कोरोना भाइरसले हरेक क्षेत्रमा आतंक सिर्जना गर्यो। सँगै व्यवसायमा नयाँ अवसर र सम्भावनाका ढोका पनि खोल्यो।
त्यस्तै अवसरमध्ये एक हो होटल-रेस्टुरेन्टमा पाकेका परिकार घर–कार्यालयसम्म पुर्याइदिने। कोरोनाअघिसम्म यो काम गर्ने कम्पनी निकै कम थिए। ग्राहकहरू पनि सकेसम्म होटल-रेस्टुरेन्टमै धाएर खान रूचाउँथे।
कोरोनाले यो दृश्य फेरिदिएको छ। ग्राहकको मागअनुसारको होटल-रेस्टुरेन्टबाट खानेकुरा लिएर भनेकै ठाउँमा पुर्याइदिने व्यवसाय अचेल निकै फस्टाएको छ। दिनमा मात्र होइन, रातमा पनि यस्ता कम्पनीले सेवा दिन थालेका छन्।
चौबिसै घन्टा यस्तै सेवा दिनेमध्ये एक हो डब्लुएल फुड डेलिभरी कम्पनी।
२०७७ भदौमा खुलेको यो कम्पनी ६ जना युवाले मिलेर चलाइरहेका छन्। उनीहरूमध्ये चार जना; मिलन कट्टेल, संज्ञान कार्की, अमितकुमार कर्ण र गिप्सन ढकाल पढाइका सिलसिलामा रूस पुगेका छन्। बाँकी दुई जना; रवीन कट्टेल र गौतम फुँयाल काठमाडौंमै बसेर कम्पनी हाँकिरहेका छन्।
रवीन भन्छन्, 'कोभिड सुरू हुनुअघि यस्ता कम्पनी निकै कम थिए। हामीले सेवा सुरू गर्नुअघि पनि धेरै फुड डेलिभरी कम्पनी थिएनन्। बढ्दो माग र बजारमा अझै आवश्यकता महशुस गरेर हामी पनि थपियौं।’
कतिपयलाई कामको व्यस्तताका कारण घरमा पकाएर खाने वा होटल–रेस्टुरेन्ट पुग्ने समय पनि हुँदैन। मानिसहरूको व्यस्त जीवनशैलीलाई डब्लुएलले सहजीकरण गर्ने उनको भनाइ छ।
त्यस्तै बाहिरबाट रातको समयमा काठमाडौं आइपुग्नेलाई पनि कम्पनीले लक्षित गरेको उनले बताए। राति आइपुग्दा कतिपयलाई आफैं पकाएर खान जाँगर चल्दैन। प्रायः होटल-रेस्टुरेन्ट बन्द भइसकेका हुन्छन्। भोक त लाग्छ नै।
'यस्तो बेलामा हामी खानेकुरा लिएर भनेको ठाउँमै पुग्नेछौं,' कम्पनीका प्रमुख कार्यकारी निर्देशक (सिइओ) समेत रहेका रवीनले भने।
कम्पनीले काठमाडौं, ललितपुर र भक्तपुरभित्र सेवा दिइरहेको छ। हाल तीन सयभन्दा बढी होटल तथा रेस्टुरेन्टका विभिन्न परिकार घर तथा कार्यालयसम्म पुर्याइरहेको उनले जानकारी दिए। धेरैजसो मानिस हरेक दिन फरक स्वाद रूचाउने हुन्छन्। यही रूचि मनन गरेर सकेसम्म धेरै होटल–रेस्टुरेन्टसँग समन्वय गरेका हुन्।
उनका अनुसार सेवाग्राही संख्या दिनदिनै बढ्दै गएको छ। कम्पनीको एप, फेसबुक, इन्स्टाग्राम, भाइबर, ट्विटर, इमेल ह्वाट्सएप, वेबसाइटमार्फत् वा फोन गरेर खाना मगाउन सकिन्छ। एप जिपिएस प्रणालीमा आधारित छ। त्यसैले ग्राहकले खोजेको होटल–रेस्टुरेन्ट भएको ठाउँबाट पाँच किलोमिटर आसपासबाट मात्रै खानेकुरा अर्डर गर्न सकिन्छ।
हाल डब्लुएलको एप डाउनलोड एन्ड्रोइडमा २० हजार नाघेको छ, आइओएसमा ५ हजार छ। एपबाहेक अरू माध्यमबाट पाँच किलोमिटरभन्दा टाढाबाट अर्डर आउँछ।
डब्लुएलले दैनिक करिब दुई सय जनालाई सेवा दिइरहेको रवीनले बताए।
सहरी क्षेत्रमा ‘नाइट लाइफ’ संस्कृति बढ्दो छ। जन्मोत्सव मनाउँदा होओस् वा साथीहरूको जमघट, यस्ता बेलामा पनि मानिसहरू तयारी खानेकुरा अर्डर गर्न थालेका छन्। केही समयअघि मात्र विश्वकप चलिरहँदा राति खानाको थुप्रै माग आएको उनी बताउँछन्।
कम्पनीले नजिकको दुरीमा ३० मिनेट र टाढा भए एक घन्टाभित्र खानेकुरा पुर्याइसक्ने उनको भनाइ छ।
'खाना तयार हुन पनि समय लाग्छ। बनिसकेपछि नजिकैको दुरीमा त ५-१० मिनेटमै पुर्याउँछौं। टाढा भए पनि आधा, एक घन्टाभित्र पुर्याउछौं। जतिसक्दो खानेकुरा तातै पुर्याउने हाम्रो लक्ष्य हो,’ उनले भने।
प्रायः रातिको अर्डर दिउँसोको समयमा भन्दा चाँडो पुर्याउन सकिन्छ। दिउँसो ट्राफिक जामका कारण कहिलेकाहीँ केही ढिलो हुन सक्ने उनले बताए।
डब्लुएलले सुरूमा दैनिक ८ घन्टा मात्र सेवा दिन्थ्यो। कोभिड महामारीका बेला अस्पतालमा खटिने स्वास्थ्यकर्मी, बिरामी तथा बिरामी कुरूवाहरू प्रमुख सेवाग्राही थिए। कोरोना सामान्य हुँदै जाँदा ग्राहक पनि फेरिँदै गए।
कार्य व्यस्तताले चाहेजस्तो खाना खान रेस्टुरेन्ट जान नभ्याउनेले घर तथा कार्यालयमै अर्डर गर्न थाले। काम गर्दै जाँदा कम्पनीले चौबिसै घन्टा खानेकुरा पुर्याउने सेवा सुरू गरेको हो। अचेल कार्यालयमा राति अबेरसम्म काम गर्नेहरूले पनि नियमित अर्डर गर्छन्।
पछिल्लो समय फुड डेलिभरी कम्पनीबीच पनि प्रतिस्पर्धा बढेको छ। दिउँसो होओस् वा राति, खाना डेलिभरी गर्ने कम्पनी थपिइरहेका छन्। तर यीमध्ये धेरैको सेवा क्षेत्र सीमित भएको रवीन बताउँछन्।
'अरूले सीमित होटल-रेस्टुरेन्टको खानेकुरा मात्र पुर्याउँछन्,' उनले भने, ‘मानिसको जिब्रोलाई सधैं एउटै स्वादको वा एकै ठाउँको खानेकुरा मन नपर्न सक्छ। त्यसैले हामीले फरक–फरक होटल-रेस्टुरेन्टका परिकार पुर्याउँछौं।’
राति पनि पन्ध्र वटाभन्दा बढी होटल-रेस्टुरेन्टका खानेकुरा पुर्याउने गरेको उनले बताए।
ग्राहकहरूको रोजाइका आधारमा स्वस्थकर र स्वादिला खानेकुरा पाइने ठाउँका खानेकुरा पुर्याउने दाबी रवीनको छ।
‘कसैलाई महँगै भए पनि खास रेस्टुरेन्टकै परिकार खाऊँ भन्ने हुन्छ। कसैलाई अलि सस्तो खाऊँ भन्ने पनि होला। हामी त्यहीअनुसार खानेकुरा पुर्याउँछौं,’ उनले भने।
डब्लुएलले खानेकुरा पुर्याउँदाको शुल्क सुरूमा ८० रूपैयाँ लिन्थ्यो। हाल बढेको छ। एपबाट अर्डर गर्दा दिउँसो सय रूपैयाँ र राति १५० रूपैयाँ लाग्छ। अरू माध्यमबाट अर्डर गर्दा भने दिउँसो पनि १५० रूपैयाँ नै लाग्छ।
रवीनका अनुसार डब्लुएल सञ्चालन गर्दा दुई करोड रूपैयाँ लगानी भएको छ। लगानी उठिसकेको छैन तर सेवाग्राही बढ्दै जाँदा सन्तुष्टि नै छ। कम्पनीमा हाल ४० जना कर्मचारी छन्। १९ जना चालकले खानेकुरा डेलिभरी गर्छन्।
डब्लुएलको सेवा जोखिमरहित छैन। कहिलेकाहीँ राति खाना अर्डर गरेर ग्राहकले फोन अफ, ब्लक गर्ने जस्ता समस्याले हैरान बनाउँछ।
‘खाना अर्डरपछि कतिपयको मोबाइल अफ हुन्छ। यस्तो किन भयो भनेर हामी पछि बुझिरहेका हुन्छौं। कसैले नियतवस अर्डर गरेर फोन अफ गरेको पायौं। कसैको भने अर्डर गरिसकेपछि बाटैमा फोन हराएको पनि थाहा पायौं,’ उनले भने।
समस्याका बाबजुद डब्लुएल दौडिरहेको छ। कम्पनीले यसअघि झापामा पनि सेवा सुरू गरेको थियो। तर प्राविधिक समस्याका कारण सेवा रोकिएको रवीनले बताए। अब आउँदो वैशाखदेखि सुरू गर्ने योजना छ। झापासँगै इटहरी, विराटनगर र चितवनमा पनि विस्तार गर्ने सोचेका छन्।