२०७५ साल कात्तिकको कुरा हो। पाँच वर्षे कामदार भिसामा कोरिया गएका सञ्जय काउछा मगर केही दिनको बिदामा आएका थिए। श्रीमती भलालाई परिवारसहित मनकामना जाने चाहना थियो।
त्यसैले उनीहरू सपरिवार मनकामना दर्शनका लागि गए।
दर्शन गरेर घर फर्किँदै गर्दा नौ जनाको परिवार चढेको स्कार्पियो मुग्लिन नजिकै दुर्घटनामा पर्यो। दुर्घटनामा परिवारका धेरै सदस्य सामान्य घाइते भए। टाउकोमा भित्री चोट लागेका कारण सञ्जय र भलाका नौ वर्षे कान्छा छोरा भने साढे दुई महिनासम्म कोमामा पुगे।
मन्दिर दर्शनपछि कोरिया फर्किने योजना बनाएका रूपन्देही, कञ्चन–५ रूद्रपुरका सञ्जयको सोच उक्त दुर्घटनाले मोडिदियो।
'ठूलो दुर्घटनामा परेर, हामी मृत्युको मुखमा पुगेर फर्किएका थियौं। आखिर जीवन के रहेछ र, जति बाँचिन्छ परिवारसँगै बस्नुपर्ने रहेछ भन्ने लागेर गइनँ,' उनले भने।
यसै पनि उनी १५ वर्षदेखि पालेको सपना पूरा गर्ने पैसा जुटाउन कोरिया गएका थिए। दुर्घटनापछि उनी त्यही सपना पूरा गर्न कस्सिए।
परिवार ठिकठाक भएपछि उनी रूद्रपुरबाट उपयुक्त ठाउँ खोज्न दिनहुँ बुटवल आउँथे। ठाउँ खोज्नै दुई महिना जति लाग्यो। २०७६ साल कात्तिकमा बुटवल–९ तीनकुनेदेखि केही उत्तरपश्चिमतिर १८ धुर खाली जग्गा भेटे। दुई जना जग्गाधनी रहेछन्। उनीहरूलाई मासिक २६ हजार भाडा बुझाउने गरी भाडामा लिए।
अनि सञ्जयले घर बनाउन थाले। फागुनमा घर बनिसक्यो। ढुंगाले छाएको दुईतले पहाडी शैलीको घर।
गाउँघरमा सेतो कमेरो र रातो माटोले लिपेजस्तै सेतो र रातो रङ लगाइएको घर ध्वजापताकाले सजाए। बाँसको तगारो खोलेर भित्र प्रवेश गर्नेबित्तिकै दाँयातर्फ ढुंगेधाराकै स्वरूपमा पानीको धारा लगाए।
गेटको सुलीमा मकैका झुत्ता झुन्ड्याए। बाँयातर्फ ठूलो अँगेनो। अलि अगाडि पुगेपछि पिँढीको बाँयातर्फ ढिकी र दाँयातर्फ जाँतो छ। माथिल्लो तलामा जान बाहिरबाटै छ काठको भर्याङ।
भर्याङ उक्लेर पुगिने काठको बार्दलीमा टाँसिएको छ होर्डिङ बोर्ड। त्यसमा लेखिएको छ- 'मगर्स किचन'।
झट्ट हेर्दा गाउँघरमै पाहुना भएर गएकै आभास मिल्ने गरी उनले मगर्स किचन रेस्टुरेन्ट बनाएका हुन्। यही रेस्टुरेन्ट आफ्नो सपना भएको सञ्जयले बताए।
फागुनमा सबै तयार गरेपछि चैत १८ गते उद्घाटन गर्ने दिन तय भएको थियो। २०७६ साल चैत १० गतेदेखि कोरोना महामारीका कारण देशैभरी लकडाउन भयो।
'ठ्याक्कै भूतले खाजा खाने बेलामा सुरू गरिएछ भनेझैं भयो। देशभर लकडाउन भयो, मेरो त सपना पनि लक भयो,' सञ्जयले त्यो बेलाको अवस्था सुनाए।
उनका अनुसार अर्काको जग्गा भाडा लिँदा, घर बनाउँदा र रेस्टुरेन्ट तयार गर्दा ७० लाख रूपैयाँ जति खर्च भएको छ। यतिका धेरै लगानी गरेको देखेर उनलाई देख्नेले 'के गरेको' भनेर प्रश्न गर्थे।
'बाटोदेखि अलिभित्र यति धेरै लगानी गरेको देखेर सबैले मलाई बहुलाएको भन्थे। छिमेकी बुवाहरूले पनि बाबु यतिभित्र आएर के गरेको? भोलि चलेन भने यो घर कहाँ लैजान्छौ? हामीलाई त तिम्रो चिन्ता लाग्छ भन्नुहुन्थ्यो,' उनले सम्झिए, 'त्यहीँमाथि कोरोना आइदियो। रेस्टुरेन्ट बनाएको दुई वर्षसम्म उद्घाटन गर्न पाइएको छैन।'
कोभिड प्रभाव कम भएपछि विस्तारै पाहुना आउने क्रम सुरू भएको छ। एकपटक आउनेहरू फर्कीफर्की आउँछन्। त्यसैले मगर्स किचनमार्फत् मगर खानालाई ब्रान्ड बनाउने सपना छ उनको। यो सपना पूरा हुने आश पनि पलाएको छ।
'यसलाई व्यवसायिक साथै साँस्कृतिक रेस्टुरेन्ट बनाउनु छ भनेरै म महामारीमा मन थामेर बसेको थिएँ। अहिले ग्राहक आउन थालेपछि आँट पनि आएको छ,' उनले भने।
मगर परिकारलाई नै ब्रान्डिङ गर्नन कस्सिएका उनको रेस्टुरेन्टका धेरैजसो परिकारमा सिस्नो मिसाइएको हुन्छ। नेपाली खाना सेट, कोदो र फापरको ढिँडो, आँटो (मकैको भात), जेठोबुढो चामलको भात, जुम्ली सिमीको दाल, काभ्रो, केराको बुँगाको अचारलाई उनले मेनुमा अटाएका छन्।
भुटेको मकै, भटमास, कोदो, फापरको रोटी, चुकौनी, सेलरोटी, बटुक, सिस्नोको मःम, पिँडालु समेत मगर्स किचनका मुख्य परिकार हुन्।
'गाउँघरका भान्छामा जे जसरी पकाइन्छ यहाँ पनि अँगेनामा दाउरा बालेर त्यसरी नै पकाइन्छ,' उनले भने।
बजारबाट ल्याएको मसला र अजिनामोटोले स्वादिलो बनाए पनि स्वास्थ्यलाई राम्रो नगर्ने भएकाले आफैं मसला तयार गर्ने पनि उनले बताए। तरकारीहरूमा आफैं सिलौटामा पिसेको मसला हाल्छन्। चटनी पनि सिलौटामै पिस्छन्। म:ममा समेत अजिनामोटो नराख्ने दावी उनको छ। परिकारको मूल्य पनि बजारमा चलेभन्दा थोरै राखेको उनी बताउँछन्।
'व्यवसाय जानेर मैले रेस्टुरेन्ट सुरू गरेको होइन। तत्काल धेरै कमाउनु पनि छैन,' उनले भने, 'होटल रेस्टुरेन्टको स्तर अनुसार ३० देखि ४० प्रतिशतसम्म नाफा लिन पाइन्छ। तर हामीले १७ प्रतिशत मात्र नाफा लिएर मूल्य राखेका छौं।'
उनका अनुसार अहिले दिनमा ५ देखि १५ हजार रूपैयाँसम्मको कारोबार हुन्छ। सात जनालाई नियमित रोजगारीमा पनि राखेका छन्। कर्मचारीको तलब, भाडा, बिजुली, पानी मात्रै गरेर दुई लाख जति मासिक खर्च हुन्छ। लामो समय रेस्टुरेन्ट बन्द भएकाले आम्दानीभन्दा खर्च धेरै छ। खर्च कति हुन्छ भनेर हिसाब गर्न पनि मन नलाग्ने उनी बताउँछन्।
होटल उद्घाटन नगर्दै कोभिडले थला पारेकाले अहिलेसम्म घाटामै चलेको उनले बताए।
'महामारीसँगै सुरू भएको होटलको चल्ने र नाफा कमाउने दिन त आएकै छैन। अहिले पनि दैनिक घाटामा चलिरहेको छ,' सञ्जयले भने, 'कोरोना सधैं रहँदैन होला। त्यसको प्रभाव सकिएपछि कसो सफल नहोला भन्ने आशमै टिकेको छु।'
गुल्मीको धुर्कोटमा जन्मिएका सञ्जयको परिवार २०४५ सालतिर रूपन्देहीको रूद्रपुरमा बसाइ सरेको थियो। रुद्रपुर आउँदा उनी १३ वर्षका थिए। गुल्मीको निन्नुखर्क मावि हाडहाडेमा ५ कक्षासम्म र त्यसपछि बुटवलमा पढेका हुन् उनले।
उनको समुदायका धेरैजसो युवा उमेर पुगेपछि भारतीय वा बेलायती सेनामा भर्ती हुने सपना देख्दै हुर्किन्थे। उनी पनि लाहुरे परिवारमा जन्मिए र लाहुरे सँस्कारमै हुर्किए। उनका हजुरबुवा प्रेमबहादुर र बुवा रेमबहादुर भारतीय सेनाबाट अवकाश प्राप्त हुन्।
जवान भइसक्दा सञ्जयलाई पनि लाहुरे बन्नुपर्छ भन्ने दवाब थियो। तर उनले विदेशी सेनामा भर्ती हुने सपनै देखेका थिएनन्।
'मगर परिवारमा जन्मिएपछि लाहुरे बन्न परिवारबाट मात्र होइन, सामाजिक रूपमै दवाब हुन्छ,' उनले भने।
सञ्जयलाई उनका आमाबाले सिधै सेनामा जा त भनेका थिएनन्। तर उनी १८ वर्ष पुगेपछि 'ए फलानाको छोरा त भर्ती भएछ, फलानाको भाइ पनि' भनेर सुनाउन थाले। आफन्तहरू पनि फलानाको नातिले कपडा ल्याइदियो, उसले रम ल्याइदियो भनेर सुनाउँथे।
'मलाई सिधै नभने पनि यसरी घुमाएर भन्नुहुन्थ्यो,' उनले भने, 'तर मलाई विदेशी सेनामा जान मनै थिएन।'
सञ्जयलाई आफूले नेपालमै केही गर्न सके छोराछोरीले पनि त्यही पछ्याउन सक्छन् भन्ने लाग्थ्यो। सेनामा जाने दवाब पन्छाएर यहीँ केही गर्ने हुटहुटीले उनलाई धेरै काम गरायो। कहिले स्कुल खोले, कहिले नाटक खेले, फिल्म बनाए।
२०५४ सालमा खोलेको स्कुल माओवादी द्वन्द्वका बेला चलाउन नसकेर बन्द गरे।
त्यो बेलासम्म उनलाई सहरबजार र संसारबारे थोरबहुत जानकारी भइसकेको थियो। जुन सहर गए पनि कतै न कतै थकाली भान्छाघर हुन्थ्यो।
स्वदेशमा मात्र नभएर विदेशमा समेत थकाली भान्छाघर लोकप्रिय भएको थाहा पाएपछि उनको मनमा एउटा प्रश्न आयो- हिमाली भेगमा बसोबास गर्ने थकालीहरूले देशका सबै कुनाकाप्चामा आफ्नो खानालाई ब्रान्ड बनाइसके। मगरहरूको बसोबास उनीहरूभन्दा केही तल उच्च पहाडी भेगमा छ। उत्पादन एउटै हो, बनाउने तरिका मात्र फरक छ। तर मगरको ब्रान्ड खोइ?
स्कुल बन्द गरेपछि त्यही सम्झेर उनलाई मगरको भान्छा ब्रान्ड बनाउँछु भन्ने लागेको थियो। तर त्यतिखेर द्वन्द्वको असरले व्यापार-व्यवसाय फस्टाउने अवस्था थिएन। त्यसैले आठ वर्ष चलाएको स्कुल बन्द गरेर उनी कला क्षेत्रमा लागे। सानैदेखि मारूनी नाच, अभिनय र कलाकारितामा रूचि राख्ने सञ्जय स्कुल पढ्दा पनि नाटकहरू खेल्थे। एसएलसी दिएपछि उनी पढाइभन्दा नाटक र अभिनयमा पनि लाग्न थालेका थिए।
उनले सडक नाटक, मगर चलचित्र बनाउन थाले। कला क्षेत्रमा पनि आफ्नै समुदायका कथा उजागर गरे। सञ्जयले २०६२ सालतिर 'फेच्छ नमखान' (नेपालीमा सूर्योदय) भन्ने मगर फिल्म बनाए। आफ्नै लेखन र निर्देशनमा बनेको बनेको उक्त फिल्ममा पाएको सकारात्मक प्रतिक्रियाले उनलाई कला क्षेत्रमा लाग्न प्रेरित गरिरह्यो। त्यसपछि उनले 'मी फुरूङ' (कोपिला) र 'डु यु लभ मी' भन्ने मगर भाषाकै फिल्म बनाए।
तर नाटक र फिल्मबाट परिवारको खर्च धान्नै गाह्रो भयो। त्यसमाथि उनको सपना त मगर भान्छालाई ब्रान्ड बनाउने नै थियो। त्यसैले परिवार धान्न र रेस्टुरेन्ट खोल्ने पैसा जुटाउन उनी २०७२ सालमा कोरिया गएका थिए।
सञ्जय आफ्नो रेस्टुरेन्ट व्यवसायिकसँगै साँस्कृतिक झल्को दिने शैलीको बनाउन चाहन्छन्। त्यसैले गाउँघरमा प्रयोग गरिने पुराना सामान संकलन गर्न पैसा खर्चिए। ढिकी, जाँतो, हलो, जुवा, नारा, सेउ, बन्दुक, पेट्रोम्याक्स, सोली, डालो, मदुस, ठेको लगायत संकलन गरेर रेस्टुरेन्ट भित्र र बाहिर सजाएका छन्।
'सहरमा हुर्किएकाहरू यस्ता वस्तु देखेर अचम्म मानेर हेर्छन्। अब त हाम्रै छोराछोरीले पनि ढिकी-जाँतो कहाँ देखेका छन् र? हलोजुवा र नारा भन्ने त सुनेका पनि छैनन् होला। कम्तीमा यहाँ आउने नयाँ पुस्ताले देख्न पाउलान्,' उनले भने।
आफ्नो समुदायमा चल्ने साँस्कृतिक गतिविधिमा उनलाई सानैदेखि लगाव थियो। त्यसैले रेस्टुरेन्ट बल्ल खुले पनि उनको योजना पाहुनालाई हरेक शुक्रबार साँझ विभिन्न साँस्कृतिक नाचसँगै साँस्कृतिक खाना चखाउने छ। हरेक महिनाको एउटा शुक्रबार रोदी चलोस्, एउटा शुक्रबार सोरठी, अर्को शुक्रबार मारूनी नाचोस् भन्ने सपना बुनेका छन्। यहाँ आउने पाहुनालाई सगुनका रूपमा स्थानीय मदिरा चखाउन पाइयोस् भन्ने पनि छ।
केही समुदायका मानिसले पुस्तौं पुस्ता एउटै व्यवसाय चलाइरहेजस्तै उनलाई आफ्नो व्यवसाय पुस्तौंसम्म चलोस् भन्ने इच्छा छ।