हाम्रोमा वर्षौंदेखि जरा गाडेर बसेको समस्या हो– फोहोर र मल।
फोहोरको व्यवस्थापन र मलको व्यवस्था चुनौतीपूर्ण छ। यो चुनौती कम गर्न सघाउ पुर्याउँदै छ रिकिसी कम्पोस्ट कम्पनीले।
विगत साढे चार वर्षदेखि रिकिसीले फोहोरबाट कम्पोस्ट मल बनाउँदै आएको छ। यसले जापानी विधिबाट मल बनाउने गरेको अध्यक्ष उषा गिरी बताउँछिन्।
'हामीले जापानी विधिबाट तोकोजाइ बनाउँछौं। यसैलाई अन्य चिजमा मिसाएर कम्पोस्ट मल बनाउने हो,' उनले भनिन्।
उनका अनुसार तोकोजाइलाई फोहोर, गोबर, सुली र माटोसँग मिसाएर मल तयार पारिन्छ।
मल बनाउने तोकोजाइ कसरी बन्छ?
तोकोजाइ खरानीजस्तो धूलो हुन्छ। यसलाई एनबिएम प्रविधि; सी–कार्बन, एन–नाइट्रोजन, बी–ब्याक्टेरिया र एम–मिनरलबाट बनाइन्छ। भुसमा कार्बन, ढुटोमा नाइट्रोजन, रूखका पात (सोत्तर) मा राम्रा ब्याक्टेरिया र रातोमाटोमा मिनरल तत्व पाइन्छ।
भुस, ढुटो, सोत्तर, रातोमाटो र रिकिसीले जापानी विधिमा बनाएको ब्याक्टेरिया मिसाएर राखेपछि २४ देखि ४८ घन्टामा तापक्रम बढ्दै जान्छ। ६० देखि ७० डिग्री तापक्रममा यसमा भएका अनावश्यक ब्याक्टेरिया मर्छन्। अनि ६ देखि ७ दिनमा तोकोजाइ तयार हुन्छ। ७० डिग्री तापक्रमभन्दा माथि भयो भने चाहिँ आवश्यक ब्याक्टेरिया पनि मर्ने गिरीले बताइन्।
यसरी बनेको तोकोजाइलाई फोहोर वा मल बनाउन मिल्ने जेमा मिसाए पनि हुन्छ।
रिकिसीले व्यापारिक घराना साखः समूहसँग सहकार्य गरेर तोकोजाइ बनाउँछ। तोकोजाइ बनाउन आवश्यक सबै सामग्री साखः ले व्यवस्था गर्छ। त्यसपछि रिकिसीको समूहले ब्याक्टेरिया लगेर तोकोजाइ बनाउने अध्यक्ष गिरीले बताइन्।
तोकोजाइ बनाउने स्रोतसाधन अभाव भएकाले रिकिसीलाई साखः सँगको सहकार्यले सहज भएको छ।
रिकिसीले स्थानीय तहहरूलाई कम्पोस्ट मल बनाउन आग्रह गर्दै आएको छ। मल बनाउने ठाउँ र तोकोजाइ मिसाउने फोहोर पालिकाले नै उपलब्ध गराइदिनु पर्छ। कम्पनीलाई यो कामवापत् तोकिएको शुल्क पनि तिर्नुपर्छ। त्यसपछि कम्पनीले त्यही तोकोजाइ हालेर नगनाउने र सरकारको मापदण्डअनुसारको मल बनाइदिने अध्यक्ष गिरीले बताइन्।
'पहिलो चरणमा फोहोरमा तोकोजाइ मिसाउँछौं। त्यसको ७ देखि १० दिनमा दोस्रो चरणको काम हुन्छ। मापदण्डअनुसार के नपुग छ, जाँच गरेर थप गर्छौं,' उनले भनिन्।
गिरीका अनुसार अहिले थिमि, भक्तपुर, पाँचखाल, दूधौली, जनकपुर लगायत नगरपालिकाले फोहोरमा तोकोजाइ हालेर कम्पोस्ट मल बनाइरहेका छन्।
'स्थानीय तहले यसरी मल बनाउने हो भने फोहोरको समस्या समाधान हुन्छ,' उनले भनिन्।
पालिकाहरूले यो मल आफ्नो क्षेत्रका किसानलाई किलोको १६ देखि २० रूपैयाँमा बेचिरहेका उनले जानकारी दिइन्। स्थानीय तहहरूले संकलित कुहिने फोहोरबाट यस्तो मल बनाउने भएकाले लागत धेरै कम हुने उनको भनाइ छ।
यसरी मल नबनाउने अरू पालिकाका किसानले यो मल पाउँदैनन् त?
पाउँछन्। र, यो मल साखः समूहले बेच्छ।
रिकिसीसँगको सहकार्यमा बनाएको तोकोजाइ गोबरमा मिसाएर साखःले मल बनाउन थालेको छ। सिन्धुलीको दूधौली नगरपालिका–७ मा करिब डेढ महिनादेखि कम्पोस्ट मल बनाउन सुरू गरेको हो।
तोकोजाइ बनाउने चाहिने सबै कच्चा पदार्थ साखः ले स्थानीयस्तरबाटै संकलन गर्छ। गोबर धेरै चाहिने भएकाले किसानसँग किन्छ।
समूहका अध्यक्ष किरण साखः मल अभावको समस्या समाधानमा सघाउ पुर्याउने उद्देश्यले उत्पादनमा लागेको बताउँछन्।
उनका अनुसार समूहले मल उत्पादनका लागि ६० वटा टहरा बनाएको छ। गोबरबाट उत्पादन गरिएको पाँच सय टन कम्पोस्ट मल यही माघसम्म तयार हुनेछ। त्यसपछि बजारमा बेच्न सुरू गरिने छ।
यो मल बजारमा किलोको ३५ रूपैयाँमा पाइने उनले बताए। बजार मागअनुसार यसलाई सर्वसुलभ बनाइने छ।
विषादीरहित मल भएकाले यसले राम्रो बजार पाउने आशा उनको छ।
'मलका लागि धेरै फर्म हाउसबाट माग आएको छ,' उनले भने, 'नबिक्ने कुरै छैन। मलमा चाहिने सबै तत्व सरकारी मापदण्डअनुसार हुन्छ। किसानले प्रयोग गर्न डराउनु पर्दैन।'
उनका अनुसार यो मल बालीमा प्रयोग गर्दा माटो खुकुलो बनाउँछ। जराले अक्सिजन लिन पाउँछ। उर्बरशक्ति बढाउन सहयोग पुग्छ।
विभिन्न पालिकाहरूमा यो मल उत्पादनको परीक्षण गरेर राम्रो नतिजा आएपछि साखःले उत्पादन थालेको हो। सरकारले यस्तो मलमा लगानी गर्ने हो भने वर्षैपिच्छे हुने अभाव समाधान हुने उनको भनाइ छ।
'यसमा लगानी गर्दा किसानले सस्तोमा सहजै मल पाउँछन्। पैसा विदेसिनबाट पनि बच्छ,' उनले भने।