मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा आधुनिक सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ ।
पूर्व मुस्ताङी राजकुमार जिग्मे सिङ पलवर विष्टले लोमान्थाङमा आमा पाल रोयल मुस्ताङ रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । गणतन्त्र स्थापना भएपछि निस्क्रिय बनेका राजपरिवार होटल व्यवसायमा लागेका छन् ।
उपल्लो मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि रिसोर्ट स्थापना गरेको सञ्चालक विष्टले बताए । उनका अनुसार गत असोज महिनादेखि सञ्चालनमा आएको रिसोर्ट स्थापना गर्न रु नौ करोड लगानी भएको छ ।
उक्त रिसोर्टमा तिब्बती शैलीको भवन रहेको छ । भवनका लागि केही निर्माण सामग्री तिब्बतबाट समेत ल्याइएको थियो । एक दिनमा ५० जना पाहुना बास बस्न सक्ने क्षमताको उक्त रिसोर्टमा सातजनाले रोजगारी पाएका छन् ।
सो रिसोर्ट उपल्लो मुस्ताङको पहिलो हो । इन्टरनेट, हिटर, तातोपानीलगायतको सुविधा यो होटलमा पाइन्छ । सडकको पहुँच पुगेपछि उपल्लो मुस्ताङको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको छ ।
माटोको पर्खालले घेरिएको, माटोकै घर, पृथक भूगोल, मनोरम देखिने प्राकृतिक दृश्य, गुफा उपल्लो मुस्ताङको आकर्षण हुन् । पूर्व राजपरिवार बस्दै आएको लोमान्थाङ दरबार भने भूकम्पले क्षति पु¥याएपछि पुनःनिर्माणको काम भइरहेको छ ।
ऐतिहासिक महत्वको लोमान्थाङ दरबार पनि त्यहाँको थप आकर्षण हो । दालोमे गाउँपालिकाका अध्यक्ष राजु विष्टले पूर्व राजपरिवारले सञ्चालन गरेको रिसोर्टले उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।