विद्युत प्राधिकरणले विद्युत कटौती गर्दा सिमेन्ट र स्टिल उद्योग मारमा परेका छन्।
प्राधिकरणले उद्योगहरूलाई समय तोकेर विद्युत नचलाउन मौखिक निर्देशन दिएको अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाले बताए।
विस्तारै बजार खुलेका बेला प्राधिकरणले अघोषित रूपमा लोडसेडिङ गर्दा उद्योग थप समस्यामा पर्ने उनको भनाइ छ।
'बल्ल बजार चलायमान हुन थालेको छ। यही बेला प्राधिकरण उद्योग बन्द गर भन्छ,' उनले भने, 'हामी त समस्यामा पर्यौं।'
उनका अनुसार प्राधिकरणले उद्योगीहरूलाई बिहान ७ बजे देखि ११ र बेलुका ५ देखि १० बजेसम्म गरी ९ घन्टा उद्योग नचलाउन मौखिक निर्देशन दिएको छ। लिखित रूपमा भने कुनै निर्देशन नआएको उद्योगी मुरारका बताउँछन्।
प्राधिकरणले सो समयमा उद्योग नचलाउनुका साथै उद्योगमा बत्ती समेत नबाल्न निर्देशन दिएको उनको भनाइ छ।
सिमेन्ट उद्योग बन्द गर्न नमिल्ने भएकाले प्राधिकरणसँग विद्युत कटौती नगरी दिन आग्रह गरेको पनि मुरारकाले बताए।
'हामीले सरकारलाई सहयोग नगरेको होइन। तर सिमेन्ट तथा स्टिल उद्योग बन्द गर्न मिल्दैन,' उनले भने, 'सरकारले पनि हाम्रो समस्या बुझिदिनुपर्यो।'
मुरारकाका अनुसार सिमेन्ट उत्पादन गर्ने भट्टीलाई २४ सै घन्टा तताउनु (हिटिङमा राख्नुपरेन तताउनु) गरिरहनुपर्ने हुन्छ।
पछिल्लो केही वर्षयतादेखि लोडसेडिङ नभएकाले जेनेरेटरको व्यवस्था पनि नरहेको मुरारका बताउँछन्।
'लोडसेडिङ हुन छोडेपछि जेनेरेटरको आवश्यकता परेको छैन,' उनले भने, 'प्राधिकरणले पहिल्यै सूचना दिएको भए हामी जेनेरेटर मर्मत गरेर राख्थ्यौं।'
उक्त अघोषित लोडसेडिङ कति दिनसम्म हो भन्नेबारे आफूहरूलाई केही जानकारी नभएको मुरारकाको भनाइ छ।
प्राधिकरणले अघोषित रूपमा लोडसेडिङ गर्दा लागत मूल्य बढ्ने लक्ष्मी स्टिलका प्रोडक्सन म्यानेजर सुरेन्द्र तिवारी बताउँछन्।
उनका अनुसार जेनेरेटरबाट उद्योग चलाउँदा प्रतियुनिट २९ रूपैयाँ खर्च हुन आउँछ। सरकारी दरमा प्रति युनिट ८ देखि ९ रूपैयाँ खर्च हुन्छ। एक युनिट बत्तीबाट एक किलो वस्तु उत्पादन हुन्छ।
प्राधिकरणले पहिल्यै सूचना दिएको भए आफूहरू सामान अर्डर पनि नलिने उनको भनाइ छ।
'पहिल्यै सूचना दिएको भए हामी अर्डर लिन्न थियौं। अर्डर लिएपछि सामान बनाएर त दिनै पर्यो,' उनले भने।
अन्य उद्योगमा जस्तो स्टिल उद्योगमा मन लागेका बेला प्लान्ट बन्द गर्न नमिल्ने उनी बताउँछन्।
'स्टिल उद्योग चल्दाचल्दै बीचमा बन्द गर्नु भनेको आधा खाना पकाउनु जस्तै हो,' उनले भने, 'भट्टीमा सामान बनिरहेको हुन्छ, बीचमा बन्द गर्दा त्यो सामान नै काम लाग्दैन।'
प्राधिकरणले भने भारतको बिहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा ठूला उद्योगमा बिजुली कटौती गर्नुपरेको बताएको छ। ८० देखि एक सय मेगावाटसम्म बिजुली अपुग भएपछि ठूलो उद्योगको पिकआवरको लोड काट्नुपरेको प्राधिकरणको भनाइ छ।
सोमबार दिउँसोदेखि बिहारको विद्युत आपूर्ति प्रणालीमा प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा देखिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए।
उनका अनुसार बिहारको विद्युत प्रणालीमा समस्या देखिएपछि रक्सौल–रामनगरबाट बिजुली आपूर्ति रोकिएको हो। त्यहाँबाट १३ सय ३० मेगावाटको जेनेरेटरबाट विद्युत आपूर्ति भइरहेको थियो।
'रक्सौल–रामनगरबाट नेपालले करिब तीन हजार मेगावाट घन्टा बराबर बिजुली लिइरहेको थियो। यो रोकिँदा ठूला उद्योगहरूमा पिक आवरमा बिजुली कटौती गर्नुपर्ने अवस्था आएको हो,' उनले भने।
मझौला र साना उद्योगमा भने विद्युत आपूर्ति भइरहेको प्राधिकरणले बताएको छ।
ठूला उद्योगमा साँझ र बिहानको 'पिक' समयमा आठदेखि नौ घन्टा विद्युत कटौती गर्नुपरेको भट्टराईको भनाइ छ।
भारतीय पक्षले मर्मतसम्भारका अझै करिब चार दिन जति समय लाग्ने बताएको प्राधिकरणको भनाइ छ।
प्राधिकरणका अनुसार अहिले नेपालको कुल विद्युत माग करिब ३१ हजार एक सय ७७ मेगावाट घन्टँ बराबर छ। उक्त माग पूर्ति गर्न प्राधिकरण तथा उसका सहायक कम्पनीमार्फत करिब ११ हजार मेगावाट घन्टा र निजी क्षेत्रबाट १० हजार चार सय मेगावाट घन्टा बिजुली आपूर्ति भइरहेको छ।
त्यस्तै अहिले नौ हजार दुई सय ७४ मेगावाट घन्टा बिजुली भारतबाट आयात भइरहेको छ।