विश्वकप फुटबल सुरु हुन ६ दिन मात्र बाँकी छ। रसियामा हुन लागेको विश्व कपको रौनक नेपालमा पनि देखिन थालेको छ। सडकमा युवा–युवतिहरु आफुलाई मनपर्ने देशको जर्सी लगाएर हिँड्न थालिसकेका छन्।
खेलकुद सम्बन्धि सामान बिक्रि गर्ने पसलहरुले विश्वकपलाई टार्गेड गरेर जर्सी, झण्डा, कि–रिङ्ग लगायतका सामाग्री बेच्न थालेका छन्।
जर्सीको व्यापार भने कपडा पसलहरुले पनि गरिरहेका छन्। दैनिक ५० पिसको हाराहारीमा आफ्नो पसलबाट जर्सी बिक्री भई रहेको बानेश्वरस्थित स्पोर्ट युनिभर्सका संचालक किशोर कुमार जोशी बताउँछन्। ‘करिव २५ दिन अघिबाट जर्सी बिक्री हुन थालेको छ, विश्वकप नजिकिएसँगै यसको व्यापार बढ्दो छ’ उनले भने।
नेपालमा खासगरी ब्राजिल, अर्जेन्टिना र जर्मनीको जर्सीको माग उच्च रहेको व्यापारीहरु बताउँछन्। यो सँगै पोर्चुगल, स्पेन, इङ्ग्ल्याण्ड, बेल्जियम, जापान, फ्रान्स, मेक्सिको, कोलम्बिया लगायतको जर्सीको माग पनि राम्रो रहेको व्यापरीहरुले जानकारी दिए।
विश्वकपको रौनक होलसेल कपडा पसलमा झनै धेरै देखिन्छ। काठमाडौंभित्र ब्यापार हुन थालेको करिव १ महिना भए पनि विगत १ हप्तादेखि बाहिरका जिल्लाका ब्यापारीहरुले जर्सी लान थालेको महाबौद्ध स्थित लता इटरप्राइजेजका प्रदिप न्यौपाने बताउँछन्।
‘ठूलाले लगाउने, सानाले लगाउने, हाफ, फुल सबैखाले जर्सीको बिक्रि भैरहेको छ, अहिले एउटा होलसेल पसलबाट दैनक करिव ४–५ सय पिस विक्रि भइरहेको छ’ उनले भने।
यो वर्ष चर्चित देशहरुको मात्र नभई कतिपयले नाइजेरिया लगायत कम चर्चामा आउने देशको जर्सी समेत खोज्न आएको न्यौपानेले बताए।
बजारमा खासगरी ए, बि र सी गरी तीन ग्रेडका जर्सी उपलब्ध छन्।
ए ग्रेडको जर्सीको १ हजार देखि १५ सय रुपैयाँ पर्न आउँछ। बि ग्रेडको ८ सय देखि ९ सय ५० र सी ग्रेडको ५ सय ५० देखि ७ सय ५० रुपैयाँसम्म पर्ने व्यापारीहरुले जानकारी दिए।
यिनीहरुको गुणस्तरको आधारमा मूल्य निर्धारण गरिएको छ। ए ग्रेडको जर्सीको कपडाको गुणस्तर पनि राम्रो हुन्छ भने डिजाइन पनि ओरिजनल जर्सी जस्तै हुन्छ। सस्तो जर्सीको भने गुणस्तर पनि कम हुने र हुबहु डिजाइन पनि नमिल्न सक्ने व्यापारीहरु बताउँछन्।
बच्चाले लगाउने र बयस्कले लगाउने जर्सीको मूल्यमा खासै भिन्नता छैन। केही दिनमा जर्सीको मूल्य अझ बढ्न सक्ने ब्यापारीहरुले जानकारी दिए। ‘अहिले सबै सामान आइपुगेको छैन, बजेट भाषण पछि नेपाल भित्रिने सामानको मूल्य बढ्छ’ न्यौपानेले भने।
चीनबाट आयात हुने यी जर्सी अहिले राजधानीका फूटपाथदेखि ठूला मलसम्म किन्न पाइन्छ।
सवै तस्विरहरु – नारायण महर्जन/सेतोपाटी