ओम डेभलपमेन्ट बैंक र जर्मनीको केएफडब्लु डेभलपमेन्ट बैंकबीच कर्जा लगानी सम्झौतामा हस्ताक्षर भएको छ।
अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृतिमा दिगो आर्थिक विकास कार्यक्रममा कर्जा लगानी गर्नको लागि दुई बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार केएफडब्लुले ओमलाई तोकिएको क्षेत्रमा साना तथा मझौला उद्योगमा २ लाख देखि ४० लाख सम्मको कर्जा लगानी गर्न १० बर्षको लागि रकम उपलब्ध गराउनेछ। उक्त कार्यक्रमको लागि आवश्यक कर्मचारी तालिम, बृत्ती विकास, शाखा कार्यालय तथा लगानीको सम्भाब्यता अध्ययन कार्यको लागि १ मिलियन युरो रकम सहयोग उपलब्ध गराउनेछ।
अर्थ मन्त्रालयको तर्फबाट सह–सचिब लाल बहादुर खत्री, नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक उपेन्द्र पौडेल, ओम डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र केएफडब्लु डेभलपमेन्ट बैंकका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरे।
केएफडब्लु जर्मनको सबैभन्दा ठुलो सरकारी डेभलपमेन्ट बैंक हो जसले बिगत ३ बर्षदेखि बिभिन्न चरण अन्तर्गत बैंकको स्थलगत निरिक्षण तथा बित्तीय बिवरणहरुको अध्ययन गरे पश्चात नेपालका बैंक तथा बित्तीय संस्थाहरुमध्ये पहिलो चरणमा ओमलाई सहकार्यको लागि छनौट गरेको हो।