चीनमा निर्माण भएका थप २ विमान नेपाल एयरलाइन्सले ल्याएको छ। यसअघि नै खरिद सम्झौता भएर आउन बाँकी दुई विमान नेपालका लागि चीनको हार्विनबाट अघिल्लो साता उडेका विमान आज काठमाडौं आइपुगेका हुन्।
चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेको वाइ–१२(वाइ ट्वेल्भ) सिरिजका दुईवटा नयाँ विमान आज दिउसो पौने २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयरलायन्सका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए।
कम्पनीकै पाइलटले उडाएर ल्याएका नयाँ विमानको नेपाली दर्ता नम्बर(कलसाइन) ९एन–एकयू र ९एन–एकभी रहेको छ।
दुर्गमन क्षेत्रका साँघुरो धावनमार्गमा समेत उडान गर्न मिल्लने यी विमानमा १७ सिट क्षमता रहेको छ।
विस २०६९ सालमा नेपाल सरकार र चीन सरकारबीचको प्रत्यक्ष सम्झौता बमोजिम कूल ६ वटा जहाज नेपाल एयरलाइन्सले ल्याउने र त्यसमा दुईवटा अनुदान र ४ वटा सहुलियत ऋणमा सहमति भएको थियो।
२०७१ बैशाखमा पहिलो एमए ६० जहाज ल्याएको निगमले कात्तिकमा वाई १२ जहाज अनुदान स्वरुप ल्याएको थियो।
त्यस्तै एउटा एमए ६० र एउटा वाइ–१२ २०७३ मा ल्याएको थियो।
संचालनको केही समयभित्र नै दुवै चिनियाँ जहाजमा निरन्तररुपमा प्राविधिक, मर्मतसम्भारमा समस्या ,प्रशिक्षक पाइलटको अभाव,बिमा रकम महंगो,स्पेयर पार्टसको मूल्य अभावजस्ता समस्याबाट एयरलाइन्स पिडित भएपछि चिनियाँ पक्षले सम्बोधन गर्ने बताएको थियो।
चिनियाँ पक्षको उक्त आश्वासन पछि दोस्रो चरणमा विमान आएका थिए। तर पनि उक्त समस्या अझै समाधान भएको छैन। यी विमान थपिएपछि नेपाल एयरलाइन्ससँग आन्तरिक उडानका लागि ८ वटा विमान हुने छन्।