भैरहवाका सुरज उप्रेती बुवाले सञ्चालन गरेका उद्योगमा खेल्दै हुर्किए। 'एसआर ढुवानी' मार्फत २०३६ सालदेखि भैरहवामा व्यवसाय सुरू गरेका बुवा सीताराम उप्रेतीले २०५० सालमा लुम्बिनी पिएसी उद्योग स्थापना गरी उद्योग क्षेत्रमा प्रवेश गरेका थिए।
लुम्बिनी पिएसीमा गिट्टी, बालुवा र सिमेन्ट मिश्रण गरी पुरानो प्रविधिबाट ह्युम पाइप निर्माण हुन्थ्यो। सुरज त्यही उद्योग नियाल्दै र उद्योगमै खेल्दै हुर्किए।
बडेमानका ह्युम पाइप बनाएको देखेका सुरजमा सानैदेखि इञ्जिनियर बन्ने सपना पलायो। पढाइमा पनि अब्बल उनले भैरहवामै विद्यालय शिक्षा सकाए। उच्च माध्यमिक शिक्षा भने घरदेखि बाहिर गएर अध्ययन गर्न मन लाग्यो।
उनी काठमाडौंको हिमालय ह्वाइट हाउसमा भर्ना भए। प्लस-टु गरेपछि पुल्चोक क्याम्पसबाट सिभिल इञ्जिनियरिङ गरे। २०६८ सालमा इञ्जिनियरिङ पढेर भैरहवा फर्किँदा उनी २४ वर्षका थिए। बुवा सीताराम त्यही बेला सञ्चालन हुन नसकेर बन्द भएको स्टिल उद्योग लिलामीमा किन्ने सोचमा थिए।
चल्न नसकेको उद्योग किनेर चलाउने भन्दा पनि सीतारामको सोच अर्कै थियो। एकातिर उद्योग बन्द भएर डुब्दै गरेका उद्योगीलाई सहयोग हुने। अर्कोतर्फ मेसिनहरू कवाडमा बिक्री गरेर उद्योग रहेको जग्गामार्फत रियल-स्टेट (घरजग्गा) को व्यवसाय चम्काउने।
सुरजले भने बन्द भएको उद्योगलाई नयाँ प्रविधिसहित पुनः सञ्चालन गर्ने प्रस्ताव गरे। अनि त्यसको जिम्मेवारी आफूलाई दिन बुवासँग आग्रह गरे।
भर्खरै इञ्जिनियरिङ पढेर घर फर्किएको छोराको प्रस्ताव बुवाले सहजै स्वीकारे।
'इञ्जिनियरिङ पूरा गर्दासम्म उद्योग क्षेत्रमा लाग्छु भन्ने सोच थिएन। भैरहवा आइपुग्दा बुवाले बन्द भएको उद्योग किन्नुभएको थियो। मैले त्यसैलाई नयाँ प्रविधिसहित चलाउने जिम्मेवारी लिएँ। अनि एसआर स्टिल सञ्चालन गरेँ,' उद्योग क्षेत्रमा प्रवेश गरेको सन्दर्भ जोड्दै सुरजले सेतोपाटीसँग भने।
सानैदेखि उद्योग-व्यवसायप्रति चासो राख्ने सुरजले इञ्जिनियरिङ पढ्दा नै नेपालमा उद्योग-व्यवसायको पर्याप्त सम्भावना रहेको बुझिसकेका थिए।
'सानैदेखिको रहरले इञ्जिनियरिङ पढे पनि पछि गएर बुवाको व्यवसाय सम्हाल्छु, उद्योगमै लाग्छु भन्ने थिएन। तर समय बित्दै जाँदा उद्योगी बन्न पुगेँ,' ३४ वर्षीय सुरजले भने।
उद्योग लिलामी लिएर नयाँ प्रविधिसहित सञ्चालन गर्ने सुरजको हिम्मतले पुरानो प्रविधिको ह्युम पाइप उत्पादन गर्ने लुम्बिनी पिएसीलाई पनि नयाँ प्रविधिसहित सञ्चालन गर्ने ऊर्जा मिल्यो। उनीहरूले लुम्बिनी पिएसीलाई पनि एसआर स्टिलसँगै पुनर्संरचना गरे।
उप्रेती परिवारको पहिलो व्यवसाय एसआर ढुवानी सेवाले पहिले अरू उद्योगी-व्यवसायीका उत्पादन ढुवानी गर्थ्यो। अहिले आफ्नै उत्पादन ढुवानीमै भ्याइनभ्याइ छ। अहिले ढुवानी, ह्युम पाइप, स्टिल हुँदै भवन र विकास निर्माणसँग सम्बन्धित उद्योग छन्।
२०५० सालदेखि उद्योग क्षेत्रमा प्रवेश गरेको उप्रेती परिवारले अहिले विभिन्न उत्पादनका सात उद्योग चलाइरहेको छ। जसमध्ये लुम्बिनी पिएसी, एसआर स्टिल, एसआर रोडा, निर्माणजन्य उद्योगसँगै खाद्यान्न सम्बन्धी एसआर फुड्स केही हुन्।
एसआर समूहअन्तर्गत सञ्चालित सबै उद्योगका उत्पादनमा गुणस्तर नियन्त्रण र प्रविधिको उच्चतम प्रयोगलाई ध्यान दिएर चुस्त बनाएको सुरज दावी गर्छन्।
'सबै उत्पादनको गुणस्तर कसरी कायम राख्ने भन्नेमा हामी सचेत छौं। त्यसमध्ये पनि स्टिल र खाद्यान्न एसआर ग्रुपका नाम चलेका उत्पादन हुन्,' उनले भने।
एसआर फुड्सबाट मैदा, आँटा, चक्की आटा, दलिया, चोकर र सुजी उत्पादन हुन्छ। पहिले एकै प्रकारको मैदा उत्पादन हुनेमा अहिले समय अनुकूल परिमार्जन गर्दै चाउमिन, बेकरी, बिस्कुट र सुजीका लागि अलगअलग मैदा उत्पादन हुने उनले बताए।
'हाम्रा उत्पादन बजारमा स्वीकार्य भएको र राम्रो प्रतिक्रिया आउने गरेकाले उद्योग क्षेत्रमा सफल भएको ठानेको छु,' सुरजले भने, 'एसआर फुड्सका उत्पादन अब जापान पठाउने तयारीमा छौं।'
एसआर समूह नितान्त पारिवारिक भएकाले सबै उद्योगको व्यवस्थापन परिवारकै सदस्यबाट भइरहेको छ। यस कारण व्यवस्थापनमा खास समस्या नआएको उनले बताए।
'पहिले आमा गोमादेवीले बुवालाई सघाउनु हुन्थ्यो। अहिले श्रीमती र बहिनी पनि यही क्षेत्रमा छन्।'
सुरजकी श्रीमती सुरक्षा काफ्ले क्रंक्रिट उद्योग हेर्छिन् भने बहिनी शिलाले ट्राभल्स र शिल्पाले एसआर फुड्स र एसआर एग्रो हेर्छिन्। उनीहरूका परिवारका सबै सदस्यलाई जिम्मेवारी बाँडफाट गरिएको छ।
उद्योग-व्यवसायमा सञ्चालनमा चुनौती पनि छन्। मुख्य समस्या दक्ष जनशक्ति नपाँदा समस्या हुन्छ। उनका अनुसार एक त दक्ष जनशक्ति पाउनै कठिन, पाइहाले टिकाउन गाह्रो। झन् कोरोना महामारीका कारण उत्पादन र बजार समस्याहरू पनि आइपरे।
सुरजका अनुसार समूहले उद्योग क्षेत्रमा मात्रै चारदेखि पाँच अर्बसम्म लगानी गरेको छ। व्यवसायसँगै शिक्षा, स्वास्थ्य, बैंक तथा होटल व्यवसायमा समूहले लगानी गरिरहेको छ। एकसय २५ बेड क्षमताको अन्तर्राष्ट्रिय चेन होटल सञ्चालन गर्ने योजना अगाडि सारे पनि सरकारी नीतिहरूका कारण रोकिएको उनले गुनासो गरे।
'भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलनजिकै होटल सञ्चालनका लागि जग्गा किनिएको छ। अन्तर्राष्ट्रिय चेन होटल भएकाले उद्योग विभागमा दर्ता गर्नुपर्छ। तर विमानस्थल आसपास, लुम्बिनी करिडोरको १५ किलोमिटरभित्र उद्योग स्थापना गर्न नदिने सरकारी निर्णयले रोकिएको छ। होटल प्रदूषण गर्ने उद्योग नभए पनि राज्यले अनुमति नदिँदा निर्माण गर्न पाइएको छैन,' उनले भने।
आफूहरूले सञ्चालनमा ल्याउन लागेको होटलका विश्वका विभिन्न मुलुकमा नौ हजारभन्दा बढी होटल भएको उनले बताए।
एमबिए पनि अध्ययन गरेका सुरज नेपालमा उद्योग-व्यवसायका लागि पर्याप्त सम्भावना रहेको बताउँछन्। भन्छन्, 'यहाँ जस्तो उद्योग पनि गर्न सकिन्छ। तर युवा पुस्ताले सही समयमा सही निर्णय लिन सक्नुपर्छ।'
व्यापारजस्तो तत्काल प्रतिफल खोज्ने चाहनाले उद्योग-व्यवसायमा सफल हुन नसकिने उनको सुझाव छ।
'उद्योगमै लाग्ने हो भने धैर्य र आत्मविश्वास चाहिन्छ। थोरै धैर्य गरौं, आफ्नै देशमा आफ्नै काम गरौं। तुरुन्तै नाफा-घाटाको हिसाबमा लाग्यौं भने व्यवसायमा टिक्न सक्दैनौं।'
आफ्ना बुवा यही क्षेत्रमा भएकाले आफूलाई केही सहज भए पनि उद्योग-व्यवसायमा हात हाल्न चाहनेलाई नयाँ योजनामा काम गर्न पनि उनी सुझाउँछन्। नयाँ योजना र सोचमा सुरू उद्योग-व्यवसाय सफल देखिएका छन्।
एसआर समूहका सातै उद्योग हेरिरहेका सुरज नयाँ प्रविधिमा अद्यावधिक भइरहन पनि सुझाउँछन्।
'कम्तीमा छिमेकी मुलुकहरूमा के भइरहेको छ, कसरी व्यवसाय चलेको छ भन्ने थाहा पाउन जरुरी हुन्छ,' उनले भने।