आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आगामी मंसिर ३० गतेसम्म आन्दोलनको सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ।
महासंघका कार्यबहाक अध्यक्ष विष्णुभाई श्रेष्ठले निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष शरदकुमार गौचनको हत्यारा पत्ता लगाई कार्वाही गर्न माग गर्दै जारी आन्दोलन आगामी मंसिर ३० गतेसम्म स्थगित गरिएको जानकारी दिएका हुन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले निर्वाचन सम्पन्न भएपछि पुनः आन्दोलन जारी राख्ने पनि स्पष्ट पारे। महासंघले अध्यक्ष गौचनको हत्यारा पत्ता लगाई कार्वाही नगरे सरकार विरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएको छ।
महासंघले अध्यक्ष गौचनको हत्यारा पत्ता लगाउन सरकार र राजनीतिक दलहरूको पुनः ध्यानाकर्षण पनि गराएको छ। महासंघका कार्यबहाक अध्यक्ष श्रेष्ठले अध्यक्ष गौचनको हत्यारा पत्ता लगाई कार्वाही गर्न दबाब दिने उद्देश्यले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दल शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाउने तयारी गरिएको पनि जानकारी दिए।