चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुरू भएको पेट्रोलियम अनुसन्धानको काम तीव्र गतिमा अगाडि बढ्न सकेको छैन। आवश्यक पूर्वाधार नबन्दा पेट्रोलियम अनुसन्धान अघि बढ्न नसकेको हो।
अनुसन्धानका निम्ति ड्रिलिङ गर्नुपर्ने हुन्छ। यसमा चाहिने उपकरण अनुसन्धान स्थलसम्म लैजानुपर्छ। त्यसका लागि बाटो र जग्गा आवश्यक हुन्छ। गत माघ २३ को मन्त्रिपरिषद बैठकले जग्गा प्राप्तिको स्वीकृति दिइसकेको छ। उक्त निर्णयसँगै दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरेर अनुसन्धान गर्न बाटो खुलेको हो। तर बजेट विनियोजन नहुँदा खानी तथा भूगर्भ विभागका प्राविधिक त्यहाँ पुग्न सकेका छैनन्।
सुर्खेत–वीरेन्द्रनगरबाट पादुकास्थानसम्म पुग्न ३५ देखि ४० किलोमिटर सडक छ। उक्त सडक स्तरोन्नति नगरी आवश्यक उपकरण लैजान सकिँदैन। सडक स्तरोन्नति गर्ने काम केन्द्र सरकारअन्तर्गतको सुर्खेत डिभिजन कार्यालय र कर्णाली प्रदेशको हो। तर बजेटै विनियोजन नभएकाले सडक स्तरोन्नति नभएको सुर्खेत डिभिजन कार्यालयका सूचना अधिकारी इञ्जिनियर टोपनारायण अधिकारीले बताए।
उनका अनुसार आवश्यक बजेट अनुमान गरी खानी तथा भूगर्भ विभागलाई पठाइसकिएको छ। बजेट प्राप्त भएपछि सडक बनाउन ठेक्का लगाइने छ।
'बजेट आएपछि सडक बनाउन ठेक्का लगाउँछौं,' उनले भने।
बजेट पठाउन अर्थ मन्त्रालयसँग छलफल भइरहेको पेट्रोलियम परियोजना अन्वेषण प्रमुख दिनेशकुमार नापितले बताए। उनका अनुसार शीर्षक परिवर्तन गरेर बजेट पठाउन अर्थ मन्त्रालयको स्वीकृति चाहिन्छ। उद्योग मन्त्रालयबाट चालु आर्थिक वर्षमा औद्योगिक पहुँच सडक निर्माण शीर्षकमा विनियोजन भएको बजेट सडक सुर्खेत, डिभिजन कार्यालयलाई पठाउन अर्थलाई पत्र पठाइएको छ।
कर्णाली प्रदेशअन्तर्गतको सडक बनाउन भने समस्या परेको उनले बताए।
'हाइवे सडक डिभिजन कार्यालयले बनाउँछ। त्यो काम अर्थले स्वीकृति दिएपछि अगाडि बढ्छ,' उनले भने, 'भित्री बाटो कर्णाली प्रदेशले बनाउने हो। त्यहाँ समस्या परेको छ।'
सांघेताराबाट चामुन्डा विन्द्रासैनीसम्म रहेको (अनुमानित ६ किलोमिटर) सडकमध्ये साढे दुई किलोमिटर सडक बनाउन समस्या परेको भौतिक पूर्वाधार मन्त्रालय, कर्णाली प्रदेशअन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय–दैलेख प्रमुख इञ्जिनियर प्रभाकरप्रसाद सिंह बताउँछन्।
'त्यो सडकमा बस्ती, स्कुल र मठमन्दिर छन्। हामीले यसबारे मुख्यमन्त्री र मन्त्रालयलाई जानकारी गराएका छौं,' उनले भने, 'छलफल हुँदैछ।'
बस्ती हटेर सडक बनाउन आवश्यक बजेट विनियोजन भए आफूहरूले सडक बनाइदिने उनले बताए।
अन्वेषण प्रमुख नापितका अनुसार अनुसन्धानका लागि चिनियाँ पक्ष नेपाल आउन उत्साहित छन्। उनीहरूले पूर्वाधार कहिले बन्छ भनेर आफूहरूलाई सोधिरहेको उनले बताए।
'चिनियाँहरू हामीलाई पूर्वाधार कहिले बन्छ भनेर सोधिरहेका छन्, हामीले भन्न सकिरहेका छैनौं,' उनले भने।
पेट्रोलियम अन्वेषणको काम अघि बढाउन असारमा सात जना चिनियाँहरू नेपाल आएका थिए। उनीहरूको टोलीले दैलेखमा ड्रिलिङ उपकरण लैजान सकिने/नसकिने, खर्च के–कति लाग्ने भन्ने विषयमा अध्ययन गरेर फर्किएको थियो। बर्खा सकिएपछि अन्वेषणका लागि पुनः आउने बताए पनि पूर्वाधार नबनेकाले आउन सकेका छैनन्।
दैलेखको पादुकास्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुअरी २८ मा सम्झौता भएको थियो। सम्झौताअनुसार गत फेब्रुअरी २८ मा उक्त सम्झौता सकिएको थियो। असारमा अन्वषेणका लागि चिनियाँसँग थप दुई वर्षको समयावधि थपिएको हो।
सुरूआतमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भएको थियो। हालसम्म पहिलो चरणको काम सकिएको छ। पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका छन्।
अध्ययन गर्दा चार सय वर्ग किलोमिटर क्षेत्रफलमा पेट्रोलियम पदार्थ हुनसक्ने अनुमान छ। त्यसमध्ये पनि सबैभन्दा बढी पेट्रोलियम पदार्थ हुने तीन ठाउँ पत्ता लागिसकेको छ। यी तीनमध्ये पनि बढी सम्भावित एक ठाउँ छ। त्यहाँ चार किलोमिटर गहिरोसम्म ड्रिलिङ गर्ने काम कोरोना महामारीका कारण रोकिएको थियो। करिब दुई वर्षदेखि यो काम स्थगित छ।
छिट्टै ड्रिलिङ सकिए पेट्रोलियम पदार्थको मात्रा थाहा पाउन सकिन्छ। अन्वेषण टोलीले जमिनको एक्स–रे गरेर ड्रिल गर्न सकिने सजिलो ठाउँ पत्ता लगाइसकेको छ। यति गर्दा पनि पेट्रोलियम पदार्थको भण्डार भेटिएन भने काम अघि बढ्दैन र अहिलेसम्मको सबै मेहनत खेर जान्छ।
उत्पादन कम हुने र खर्च बढी लाग्ने अवस्थामा उत्पादन गरिँदैन। नेपालमै पेट्रोलियम पदार्थ उत्पादन गर्दा अहिलेको बजार मूल्यभन्दा सस्तो भए मात्रै त्यो फाइदाजनक हुन्छ।
'ड्रिल गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ,' खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद डा. गणेशनाथ त्रिपाठीले भने, 'खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुन्छ। त्यसपछि मात्रै उत्पादन गर्ने कि नगर्ने भन्ने निर्णय हुन्छ। भण्डार ठूलो रहेछ भने मात्रै उत्पादन हुन्छ।'
तेल उत्पादन भने भूगर्भ विभागले गर्दैन। यसले पेट्रोलियम पदार्थको मात्रा मात्र पत्ता लगाउने हो। सरकारले कुनै अन्य कम्पनी वा संस्थालाई उत्पादनको जिम्मेवारी दिन्छ।
नेपाल सरकार, खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेको संयुक्त टोलीले उक्त अनुसन्धान गरिरहेको छ। लामो समयदेखि खोलाको पानीमा तेलजस्तो चिल्लो पदार्थ तैरिएको भेटिएपछि त्यो तेल हुनसक्ने भन्दै अनुसन्धान थालिएको हो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक चीन भ्रमण जाँदा चीन सरकारलाई अनुसन्धानका लागि आग्रह गरेका थिए।
पेट्रोलियम पदार्थको अन्वेषणका लागि यो नेपालमा भएको पहिलो अध्ययन भने होइन। यसअघि २०४५ सालमा मोरङ बाहुनीमा पेट्रोल खानी खोजी गरिएको थियो। त्यति बेला सेल ट्राइटा कम्पनीले साढे तीन किलोमिटर गहिराइसम्म खन्दा पनि पेट्रोलियम पदार्थ नभेटिएपछि खोजी बन्द भएको थियो।
विश्वभरि नै पेट्रोलियम पदार्थ भएको अनुमान गरिएको थोरै ठाउँमा मात्रै भेटिने गरेको छ। अनुमानित ठाउँमा दस प्रतिशत मात्रै पेट्रोलियम पदार्थ पाइएको अन्तर्राष्ट्रिय अनुभव छन्। भूगर्भ विभागका महानिर्देशक सुधिर रजौरे पनि विश्वभरि नै अनुमान गरिएका ८ देखि १० प्रतिशत मात्रै ठाउँमा पेट्रोलियम पदार्थ पाइने बताउँछन्।
दैलेखमा तेल भेटिनेमा भने उनी आशावादी छन्। कार्यालयमै राखिएको दैलेखको आधा भाँडो कच्चा तेल देखाउँदै त्यहाँ पेट्रोलियम पदार्थ पाइने आधार बलियो भएको उनले दाबी गरे।
भारतको आसाम र पाकिस्तानका केही क्षेत्रमा तेल भेटिएको बताउँदै रजौरेले उस्तै भौगर्भिक संरचना भएकाले नेपालको दैलेखमा पनि तेलको ठूलै भण्डार हुन सक्ने बताए। नेपालको चुरे तथा तराइको सीमा क्षेत्रमा तेलको भण्डार बढी हुन सक्ने उनको अनुमान छ।
'पानीमा पेट्रोलियम पदार्थ तैरिरहेको अवस्थामा भेटिएको थियो। आगोको ज्वाला पनि प्राकृतिक रूपमै बलिरहेको थियो। त्यसैले त्यहाँ पेट्रोलियम पदार्थ भएको पुष्टि हुन्छ,' उनले भने, 'त्यहाँको चट्टानको संरचना हेर्दा पनि पेट्रोलियम पदार्थ भएको अनुमान लगाउन सकिन्छ।'
उनका अनुसार चट्टानबीचमा पर्ने चापले मात्रै पेट्रोलियम पदार्थ बन्छ। विशेषगरी पेट्रोलियम पदार्थ पृथ्वीको सतहमा रहेका सुक्ष्म वनस्पति तथा जीवहरू जमिनमुनि पुरिएर बन्ने हो। जमिनमुनि चाप वा दबाव र लामो समयसम्म हुने रासायनिक प्रतिक्रियाले वनस्पति र जीवहरू पत्रे चट्टानमा परिणत हुन्छन्।
पत्रे चट्टानमा संकलित जैविक पदार्थ ९० देखि १७५ डिग्री सेल्सियस तापक्रम र उच्च दबावका कारण लाखौं वर्षपछि जैविक र रासायनिक प्रतिक्रियाका कारण पेट्रोलियम पदार्थमा परिणत हुन्छ। नेपाल पनि त्यो सम्भावना रहेकाले पेट्रोलियम पदार्थ पाइने अनुमान बढेको रजैरेको भनाइ छ।
दैलेखमा पेट्रोलियम पदार्थ पाइने आधार भए पनि यति नै मात्रामा छ भन्ने पुष्टि भएको छैन। पछिल्लो समय नेपालमा सबभन्दा बढी आयात हुने वस्तु भने पेट्रोलियम पदार्थ नै हो।