आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको दिन अन्तर्राष्ट्रिय उडानको तयारी गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ वर्षको पहिलो दिन वैशाख १ गते परीक्षण उडान हुने भएको छ।
नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि परीक्षण उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए।
प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलर र अन्य प्राविधिकहरूलाई अष्ट्रियाको भियना र एरो थाईका प्राविधिकहरूले परीक्षण उडानको लागि उपकरण सञ्चालनसम्बन्धी तालिम दिइसकेका छन्।
निगमको जहाजबाट परीक्षण उडान सकिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई नियमित उडानका लागि प्रस्ताव आह्वान गर्नेछ। यसअघि थाइल्याण्डको एरो थाई कम्पनीले फागुन ६ गतेदेखि १० दिनसम्म यान्त्रिक परीक्षण उडान गरेपछि झण्डै एक दर्जन विदेशी वायुसेवा कम्पनीहरूले उडानको लागि चासो देखाएका छन्।
सरकारले हवाई सेवा कम्पनीलाई औपचारिक रूपमै भैरहवाबाट व्यवसायिक उडानका लागि आग्रह गरेपछि कुवेतको जजिरा एयरलायन्सले सबैभन्दा पहिला सिधा उडानका लागि प्रस्ताव गरेको थियो।
भैरहवाबाट कुवेतमा सिधा उडान भर्न जजिराले अनुमति मागेको र व्यवसायिक उडानको योजना र तयारीमा कुनै समस्या नआए हप्ताको सातै दिन उडान भर्ने प्राधिकरणले जनाएको छ।
त्यस्तै, नेपाल वायुसेवा, श्रीलंकन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बीच र ओमन एयरले चासो देखाएका छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीलाई पहिलो ६ महिना ल्याण्डिङ र पार्किङ शुल्कमा शतप्रतिशत र दोस्रो ६ महिनामा ५० प्रतिशत छुट दिने योजना प्राधिकरणको छ।
७३ वर्षअघि २००६ सालदेखि सुरू गरिएको देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो बन्दै गएपछि त्यसको विकल्पको रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अगाडि बढाइएको हो।
२००६ सालमा हिमालयन एभिएसनको डाकोटा विमानले पहिलोपल्ट नेपालबाट कलकत्ताको लागि उडान भरे पनि २०२८ सालदेखि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायिक रूपबाट प्रयोगमा आएको नेपाली हवाई इतिहास छ।
ठेक्का सम्झौता गर्दा निर्माण सुरू गरेको तीन वर्षमा निर्माण सम्पन्न गर्ने भनिए पनि २०७१ सालमा शिलान्यास गरिएको यो विमानस्थल ७ वर्षपछि मात्रै निर्माण सम्पन्न भएको हो।
भौतिक पूर्वाधार निर्माण र प्राविधिक उपकरण जडानको काम गरी दुई चरणमा निर्माण गरिएको विमानस्थलका लागि एसियाली विकास बैंकले ऋण अनुदान उपलब्ध गराएको हो।
आयोजना प्रमुख इञ्जिनियर प्रवेश अधिकारीका अनुसार आइसिबी वान अन्तर्गत ६ अर्ब ८२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँमा भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न गरिएको हो।
चिनियाँ निर्माण कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँमा आइसिबी वान अन्तर्गतको कामको ठेक्का सम्झौता गरेको थियो।
तर जहाज उडान र अवतरणको लागि आवश्यक भिजिविलिटीका थप काम समेत आइसिबी वान अन्तर्गत नै राखिएपछि २०७५ साल मंसिरमा कस्ट भेरियसन गर्दा ६० करोड रकम थप गरिएको अधिकारीले जानकारी दिए।
आइसिबी वानअन्तर्गत तीन हजार मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग, धावन मार्ग र जहाज पार्किङ क्षेत्र जोड्ने चार वटा लिंक, पाँच वटासम्म ठूला जहाज पार्किङ गर्नसक्ने क्षमताको पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्यांकी, तारवार, नाला, ५ सयभन्दा बढी कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युत जडान र टर्मिनल विल्डिङको उपकरणसहितको काम समेत समेटिएको थियो।
त्यस्तै, आइसिबी टु अन्तर्गत ५० करोड लागतमा मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने लगायतका उपकरण जडान र परीक्षणको काम सम्पन्न भएको छ।
थाइल्याण्डको एरो थाई कम्पनीले जिम्मा लिएको आइसिबी टु अन्तर्गतको सबै काम समेत सम्पन्न गरी यान्त्रिक परीक्षण समेत सम्पन्न भइसकेको छ।
आइसिबी टु अन्तर्गत जहाजको उडान र अवतरणका लागि आवश्यक उपकरण जडान, जहाजको स्थिति, लोकेसन र सञ्चार, सञ्चार उपकरण, एचएफ सिस्टम, अटोमेटिक वेदर अब्जर्भेसन सिस्टम लगायतका सबै काम गरी यान्त्रिक परीक्षणको काम समेत गरिएको आइसिबी टु का परियोजना व्यवस्थापक प्रविन न्यौपानेले बताए।
न्यौपानेका अनुसार विमानस्थलमा जडान गरिएका सबै उपकरण अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड र अस्ट्रियाबाट ल्याइएको थियो।
यीसँगै विमानस्थलको पश्चिमतर्फ ९० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी कार्गो भवन समेत निर्माण गरिएको छ।
यस्तै, विमानस्थल निर्माणको लागि जग्गा अधिग्रहण गर्दा २२ अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरणमै लगानी भएको छ।
विमानस्थल निर्माणको लागि विमानस्थल आसपासका करिब २३ सय घरधुरीलाई सरकारले मुआब्जा दिएर जग्गा अधिग्रहण गरेको थियो।
सबै चरणका काम सम्पन्न गर्दा यो विमानस्थलमा सरकारले ३० अर्बभन्दा बढी लगानी गरेको छ। जसमा नेपाल सरकारको ३७ दशमलव ४ र एसियाली विकास बैंकको ६२ दशमलव ६ प्रतिशत लगानी छ।
२०२३ सालमा भारत सरकारको सहयोगमा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलको क्षेत्रफल २०६१ सालसम्म जम्मा ८४ बिगाहा ३ कठ्ठा थियो। अहिले आइपुग्दा यसको क्षेत्रफल १० हजार ५ सय रोपनी पुगेको छ। जुन अहिले रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा धेरै क्षेत्रफल हो।
आयोजना प्रमुख अधिकारी अहिले निर्माण गरिएको विमानस्थलको भौतिक पूर्वाधारले आगामी ५० वर्षसम्मको अन्तर्राष्ट्रियस्तरको उडान र अवतरणलाई थेग्ने गरी निर्माण गरिएको बताउँछन्।
अब भैरहवाबाटै बोइङ ७७७, एयर बस ३३० सम्मका जहाज सहजै उडान र अवतरण गर्न सक्ने उनले बताए।
यसअघि आन्तरिक उडानको लागि रहेको १ हजार ५ सय ५० वर्गफिटको टर्मिनल भवनलाई १५ हजार वर्गफिटमा परिणत गरिएको छ। यहाभित्र प्रतिघण्टा एकसाथ करिब ४ सय ५० जना यात्रु सेवा लिन सक्ने छन्।
विमानस्थलको विस्तार स्तरोन्नतिसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन लागेपछि यस क्षेत्रका लगानीकर्ता र सर्वसाधारण खुसी छन्।
विमानस्थलको निर्माण सम्पन्न हुँदै गर्दा विमानस्थललाई नै लक्षित गरी व्यवसायीहरूले पाँचतारे होटल, हाउजिङ र डिपार्टमेन्टल स्टोर्सहरूमा लगानी गरिरहेका छन्।
भैरहवा र लुम्बिनीको क्षेत्रमा मात्रै होइन, विमानस्थललाई लक्षित गरेर नवलपरासी, बुटवल, कपिलवस्तु क्षेत्रमा समेत लगानी बढ्दै गएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताए।
‘कोभिड महामारीका कारण झण्डै साढे दुई वर्षसम्म सुस्ताएको यो क्षेत्रको व्यापार व्यवसाय विमानस्थलको सञ्चालनले माथि उकासिने हाम्रो अपेक्षा छ,’ उनले भने।
विश्वका बौद्धमार्गीहरूको आस्थाको केन्द्र विश्वशान्तिको मुहान लुम्बिनीलाई केन्द्रमा राखेर सञ्चालन हुन लागेको विमानस्थलले यो क्षेत्रको पर्यटन उद्योग बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ।
सिद्धार्थ होटल संघ नेपाल भैरहवाका महासचिव रवीन्द्र शर्मा घिमिरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने सरकारी तयारीसँगै लुम्बिनी प्रदेशकै बासिन्दा र लगानीकर्ता विमानस्थलको व्यवसायिक उडानको प्रतीक्षामा रहेको बताउँछन्।
विमानस्थललाई नै हेरेर लुम्बिनी आसपासमा होटलमा लगानी गर्ने क्रम बढेको छ।
घिमिरेका अनुसार भैरहवा-लुम्बिनी क्षेत्रमा मात्रै पछिल्लो समय ७ वटा पाँचतारे होटल निर्माण भइरहेका छन्। तीमध्ये दुइटा सञ्चालनमा आइसकेका छन् भने अरू निर्माण भइरहेका छन्।
पछिल्लो आठ वर्षमा मात्रै चार दर्जन बढी चारतारे होटल निर्माण भएका छन्।
भैरहवाबाट अन्तर्राष्ट्रिय रूपमा उडान सुरू भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण, भन्सार, अध्यागमन, मौसम, क्यारेन्टाइन, नेपाल आयल निगम लगायतमा संस्थामा १ हजारभन्दा बढीको रोजगारी बढ्ने छ। त्यसको फाइदा यस क्षेत्रका उद्योग, पर्यटन, कृषि, पशुपालन लगायतका क्षेत्रले पनि लिनेछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै कारणवश समस्या देखिँदा घण्टौंसम्म आकाशमै जहाजलाई होल्ड गर्नुपर्ने र अवतरण हुन नसकेर अन्य मुलुकमा लैजानुपर्ने बाध्यता गौतमबुद्ध विमानस्थलको सञ्चालनले हट्ने विश्वास गरिएको छ।
अत्याधुनिक र हाई भिजिबिलिटी क्षमताका उपकरण जडान गरिएकोले रातिको समयमा समेत यहाँ विमानहरू सहजै अवतरण गर्न सक्ने विमानस्थल आयोजनाले जनाएको छ।
विमानस्थलका अनुसार, विमान अवतरणका लागि कम्तीमा १ हजार ५ सय मिटरको भिजिबिलिटी आवश्यक पर्नेमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ६ सय मिटरमै अवतरण गर्न सकिने गरी उपकरण जडान गरिएको छ।
२०७९ को सुरूआतसँगै सञ्चालन हुने विमानस्थलबाट सुरूमा दैनिक १० वटा र सन् २०३३ सम्म दैनिक ६० वटा अन्तर्राष्ट्रिय उडान भर्ने सरकारले लक्ष्य लिएको छ।