हरि र सन्दिप दुई वर्षअघिसम्म दुवईको एउटा होटलमा कुक थिए।
गुल्मी मजुवाका हरी पौडेल र सन्दिप थापा नेपालमा होटल म्यानेजमेन्ट पढेर काम गर्न दुवई गएका हुन्।
होटलमा हरिले म:म बनाउँथे सन्दिपले पिज्जा।
नेपालका होटल तथा रेष्टुरेन्टमा भेज र ननभेज खाजा सेट खाएका उनीहरूले दुवईमा मकैका परिकारहरू अर्डर गर्ने धेरै देखे।
उनीहरू काम गर्ने होटलमा केरा, आलुसँगै मकैको म:म धेरै जान्थ्यो। मकैको म:म मन पराउने अझ धेरै थिए।
त्यो देखेर उनीहरू अचम्म पर्थे।
दिनभरी होटलको भान्सामा म:म र पिज्जा बनाउन व्यस्त हुने उनीहरू कोठामा गएपछि आफूहरूले खोल्ने रेष्टुरेन्टबारे सपना बुन्थे।
अर्गानिक परिकारको रेष्टुरेन्ट चलाउने भनेर उनीहरूले योजना बनेको त्यहीँ हो।
रेष्टुरेन्ट चलाउन योजना बुनेर मात्र हुँदैनथ्यो लगानीको लागि उनीहरूसँग पैसा थिएन। आफ्नो रेष्टुरेन्ट खोल्ने पैसा कमाउन दुवईमा खुब मिहिनेत गरे।
उनीहरूले त्यहाँ २ वर्ष बिताए।
२०७२ सालमा दुवई गएका उनिहरू २०७४ सालमा फर्किए।
मकैका परिकारकै रेष्टुरेन्ट चलाउने पक्का गरि आएका थिए।
अहिले उनीहरूले भैरहवामा एउटा होईन दुई वटा रेष्टुरेन्ट चलाएका छन्।
भैरहवाको आवारोडमा सञ्चालित रेष्टुरेन्टमा भेज, ननभेज सबै परिकारका खाजा बनाउँछन्।
हिमालीपथमा रहेको ‘थाक्रो मकैघरमा’ सुपदेखि पिज्जासमेत मकैबाट बनाउने गर्छन्।
हरिका अनुसार उनीहरूको थाक्रो मकैघरमा मकैको सुप, म:म, चटपट, डोसा, पिज्जा, बर्गर, समोसा, बटुक, परौठालगायतका परिकारहरू पाइन्छ।
दुवईबाट फर्किएपछि उनीहरू पोखरा पुगे। नेपालमै काम गरेर अनुभव बटुल्न उनीहरू चाहन्थे। त्यसमाथि ग्राहकको माग र चाहना बुझ्नु थियो।
२०७६ सालमा रेष्टुरेन्ट चलाउन सुरू गरे।
पहिले भैरहवाको हिमाली रोडमा ओपन हाउस थकाली भान्सा घर सुरू गरे। एक वर्षअघि भने भैरहवामै अर्को रेष्टुरेन्ट खोलेका हुन्।
हिमालीरोडमा थकाली भान्साघर चलाएका उनीहरूले आवारोडमा (थाक्रो मकै घर) रेष्टुरेन्ट चलाएका छन्।
थकाली भान्सा घरमा कच्ची घरसँगै फ्रिज, टेबल कूर्चि र भाँडाहरूमै ६ लाख रूपैयाँ लगानी गरेका उनीहरूले मकैघरमा भने थकाली भान्साघरकै आम्दानी लगाएका छन्।
‘सुरूको रेष्टुरेन्टमा ६ लाख जति लगानी भएको थियो, मकै घरमा भने पहिलो रेष्टुरेन्टको कमाई लगाउन सकियो,’ हरिले भने।
मकै घर खोल्नुअघि आफूहरूले बेच्न लागेका परिकार ग्राहकले नरूचाउलान् कि भन्ने धुकचुक उनीहरूको मनमा थियो।
२०७७ सालको असोज १ गतेदेखि रेस्टुरेन्ट खोल्ने योजनामा उनीहरू थिए। तर सोह्रश्राद्ध त्यहीँ दिन सकिनु र मलमास भोलिपल्टदेखि सुरू हुँदै थियो। यो समयमा शुभकार्य सुरू गर्न मिल्दैन भन्ने मान्यता रहेछ।
‘हामीहरूले उपाय लगायौं, सोह्र श्राद्ध सकिएर मलमास नलाग्दैको बीचको २ घण्टाको समयमा मकै घर सुरू गर्यौं,' हरिले भने ‘असोज १ गते साँझ ५ बजे पहिलेको रेष्टुरेन्टबाट दुई वटा टेबल र चारवटा कूर्ची लग्यौं, सटरमाथि बोर्ड झुण्ड्याएर मःमः बनाउन सुरू गर्यौं।’
५ बजेदेखि ८ बजेसम्म तीन घण्टा मात्रै खोलेको रेष्टुरेन्टमा उनीहरूले ५ हजारको मकै म:म विक्री गरेका थिए।
‘रेष्टुरेन्ट खुल्दैछ भनेर वरिपरिका कसैलाई पनि थाहा थिएन, हामीले बोर्ड झुण्ड्याएर म:म बनाउन थालेपछि बाटो हिँड्नेहरू के रहेछ भन्दै आउँदै खान थाल्नु भयो,’ हरिले भने।
पहिलो दिन तीन घण्टा मात्र खोलेको रेष्टुरेन्टमा दोस्रो दिनदेखि भने बिहानैदेखि खाजा र सुप खान आउनेहरूको संख्या बढ्यो।
पहिलो रेष्टुरेन्टको लागि प्रचारप्रसार गर्न आफैं कस्सिएका उनीहरूलाई थाक्रो मकैघरको भने प्रचारप्रसार नै गर्नुपरेन।
‘नयाँ परिकार भएकोले होला, जो खान आउनुहुन्छ उहाँहरूले नै फेसबुकमा खाजाहरूको पोष्ट गर्न थाल्नुभयो, यहाँ खान आउने एक जनाले अर्कोलाई, अर्कोले अर्कोलाई भन्न थालेपछि आफैँ प्रचारप्रसार भयो,’ हरिले भने।
कोभिडको दोस्रो लहरमा डेढ महिना जति लकडाउनले प्रभावित पारे पनि अरू समय दैनिक १७ देखि २५ हजार सम्मको परिकार बिक्री हुने सन्दिप बताउँछन्।
‘आज व्यापार नै भएन भन्ने दिन पनि साँझ काउण्टरमा हिसाब गर्दा ९/१० हजारको त बिक्री भएकै हुन्छ, कुनै दिन २५ हजारसम्म पनि बिक्री हुन्छ धेरैजसो भने १४-१७ हजारको बिक्री हुन्छ।
दुवईमा मकैको १ सय ५ थरि परिकार बनाउने उनीहरू यहाँ भने १२-१५ परिकार बनाउँछन्। उनीहरूको रेष्टुरेन्टमा धेरै बिक्री हुने भनेको मकैको चटपटे, म:म र सुप नै हो।
चिल्ली, पिज्जा, बर्गर, स्याण्डविच, समोसा, मकै र दाल मिसाएर बनाएको बटुक पनि राम्रै बिक्री हुन्छ।
पिज्जाको बेस उनीहरूले मैदा र मकैको पिठो मिसाएर बनाउने गर्छन्।
‘पिज्जामा हामी हरियो मकै बिच्छाएर त्यसमाथि चिज राखिदिन्छौं ग्राहकलाई मन परिरहेको छ। बर्गर र स्याण्डबीच भने ग्राहकले धेरै माग गर्नुहुन्न,’ सन्दिपले भने।
परिकार बनाउन मकै उसिनेर निस्किएको पानीलाई उनिहरू सुप बनाउँछन्। रेष्टुरेन्टमा पुग्ने जो कोहीलाई पनि त्यहीँ तातो सुप दिएर स्वागत गर्छन्।
त्यहाँ जाने जसले पनि पेटभरी सुप खान पाउँछन्, उनीहरू त्यसको पैसा लिँदैनन्।
‘जाडो समयमा त एकैजनाले आठ दश ग्लाससम्म सुप खानुहुन्छ, शरीरबाट पसिनाले निथ्रुक्क भिजेपछि बल्ल पुग्यो भन्नुहुन्छ, गर्मी याममा पनि सुप मन पराएको देखेर हामीलाई आनन्द लाग्छ,’ हरिले भने।
उनीहरू सानैदेखि मकैका परिकार खाएरै हुर्किए। पहाडी क्षेत्रको मुख्य खाद्यान्न बाली पनि मकै भएकोले यसलाई ब्राण्ड बनाउन आफूहरू कस्सिएको उनीहरू बताउँछन्।
‘मकैका परिकारको बिक्री बढाउन सके नेपालमा मकैको उत्पादनसँगै खपत पनि बढ्छ, मकैको महत्व नबुझेकोले नै अहिले पहाडका खेतियोग्य जमिन बाँझिएका छन्,’ सन्दिपले भने।
अहिले दिनमा १२-१५ किलोसम्म हरियो मकैको परिकार बिक्री हुने सन्दिपले बताए।
‘८-१० किलो मकै त म:मको लागि किमा बनाउँदै सकिन्छ, बाँकी अरू परिकारमा खपत हुन्छ,’ उनले भने।
उनीहरू चितवनबाटै उसिनेर फ्रिज गरिएको हरियो मकै ल्याउने गर्छन्।
ग्राहकलाई मकैका परिकारबारे बुझाउन सुरूका केही दिन समय लागे पनि अहिले भने बुझाउन सकिएको उनीहरूको अनुभव छ। यहाँ आएर एकपटक खाजा खाएर गएकाहरू फेरि पनि खान आउने गर्छन्।
बुटवलबाट गाडी लिएर परिवारसहित नै मकैका परिकार खान जाने गरेको उनीहरू बताउँछन्।
वर्थ डे, एनिभर्सरीजस्ता पार्टीहरूमा घरमै पनि खाजा अर्डर गर्ने क्रम बढेको सन्दिपले बताए।
‘अझै पनि मकैको परिकार भन्ने वित्तिकै कि त मकैको आटो वा पोलेको, उसिनेको, भुटेको मकै भन्ने बुझाई छ, उनले भने ‘मकैबाट चटपटे, म:म, पिज्जा पनि बन्छ भन्ने बुझ्नुभएको छैन। हामी मकैका तिनै परिकारबारे बुझाउने प्रयासमै छौं।’
गाउँमा साँधेजस्तै उसिनेको मकैमा काक्रा, मुला, गाजर, प्याज, हरियो खुर्सानी, धनिया र कागती निचोरेर चटपटे बनाउँछन्।
मकैको परिकारलाई नै ब्राण्ड बनाउन खोजिरहेका उनिहरू पछिल्लो समय खाजा खोज्दै आउनेहरूलाई अन्यत्र पठाउन नपरोस् भनेर भेज म:म पनि बनाउन थालेका छन्।
‘दुई जना आएका छन् भने एक जनालाई मकैको परिकार मन नपर्न सक्छ, भेज म:म बनाएपछि दुवै जनालाई यहीँ राख्न सकियो,' सन्दिपले भने।
पहिलो पटक आउनेले सुरूमा पनिर र भेज म:म अर्डर गरे पनि मकैको म:म चाख्न दिएपछि अर्कोपटक अर्डर परिवर्तन गर्ने गरेको उनले बताए।
दुई वटै रेष्टुरेन्टमा बराबर लगानी गरेका उनीहरू रेष्टुरेन्टको जिम्मेवारी पनि बराबर लिएका छन्।
थकाली भान्सा घर हरिले हेर्छन् भने मकै घर सन्दिपले हेर्छन्। दुई वटै रेष्टुरेन्टमा दुई दुई जना सहयोगी राखेका छन्।
तर रेष्टुरेन्टमा पाइने खाजा भने दुवै जना मिलेर बनाउने गर्छन्।
'सहयोगीको भरमा छोड्ने हो भने स्वाद फेरिन सक्छ, अर्को कुरा काम गर्नेहरू त अस्थायी हुन्। आज छन् भोलि अन्यत्र जान सक्छन्। यहाँ छोडेर गएपछि अर्को कहाँ खोज्ने? त्यसैले पनि खानेकुराहरू हामी आफैं बनाउँछौं,’ उनले भने।
एउटै सटरमा रेष्टुरेन्ट चलाएका उनीहरूले परिकारमा राख्ने मसलाहरू पनि आफैंले तयार गर्छन्। बजारमा पाइने धुलो मसला बास्नादार भए पनि आफूहरूले बनाएको भन्दा कम स्वादिलो र महंगो समेत हुने उनले बताए।
‘बजारमा किन्दा १ हजार रूपैयाँ पर्ने मसला हामीले बनाउँदा ६ सय रूपैयाँमै तयार हुन्छ, स्वादिलो र स्वस्थकर मात्र होईन सस्तो पनि पर्छ,’ सन्दिपले भने।
आफूहरूको रेष्टुरेन्टमा गर्भवती महिला, बालबालिका तथा प्रौढ अवस्थाका व्यक्तिहरू समेत जाने भएकोले अजिनोमोटो समेत प्रयोग नगर्ने उनीहरूले बताए।
‘मकै अर्गानिक उत्पादन हो, अर्गानिक उत्पादनमा मसला पनि किन आफैं बनाएर प्रयोग नगर्ने भन्ने लाग्यो, फेरि यहाँ खान आउनेहरू केटाकेटी, बुढाबुढीदेखि गर्भवती महिलासम्म हुनुहुन्छ,' उनले भने, 'बजारबाट ल्याईएको मसलामा के को मात्रा कति छ भन्ने थाहा हुँदैन प्रेसर, सुगर बढाउन सक्छ, हामीले मात्रा मिलाएर बनाउँछौं।’
परिकारसँगै मसला बनाउन पनि उनीहरूले दुवईमै सिकेका थिए रे।
मकै घरलाई मकैको परिकार पाइने अर्गानिक रेष्टुरेन्टकै रूपमा चलाउने सोचेका उनीहरूले थकाली भान्सा घरलाई भने क्याफेको रूपमा चलाउने योजना बनाएका छन्।
‘होटलको रूपमा भन्दा क्याफेको रूपमा चलाउने हाम्रो योजना हो, १६५ प्रकारको त कफि मात्रै बनाउने योजना हो,’ हरिले भने।
मकै घरलाई भने चेनको रूपमा अरू सहरमा पनि विस्तार गर्ने उनीहरूको योजना छ।
‘कसैले शाखाको रूपमा अरू सहरमा खोल्न चाहनुहुन्छ भने शाखा चलाउन दिन्छौं, तर गुणस्तर र स्वादमा भने सम्झौता गर्दैनौं,’ हरिले भने।
थकाली भान्सा घरको लागि मासिक १० हजार भाडा बुझाएर खाली जग्गामा आफैंले संरचना निर्माण गरेका छन्।
मकै घर चलाएको एउटै सटरको भने मासिक २५ हजार रूपैयाँ भाडा बुझाउँछन्।
३५ हजार मासिक भाडा बुझाए पनि ८-९ लाख रूपैयाँको मासिक कारोबार हुने गरेको उनीहरूले बताए।
खर्च कटाएर पनि मासिक दुई-तीन लाख रूपैयाँ बचाउन सकिने उनीहरू बताउँछन्।
रेष्टुरेन्ट सञ्चालनमा साझेदार मात्र होईन हरि र सन्दिपको मित्रता जन्मदेखिकै हो।
एउटै गाउँका छिमेकी भएर सन्दिप र हरि एकघण्टाको फरकमा जन्मिएका थिए।
सँगै जन्मिएको मात्र होईन ११ दिनमा न्वारन गर्दा उनीहरूको नाम पनि एउटै जुर्यो।
डोलहरी पौडेल र डोलबहादुर थापा। पछि डोलहरीले डोल हटाएर हरि राखे भने डोलबहादुरले सन्दिप राखे।
उनीहरू हुँर्किदा सँगै हुर्किए, पढ्न सँगै स्कुल गए। स्कुल जाँदा-आउँदा, गृहकार्य लेख्दा र घरको सानोतिनो कामा गर्दा पनि उनीहरू सँगै हुन्थे।
एसएलसी दिएपछि भने हरी प्लस टु पढ्न नेपालगञ्ज पुगे, सन्दिप बुटवलको न्यू होराईजनमा भर्ना भए।
‘हामी त जन्मिएको आमाहरूको कोख मात्रै फरक हो, यति मिल्थ्यौं कि प्लस टु पढ्दाको दुई वर्ष कटाउन साह्रै गाह्रो भयो,' दुवैले भने।
प्लस टु सकिएपछि पोखरामा होटल म्यानेजमेन्ट पनि सँगै पढे। अनि दुवई गए। त्यहाँ राम्रो तलब थियो। तर उनीहरूलाई विदेशमा बसेर काम गर्न भन्दा आफ्नै ठाउँमा केही गर्ने मन भयो।
‘अर्काको ठाउँमा धेरै गएर कमाउनु भन्दा थोरै भए पनि आफ्नै ठाउँको कमाईले जित्ने रहेछ, विदेशमा त्यतिबेला पनि हाम्रो कमाई १ लाख भन्दा धेरै थियो, तर यहाँ जस्तो ढुक्क छ नि त्यो थिएन,' सन्दिपले भने।
रेष्टुरेन्टको दुई वर्षको आम्दानीले ३० लाख रूपैयाँमा एक कट्ठा घडेरी किनेका उनिहरूले घर पनि त्यहीँ जग्गामा सँगै बनाउने योजना बनाएका छन्।
‘जग्गा पनि एउटै लिएका छौं, अब दुई वटा घरको एउटै गेट राखेर बनाउने योजना छ।’