१३ वर्ष अघिको कुरा हो, बुटवल र भैरहवाजस्ता सहरभित्रै होटल व्यवसाय राम्ररी चल्न सकेका थिएनन्। बुटवल र भैरहवाभन्दा बाहिर एकान्त ठाउँमा खोलिएको उक्त होटल पनि चल्न सकेको थिएन।
बन्द हुने अवस्थामा पुगेको त्यहीँ होटल लिएर चलाउने कुरा गर्दा बुटवलका गोपाल रानालाई धेरैले खिसिट्यूरी गरे। ‘त्यस्तो एकान्त कुनामा पनि होटल चल्छ?’ धेरैले उनलाई भन्थे।
तर देश विदेश घुमेर सहरी कोलाहलभन्दा बाहिर स्तरीय होटल देखेका उनले अरूको कुरामा ध्यान दिएनन्।
होटल चल्ने नै सहरी कोलाहलभन्दा बाहिर यस्तै एकान्त स्थानमा हो भन्ने उनलाई थाहा थियो। खिसिट्यूरी गर्नेलाई उनले बेवास्ता गरिदिए।
वरिपरि प्रशस्त खाली जग्गा र हरियाली खेतबीच रहेको उक्त १२ कोठे होटल उनले २०६६ सालमा लिए।
आफूले लिएपछि होटलको नाम फेरेर ‘ड्रिमल्याण्ड’ बनाइदिए।
उनले होटलको नाम मात्र फेरेनन्, भौतिक संरचना सेवा सुविधा सबै फेरे। अहिले यो होटलले राम्रो व्यवसाय गरिरहेको छ।
गोपालले होटलको नेतृत्व लिएको १३ वर्षको छोटो समयमै सहरभन्दा बाहिर पनि स्तरीय होटल चल्छन् र भन्नेको मानसिकतालाई नै परिवर्तन गरिदिए।
रूपन्देहीका मुख्य दुई सहर बुटवल र भैरहवाको मध्य भागस्थित तिलोत्तमा नगरपालिका–५, मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्ट अहिले उदाहरणीय बनेको छ।
ड्रिमल्याण्डको त्यही सफलताले उनमा अर्को अझै स्तरीय बुटिक होटल खोल्ने हौसला दियो। अहिले उनले बुटवलकै पहिलो बुटिक होटल ‘ड्रिम इन्टरनेसनल’ सञ्चालन गरेका छन्।
बुटवल उपमहानगरपालिका-९ तीनकुने कालिकापथमा सञ्चालनमा आएको ड्रिम इन्टरनेसनलमा करिब ५० करोड लगानी गरिएको गोपालले बताए।
ड्रिमल्याण्ड गोल्ड रिसोर्ट जस्तै ड्रिम इन्टरनेसनल पनि ड्रिम ग्रुप अफ इण्डष्ट्रिजले सञ्चालनमा ल्याएको हो।
गोपाल अध्यक्ष रहेको उक्त इण्डष्ट्रिजमा बुटवल–९ का वडाअध्यक्षसमेत रहेका विष्णु थापा, रिता थापा र वसन्त थापा सञ्चालक छन्।
विशेष गरी कर्पोरेट ग्राहकसँगै आन्तरिक तथा बाह्य पर्यटकलाईसमेत लक्षित गरी सञ्चालन गरिएको ड्रिम इन्टरनेसनलमा ४० वटा सुपर डिलक्स र सुइट रूम छन्।
टेरेस रेष्टुरेन्ट, बार, क्याफेलगायत बुटिक होटलमा हुनुपर्ने सम्पूर्ण सेवा-सुविधा रहेको गोपालले बताए।
‘ड्रिमल्याण्ड बजारभन्दा अलि बाहिर रहेकाले कर्पोरेट कष्टमर र एनजिओ-आइएनजिओले बुटवलमा पनि यस्तै होटल सञ्चालन गर्न सुझाव दिइरहनुभएको थियो। हामी पनि बुटवलमा स्तरीय होटल खोल्नुपर्छ भन्ने योजनामा थियौ, अहिले पूरा गर्दैछौं,’ उनले भने।
एनजिओ, आइएनजिओ तथा कर्पोरेट ग्राहकलाई नै लक्षित गरी ड्रिम इन्टरनेसनलमा ८० देखि १ सय जनासम्म अट्ने दुई वटा सेमिनार हल बनाइएको गोपालले जानकारी दिए।
साढे ४ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको होटलमा हाल ६० जनाले रोजगारी पाएका छन्। यसमा छिट्टै नै स्वीमिङ पुलसमेत निर्माण गर्ने बताए।
विगत दुई वर्षदेखि नेपालमा फैलिएको कोरोना महामारीका कारण आर्थिक क्षेत्र थला परेको थियो, होटल व्यवसाय ठप्प थिए।
लकडाउन अवधिमा आफ्नै नेतृत्वमा सञ्चालित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट बन्द भए पनि गोपाल आफू भने सुस्ताएनन्, बरू होटलमा पाहुना नआएका बेला अरू पूर्वाधार विस्तारमा लागे। ड्रिम इन्टरनेशनल होटल पनि गोपालले कोरोना महामारीबीचमै निर्माण सम्पन्न गरेका हुन्।
‘कोभिड नआइदिएको भए डेढ वर्षअगाडि नै सक्ने लक्ष्य थियो। कोभिडपछिको लकडाउनले निर्माणमै साढे दुई वर्ष पर्खिनुपर्यो,’ उनले भने।
साढे चार बिघा क्षेत्रफलमा फैलिएको ड्रिमल्याण्ड १३ वर्षको अवधिमा सामान्य होटलबाट ४ तारे होटल बनेको छ। ठूला ठूला सम्मेलन, विवाह, पार्टी, कन्सर्ट तथा सेमिनार र गोष्ठीका लागि रोजाइमा पर्ने ड्रिमल्याण्डमा हेल्थ क्लब, बार, कफि सप, बेबी पार्क तथा यस क्षेत्रकै ठूलो स्विमिङ पुल र प्रशस्त पार्किङ सुविधा छ।
खुला र शान्त वातावरण, सुन्दर फूलबारी ड्रिमल्याण्डका थप विशेषता हुन्। दुई वर्षकै अवधिमा ड्रिमल्याण्डले २० करोड रूपैयाँ लगानी थपेर पूर्वाधारसहित सेवा विस्तार गरेको छ। रिसोर्टको पूर्वाधार क्षेत्रको लगानी मात्रै १ अर्ब हाराहारी पुगेको उनी बताउँछन्।
३३ वटा डिलक्स, २६ वटा सुपर डिलक्स तथा एक वटा सुइट गरी ६० वटा सुबिधा-सम्पन्न कोठा रहेको ड्रिमल्याण्ड रिसोर्टमा एकै पटकमा एक हजार ५ सय जना सहभागी हुन सक्ने सभाहल छ। त्यस्तै तीन वटा साना सेमिनार हल छन्। जहाँ अहिले एक सयभन्दा बढी युवाले रोजगारी पाएका उनले जानकारी दिए।
स्तरीय आवास, खाना, क्लब र पौडी पोखरीको व्यवस्थापन सहज थिएन।
गोपालले यी सबैको व्यवस्थापनसँगै ड्रिमल्याण्डको कम्पाउण्डभित्रै पौडी पोखरी, माछा पोखरी र आफ्नै तरकारीबारी समेत बनाएका छन्। जहाँबाट उनले पाहुनाको चाहना पूरा गर्न सकेका छन्। होटलको व्यवस्थापकीय सफलताबाट उत्साहित बनेका गोपाल दिगो पर्यटन सेवाका लागि सबै क्षेत्रको सहयोग र सहकार्य आवश्यक रहेको बताउँछन्।
आफ्नो व्यवसायिक सफलतामा उनकी श्रीमती गीता थापाको ठूलो सहयोग र साथ रहेको उनी बताउँछन्। डेढ दशक बढी बैंकमा जागिरे गीता अहिले ड्रिमल्याण्डको फाइनान्सियल डाइरेक्टर छिन्। गोपाल दुई छोरालाई आफ्नै होटलको जिम्मेवारीमा लगाउने बताउँछन्।
‘होटल हेर्ने भनेरै जेठो छोरा विराज विक्रम भारतको बैंगलोरमा बिएचएम पढ्दै छन्। कान्छो सिद्धार्थ पनि भारतकै पुनेमा बिबिए पढिरहेका छन्। पढाइ सकेपछि छोराले नै होटलको जिम्मेवारी लिनेछन्,’ उनले भने।
बुटवलमै हुर्किएका गोपाल बुवा सर्वजीत राना र मनकुमारी रानाका एक्ला सन्तान थिए। सर्वजीत भारतीय सेनाका जागिरे, लाहुरे परिवारमा हुर्किए पनि उनलाई भने सेनामा भर्ति हुने चाहना पलाएन।
सर्वजीतले पनि जबरजस्ती छोरालाई सेनामा जागिरे बनाउने सपना कहिल्यै देखेनन्। छोरालाई पढाइप्रति प्रेरित गरिरहे। हालको तिलोत्तमास्थित जनज्योती माविमा ४ कक्षा र बुटवलको कालिका माविबाट एसएलसी दिएका गोपालले लुम्बिनी वाणिज्य क्याम्पसबाट स्नातकसम्मको अध्ययन गरे।
सेनाबाट अवकासप्राप्त बुवाको पेन्सन थियो। बुटवलमा प्रसस्त जग्गा–जमिन भएका गोपालका परिवारलाई आफ्नै खेतको उब्जनीले खान पुग्थ्यो।
‘खान पुग्ने भएरै मलाई पैसा कमाउन विदेश जानुपरेन। जानुपर्छ भन्ने सोच पनि कहिल्यै आएन,’ गोपाल भन्छन्।
सानैदेखि व्यवसायी बन्ने सपना देखेका गोपाल पढ्न भन्दै २०४८ सालतिर सिंगापुर पनि पुगेका थिए। तर उनी त्यहाँ धेरै दिन टिक्न सकेनन्।
‘पढ्ने र केही वर्ष उतै काम पनि गर्ने भनेर सिंगापुर गएको थिएँ। अर्काको मुलुकमा बस्नै सकिनँ एक डेढ महिनामै फर्किएँ,’ उनी भन्छन्। उनलाई सानैदेखि नै ठूलो सानो जे काम गरे पनि आफ्नै माटोमा गर्नुपर्छ भन्ने उनलाई लाग्थ्यो।
त्यस्तै, सिंगापुरबाट फर्किएपछि उनले ग्रामिण क्षेत्रमा खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्ने फिनिडा नामको परियोजनामा काम गर्न थाले।
बुटवलमै जन्मिएर हुर्किएकोले ग्रामिण क्षेत्रको समस्याबारे त्यति जानकार नभए पनि फिनिडामा काम गर्न थालेपछि भने उनले ग्रामिण क्षेत्रको समस्या नजिकबाट बुझ्न पाए।
गाउँघरमा स्वास्थ्य, खानेपानी, सरसफाईका कार्यक्रम पुर्याईरहँदा उनको सम्पर्क प्राविधिकसँग हुन थाल्यो। व्यवसायी बन्ने सानैदेखिको चाहना फिनिडामा काम गरिरहँदा हराउनुको सट्टा झनै झाँगिइरहेको थियो।
जागिर दुई वर्षमै छोडिदिए। अनि सुरू गरे निर्माण व्यवसाय। २०५० सालतिर बुवासँग २५ हजार रूपैयाँ लिएर सुरू गरेको निर्माण व्यवसायमा गोपाल राम्रैसँग सफल पनि भएका थिए। माओवादीले सुरू गरेको सशस्त्र युद्धका बेला पनि उनको निर्माण व्यवसाय राम्रैसँग चलिरहेको थियो।
दुई वर्ष फिनिडा परियोजनामा काम गर्दा समुदायसँग घुलमिल हुन पाइन्थ्यो। त्यसमा एक प्रकारको आत्मसन्तुष्टि हुन्थ्यो। निर्माण कम्पनी चलाउँदा भने त्यस्तो आत्मसन्तुष्टि उनले पाएनन्। त्यतिखेरै होटल व्यवसाय गरे हुन्थ्यो कि भन्ने उनमा परेको थियो। प्राकृतिक तथा ऐतिहासिक रूपमै धनी रहेकाले रूपन्देहीमा होटल व्यवसाय राम्रोसँग फस्टाउन सक्छ कि भन्ने उनलाई लाग्दै गयो।
बुटवलदेखि नजिकै रहेको बुद्धजन्मस्थल लुम्बिनी, जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान, पाल्पाको रानीमहल जस्ता ऐतिहासिक स्थलहरूलाई जोडेर होटल सञ्चालन गर्ने सपना उनले देख्न थाले।
जहाँ इच्छा त्यहीँ उपाय भने झैं उनले त्यो होटल भेटे। उनले उक्त होटल जिम्मा लिँदा त्यसका संरचना जिर्ण भईसकेका थिए। जिर्ण बनेका पूर्वाधारलाई फेरि उठाउन उनले ठूलो मेहनत गरे। दुई वर्ष एनजिओले सञ्चालन गरेको परियोजनाको जागिरे हुँदै झण्डै १२ वर्ष निर्माण व्यवसाय सञ्चालन गरेका गोपालको अहिलेको परिचय भने फेरिएको छ। अहिले उनी नेपालमै सफल पर्यटन व्यवसायीको सूचीमा पर्छन्।
गौतमबुद्धको जन्मस्थल लुम्बिनी र भैरहवामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल उनको व्यवसायको आशाको किरण हो।
विमानस्थललाई नै लक्षित गरेर अहिले रूपन्देहीमा अरू धेरै होटल खुल्ने क्रममा छन्। रूपन्देहीमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुँदा रूपन्देहीमा स्तरीय होटलको माग धेरै हुने भएकाले त्यसैलाई मध्यनजर गरी होटल विस्तार गर्दै गएको गोपाल बताउँछन्।
गोपाल बाह्य मुलुकमा संस्कृति र प्रकृतिलाई जोडेर पर्यटन विकास गरिरहे पनि नेपालमा संस्कृति र प्रकृतिलाई पर्यटनसँग जोड्न नसकिएको बताए।
‘हामी संस्कृति र प्रकृतिमा धनी छौं। त्यही संस्कृति र प्रकृतिलाई भौतिक पूर्वाधारसँग जोडेर पर्यटन विकास गर्न चाहन्छौं,' उनले भने, ‘नजिकै बुद्धजन्मस्थल लुम्बिनी छ, पाल्पाको रानीमहल दरबार, बुटवलको जितगढी किल्ला, मणिमुकुन्द सेनको शीतकालीन दरबार स्वर्गद्वारी समेतलाई जोडेर पर्यटन विकास गर्न सकिन्छ।’
सिद्धार्थ राजमार्गको सिद्धबाबामा सुरूङमार्ग निर्माणपछि बुटवल र पोखराको यात्रा छोटो बन्ने भन्दै उनले भारत हुँदै नेपाल आउने पर्यटकलाई सुनौलीबाट पोखरा जोड्न सकिने उनी बताउँछन्।