सरकारले डोल्पामा रहेको शे–फोक्सोण्डोमा रिसोर्ट स्थापनाका लागि अध्ययन गर्ने भएको छ। पर्यटकीय सुविधा थप गर्ने लक्ष्यअनुसार सरकारले सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि सम्भाव्यता अध्ययन गराउन टेन्डर आब्हान गरेको छ।
लगानी बोर्डले उक्त सम्भाव्यता अध्ययन गर्न मंगलबार बोलपत्र निकालेको हो।
सरकारले पर्यटकलाई आर्कषित गर्न ३ हजार ६११ मिटरको उचाईमा रहेको सेफोक्सोण्डो ताल क्षेत्रको आसपासमा रिसोर्ट स्थापना गर्ने योजनासहित प्रक्रिया अगाडि बढाएको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले बताए।
‘पर्यटन आर्थिक विकासको मेरुदण्ड हो। त्यसैले प्राकृतिक रपमा असाध्यै सुन्दर यो क्षेत्रमा थप पर्यटकलाई आर्कषित गर्न सुविधासम्पन्न रिसोर्ट खोल्ने हाम्रो चाहना हो। त्यसैले पक्रिया सुरु गरेका छौँ।’
त्यस्तै मनाङमा स्की रिसोर्ट स्थापना गर्न सम्भाव्यता अध्ययन गर्न पनि बोर्डले सँगै बोलपत्र निकालेको छ।
वाग्लेले अध्ययनपछि कत्रो, कस्तो र कसले रिसार्ट उपयुक्त भन्ने कुरा आउने भन्दै अहिले भने पहिलो पक्रिया स्परुप सम्भाव्यता अध्ययनको बोलपत्र आव्हान गरिएको बताए।
बोर्डले सार्वजनिक निजी सहकारी वा पूर्ण निजी लगानीमा रिसोर्ट खोल्न सकिनेबारे अध्ययन गर्न बोलपत्र आव्हान गरेको हो।
बोर्डले सम्भाव्यता अध्ययन गर्न इच्छुक स्वदेशी वा विदेशी कम्पनीले २१ दिनभित्र आवश्यक कागजपत्रसहित निवदेन दिन आव्हान गरेको छ।
उक्त अध्ययन सकिएपछि कुन मोडलमा कसरी रिसोर्ट खोल्न सकिन्छ भन्ने एकिन हुने छ। यसरी रिसोर्ट आयोजना तयार भएपछि लगानीकर्तालाई आव्हान गरिने बार्डले जानकारी दिएको छ।
सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ र लगानी बोर्ड ऐन २०६८ तथा लगानी बोर्ड ऐन २०६९ का आधारमा सम्भाव्यता अध्ययनका लागि योग्य कम्पनीको छनोट गरिने जनाएको छ।