएका छन्। ग्राहकहरूले उद्यमी घरको सामान इ–कमर्स प्लेटफर्म दराजमार्फत मगाउन सक्छन्।
उद्यमी घरले आफ्नै इ–कमर्स प्लेटफर्म पनि बनाउँदै छ।
'उद्यमी घरलाई देशभरका मौलिक सामान पाइने हबका रूपमा विकास गर्ने चाहना हो,' दीपक भन्छन्, 'यसबाट ग्रामीण क्षेत्रमा उद्यमशीलता बढ्ने विश्वास छ।'