एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी एक वर्षको अवधिमा ४३ रुपैयाँले खस्किएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी ७८ रुपैयाँ रहेकोमा यो वर्ष ३५ मा झरेको छ।
यस अवधिमा बैंकको सेयर संख्या बढ्दा प्रतिसेयर आम्दानीमा ठूलो गिरावट आएको हो। यस अवधिमा बैंकले चुक्ता पुँजी २ अर्ब ७४ करोडबाट ६ अर्ब ११ करोड पुर्याएको छ। चुक्ता पुँजी बढाउन बैंकले मर्ज तथा एक्वीजिसनको प्रक्रिया नरोजी ठूलो परिमाणमा हकप्रद जारी गरेको थियो।
प्रतिसेयर आम्दानी खस्किए पनि बैंकको नाफा भने बढेको छ। बैंकले यो तीन महिनाको अवधिमा ५३ करोड १४ लाख खुद नाफा कमाएको छ। जवकि गत वर्षको समिक्षा अवधिमा यस्तो नाफा ५१ करोड ३४ लाख थियो।
नाफामा बैंकले ‘राइट ब्याक’को योगदान भने घटाएको छ। गत वर्ष ३ करोड ५३ लाख तानेकोमा यो पटक जम्मा २४ लाखमा सीमित गरिएको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ तीन सय ४३ रुपैंया ३८ रुपैंया रहेकोमा यस पटक दुई सय १० रुपैंया ६५ पैसा कायम भएको छ। जसले गर्दा लगानीकर्ता यसप्रति असन्तुष्ट हुने आधार बनेको छ।
बुधबारसम्म बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता १२२१ रुपैयाँ छ। बैंकको मूल्य आम्दानी अनुपात ३५ छ। अर्थात प्रतिफलका लागि बैंकमा सेयर लगानी केही महँगो देखिन्छ। भारतीय पन्जाव नेसनल बैंकसँगको संयूक्त लगानीमा संचालित एभरेष्टको सेयर ‘ब्लुचिप’ मानिन्छ। कम्पनीको क्रेडिट टु डिपोजिट (सिडी) रेसियो ७६. ९ प्रतिशत छ।
कम्पनीको निश्क्रिय कर्जा भने गत वर्षको तुलनामा घटेको छ। गत वर्ष यस्तो कर्जाको ०. ३६ प्रतिशत रहेकोमा अहिले ०. २६ प्रतिशतमा झरेको छ। यसले गर्दा बैंकले निश्क्रिय कर्जा उठाउनका लागि राम्रो पहल गरेको देखिन्छ।
बैंकको निक्षेप लागत भने बढेको छ। गत वर्ष अत्याधिक तरलताका कारण निक्षेप लागत २.३ प्रतिशत रहेकोमा अहिले बढेर ४.८५ प्रतिशत पुगेको छ।
बैंकले हालै जारी गरेको हकप्रद गणना तथा गत आवको नाफाबाट बोनस जारी गरेपछि सहजै चुक्ता पुँजी ८ अर्ब पुर्याउने छ। बैंकको जगेडा कोषमा ६ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। गत आवको पहिलो त्रैमासमा यो रकम ६ अर्ब ३८ करोड थियो। चुक्ता पुँजी बढाइरहँदा बैंकको जगेडा कोष भने सोही अनुसार बढ्न सकेको छैन।