५ वर्षअघि बिदेश जाने योजना बनाएका राजन शेर्पा हिजोआज गाउँघरमै स्याउ नर्सरी उद्योग खोलेर मनग्य आम्दानी गर्न थालेका छन्।
हिमालपारीको जिल्ला मुस्ताङ, टुकुचेका राजनले गाउँकै थापाखोलाको किनारमा अवस्थित करिव १५ रोपनी जग्गा भाडामा लिएर हिमालयन शेर्पा स्याउ नर्सरी उद्योग संञ्चालन गर्दै आएका छन्।
राजनले स्याउका बिरुवा उत्पादन तथा बिक्री गरेर बार्षिक ७ देखि १० लाख रुपैयाँ सम्म मुनाफा गर्ने गरेको बताए। जिल्लामा भित्रिएको हिमाली उपआयोजनाको आर्थिक अनुदान ७ लाख रुपैयाँ तथा व्यक्तिगत पुँजी २ लाख रुपैयाँलाई जोडेर करिव ९ लाख रुपैयाँको लागतमा हिमाली शेर्पा नर्सरी उद्योग स्थापना गरेको उनले बताए।
राजनले वर्षेनी १३ हजार देखि १८ हजारवटा सम्म स्याउका बिरुवा बिक्री गर्ने गरेको बताए। उनले थपे "मेहनत र परिश्रम गरे बिदेश भौतारिन पर्दैन, गाउँमै बसेर मनग्य आम्दानी लिन सकिँदो रहेछ।"
जिल्लाकै एकमात्र निजी श्रोतबाट संञ्चालित शेर्पा स्याउ बिरुवा नर्सरी उद्योगमा ४ कर्मचारीले प्रत्यक्ष रोजगार पाईरहेका छन्। यस बाहेक शितोषण मार्फा बागवानी केन्द्रले पनि स्याउका बिरुवा उत्पादन गर्दै आईरहेको छ।
केन्द्रले वर्षेनि ३५ देखि ४० हजार स्याउका बिरुवा उत्पादन गर्ने गर्छ। जिल्लालाई चाहिने स्याउका बिरुवा उत्पादन गर्ने भएपनि केन्द्रले स्याउ उत्पादन हुने अन्य जिल्लाहरुमा निर्यात गर्ने गरेकाले जिल्लामा बिरुवा अभाव पनि हुने गरेको छ।
मुस्ताङको तल्लोक्षेत्र देखि उपल्लो मुस्ताङका किसान बिरुवा खरिद गर्न आफ्नो नर्सरीमा आउने गरेको शेर्पाले बताए। पछिल्लो समय स्याउ खेति तर्फ आर्कषण बढेकाले बिरुवा खरिदको माग बढ्दै गएको राजनले बताए।
उनले आफ्नो नर्सरीका बिरुवा डोल्पा,रामेछाप र सोलुखुम्बु सम्म पुग्ने गरेको बताए। उनले २ वर्ष हुर्किएको बिरुवा प्रति गोटा २ सय रुपैयाँ र ३ वर्ष हुर्काएको बिरुवा ३ सय रुपैयामा बिक्री गर्ने गरेका छन्।
स्याउ उत्पादनका लागि प्रमुख मानिएको हिमालपारीको जिल्ला मुस्ताङमा पछिल्लो समय स्याउ खेति तर्फ कृषकको आर्कषण बढ्दै गएको र बिरुवाको बजारीकरणमा पनि समस्या नपरेको शेर्पाको भनाई छ।
उनले बिरुवा उत्पादन तथा उद्योग व्यवस्थापनमा आम्दानीको ५० प्रतिशत खर्च हुने बताए। स्याउका बिरुवा जोगाउन औषधि तथा आवश्यक औजार उद्योगले नै जुटाउने गरेको छ।
वर्षेनि पुस देखि चैतको पहिलो सातासम्म बगैचामा नयाँ स्याउका बिरुवा लगाईने र अन्य समयमा बिरुवा उत्पादन तर्फ कार्य गर्ने गरेको उनले जानकारी दिए । स्याउका बिरुवा उत्पादन गर्न २ देखि ३ वर्षको समय लाग्ने शेर्पाको भनाई छ।