आठ दशकअघिको कुरा हो।
रामसागर हलुवाई बिक्रम सम्बत् १९९६ सालमा भारतको मेदावलबाट बुटवल आए। त्यति बेलाको बटौली (अहिलेको पुरानो बटौली) बजार गुलजार थियो। अहिले सहर भएको बुटवल बजार त सुनसान थियो, जंगल र तिनाउ नदीले बनाएको बगर मात्र।
त्यसैले रामसागरले पुरानो बटौली बजारलाई नै आफ्नो कर्मथलो रोजे।
मेदावलमा उनका पूर्खा मिठाइ बनाउने काम गर्थे। विशेषगरी जेरी (जेरी) र हलुवा। रामसागरको सीप पनि यसमै निखारिएको थियो।
रामसागरले अहिले बुटवल उपमहानगरपालिका- २ मा पर्ने नयाँसडक भनेर चिनिने चोकको एउटा कुनामा टहरो हाले। काँचो इँटाको गारो बनाए, टिनको छानो हाले।
अनि माटाको चुलो बनाएर रामसागर जेरी र हलुवा पकाउन थाले। यही पसल आझ हलुवाई मिठाइ भनेर चिनिन्छ। हेर्दा अहिल्यै भत्किएलाजस्तो देखिने ८० वर्ष पुरानो यो पसल जस्तो जन्मेको थियो, त्यस्तै छ। न यसको गारो फेरिएको छ न छानो। रामसागरले बनाएको चुलो पनि त्यहीँ छ।
'हामीले पसलमा केही फेरेका छैनौं, टेबल-कुर्सी समेत हजुरबुवाकै पालादेखिको छ,' रामसागरका नाति सञ्जय कुमारले भने, 'यो व्यवसाय ८० वर्ष पुरानो हो।'
रामसागरको उमेर ढल्किँदै गएपछि पसल चलाउने जिम्मा उनका छोरा किशोरीलाल र बुहारी कौशल्यादेवीको हातमा आएको थियो। यसपछि अहिले तेस्रो पुस्ताका सञ्जय र रिंकुले धानिरहेका छन्। उनीहरू चार दाजुभाइ हुन्। दुई जना मिठाइ पसलमा भइहाले, अर्का एक जना कपडा पसल चलाउँछन्, अनि अर्का दुबईमा छन्।
रामसागरले मिठाइ पसल खोल्ने बेला पश्चिम नेपालका अधिकांश पहाडी जिल्लामा उत्पादित घिउ बेच्न ल्याउने र नुन, तेल, लत्ताकपडा किनेर लैजाने थलो थियो पुरानो बटौली। यसरी घिउ बोकेर आउने ढाक्रेहरूले चियाखाजा खाने पसल उनै रामसागरको हलुवाई पसल भयो।
पहाडी गाईभैंसीको घिउमा पकाएका जेरी, हलुवा, समोसा उनीहरू आफ्ना लागि बाटोखाजाका रूपमा लैजान्थे। अनि घरमा छोराछोरीदेखि आफन्तसम्मलाई कोसेली पनि।
यस्तै व्यापार गर्न आउनेहरू र स्थानीय ग्राहक रामसागरले पकाएका परिकारमा भुलिन थाले। सञ्जयका अनुसार भैरहवा, पोखरा, पाल्पाबाट बुटवल आएर यहाँको जेरी, सेलरोटी, बटुक, समोसा खाएर जानेहरू फर्कीफर्की आउँथे।
मिठाइ पसल तेश्रो पुस्तासम्म आइपुग्दा पनि हजुरबुवाको विरासत खस्किन नदिएको सञ्जय बताउँछन्।
'त्यसैले हामीकहाँ बुवाको पालादेखिका ग्राहक अहिले पनि आउनुहुन्छ,' उनले भने।
सञ्जयले भनेजस्तै यहाँ ३०/३५ वर्ष पुराना ग्राहक अहिले सधैंजसो आउँछन्। चियासँगै जेरी र समोसा कडक्क पारेर मुख मिठ्याउँछन्।
यस्तै एक ग्राहक हुन् पारि बुटवलकै मस्जिदमा बस्दै आएका आलम अन्सारी।
अन्सारीले यहाँ खाजा खान थालेको २५ वर्ष भयो। बिहानको चियाखाजा यहाँ नखाए उनलाई दिनभर केही छुटेझैं लाग्छ रे। हामी पुग्दा उनी पुरी तरकारी लिएर खाँदै थिए। सोध्यौं, मिठो छ?
उनले फ्याट्टै भने, 'मिठो नभए २५ वर्षदेखि यहीँ आउँथे? मिठो भएर त सधैं खान आउँछु नि। नभए त अरू पसल कति छन् नि!'
मैनाबगरमा किराना चलाउँदै आएका राजु राम पनि बुटवल भएका बेला हलुवाई मिठाइमै खाजा खान पुग्छन्। आफ्नो पसल वरपर चिया-खाजा खाने ठाउँ थुप्रै भए पनि उनी दस मिनेट हिँडेर यहाँ आइपुग्छन्।
'खै किन यहाँको सबै खाजा मिठो हुन्छ। अरूहरू सधैं एउटै होटलको खाजा खाँदा वाक्क हुन्छ भन्छन्, मलाई भने अन्त जान मन लाग्दैन,' राजुले भने।
यस्ता ग्राहक पाएका कुमार दाजुभाइ हजुरबुवाले यो पसललाई ब्रान्डकै रूपमा स्थापित गरेको बताउँछन्। तर योसँगै उनीहरूलाई चुनौती पनि भयो- पुरानो स्वाद बरकरार राख्ने।
पहिलेजस्तो शुद्ध घिउ, तेल पाउन छाडेको छ। मुख्य सामग्रीकै स्वाद फेरिएपछि परिकारको स्वादमा बदलाव आउने नै भयो।
सञ्जय भन्छन्, 'हजुरबुवाको पालाको स्वाद बनाउने चाहना त हो नि, तर कहाँ पाउनू? उतिखेर शुद्ध घिउ पाइन्थ्यो, खानेकुरा मिठो हुन्थ्यो। अहिले पाइँदैन, अनि स्वाद पनि फेरिँदै जान्छ।'
समयको बदलाव प्रस्ट्याउँदै सञ्जयले थपे, 'पहिले त डाल्डामा पकाउँछन् कि भनेर डाल्डा लिएर आउँदा पनि प्रशासनले छापा मार्थ्यो। अहिले त शुद्ध घिउमा छापा मार्ने बेला आइसक्यो। तर हामी सकेसम्म गाईभैंसीको घिउमै पकाउँछौं। हजुरबुवाको ब्रान्डलाई जोगाउनु त पर्यो नि।'
हजुरबुवालेजस्तो शुद्ध घिउ-तेलमा पकाउन नपाए पनि पिठो मुछ्ने र पकाउने तरिका भने पुरानै रहेको उनले बताए।
'केही पसलमा बेकिङ पाउडर, इष्ट, सोडा हालेर जेरी बनाउँछन्। पिठोमा धेरैथरी कुरा मिसाउँदा जेरीको वास्तविक स्वाद हराउँछ,' उनले भने, 'हामी भने आमाबुवाले जसरी सिकाउनुभएको थियो, त्यस्तै गरेर पकाउँछौं।'
उनीहरूको तरिका हो- एकदिन पहिल्यै मैदा मुछेर राख्ने। अनि भोलिपल्ट मात्र जेरी पकाउने।
यसबाट जेरी केही नराखे पनि आफैं फुल्ने, खास स्वाद आउने र स्वास्थ्यलाई पनि राम्रो हुने उनको भनाइ छ।
तर घिउ-तेलमा मिसावट हुन थालेपछि उनीहरूले बनाउने परिकार पनि फेर्दै गएका छन्।
सञ्जयका अनुसार मिसावट घिउमा बनाएका मिठाइ, सेलरोटी राम्रा हुँदैनन्। खाँदा गन्ध आउँछ। ग्राहकलाई सुरूमै नराम्रो गन्ध परे फर्केर आउँदैनन्। त्यसैले उनीहरूले अचेल मिठाइभन्दा खाजामा जोड दिएका छन्।
हलुवाई मिठाइ पसलको पहिचान जेरी र पुरी तरकारी चाहिँ अझै छ। नभए हजुरबुवाले बनाउने सेलरोटीको ठाउँ डोनटले लिएको छ। हलुवा र बटुकको साटो चाउमिन र समोसा बन्छ। चाडपर्वका बेला भने लालमोहन, रसवरी, बर्फी, पेडा, लड्डु जस्ता मिठाइको माग आउँछ।
पुरानो बुटवल बजारमा व्यापार सुक्दै गए पनि वारिपारिबाट खाजा खान आउने ग्राहकबाटै दैनिक सात/आठ हजारको व्यापार हुने सञ्जय बताउँछन्।
'यहाँ अरू व्यापार त खासै छैन, एक-दुईथरी पुराना व्यापार चलेका छन्, अर्को पुरानो चलेको पसल भनेको हाम्रै हो,' उनले भने, 'दिनमा १५/२० किलो जेरी र १०/१५ लिटर दूधको चिया बिक्छ। बिहान-दिउँसोको खाजा पनि राम्रै चल्छ।'
हुन पनि हलुवाई मिठाइ पसल सोधे वरपर नचिन्ने कमै छन्। उसो त यो नाम आधिकारिक होइन। रामसागरको थरबाटै हलुवाईको मिठाइ पसल भनिँदै यही नाम रहन गएको हो।
यो पसल सधैंजसो भरिभराउ हुन्छ। यहाँ आएर खान नभ्याउनेहरू टेलिफोनबाटै अर्डर पनि गर्छन्। पहिले पुरानो बटौली बजारमा लाग्ने गणेशजात्रा, उत्सव तथा मेलापर्वमा यही पसलबाट मात्रै मिठाइ लगेर चढाउने चलन समेत भएको यहाँका पुराना बासिन्दा रवीन्द्र गोपाल लाकौल बताउँछन्।
'उनीहरूले गाईभैंसीको घिउमा मिठाइ बनाउँथे। त्यसैले मिठो हुन्थ्यो,' लाकौलले भने, 'ठूला भनिने मिठाइ पसलमाभन्दा केही सस्तो पनि हुन्थ्यो। अहिले त जात्रा पनि हरायो, मिठाइको त्यो स्वाद पनि फेरियो।'
तीन पुस्तादेखि यहीँ पसल चलाए पनि घर बनेको जग्गाको लालपूर्जा सञ्जयहरूले पाएका छैनन्। त्यसैले भत्काएर नयाँ घर बनाउन सक्दैनन्। घर बनाउँदा नक्सा पास नगरी हुँदैन, लालपूर्जा नभएको जग्गामा नक्सा पास हुने कुरा भएन।
'वरिपरिका अरूले घरघडेरीको लालपूर्जा पाएका छन्। हाम्रो भने बिटौरीमा परेकाले भएन। लालपूर्जा पाए त बैंकमा त्यही राखेर ऋण निकालेर भए पनि घर बनाउन हुन्थ्यो,' सञ्जयले भने।