सेयर लगानीकर्ताको संगठित समूह नेपाल इन्भेष्टर फोरमले नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई भेटेर बजार सुधारका लागि १० बुँदे माग राखेको छ। साउदलाई भेट गरी फोरम प्रतिनिधीले पुँजी बजारको विकासका लागि तत्काल गर्नुपर्ने सुधारका कामहरु अवगत गराएका छन्।
पूर्ण अनलाईन कारोबार प्रणाली कहिलेसम्म लागू गर्न सकिन्छ त्यस विषयमा स्पष्ट पार्न उनीहरुले माग गरे। यो प्रणालीसम्बन्धी कामगर्ने कार्यदलमा नेपाल ईन्भेष्टर्स फोरमको प्रतिनिधित्व सुनिश्चित गर्न उनीहरुको माग छ।
५० वटा सेयर दलालको संख्या र पहुँच आम लगानीकर्ताहरुकाबीचमा न्युन रहेको भन्दै बाणिज्य बैंकलाई पनि ब्रोकर लाईसेन्स दिन उनीहरुले माग गरेका छन्। देश संघियतामा गएकाले प्रत्येक प्रदेशमा क्षेत्रीय सेयरदलालहरुलाई लाईसेन्स दिन भनेका छन्।
गैरआवासीय नेपाली, विदेशमा बस्ने नेपाली नागरिक र संस्थागत विदेशी लगानीकर्ताहरुलाई सेयर बजारमाप्रबेश गराउन माग गरेका छन्। मार्जिन लेण्डिङको सुविधा दिन, ब्रोकर कमिसन घटाउन, हकप्रद तथा लिलाममा आउने सेयरलाई आश्बा प्रणालीमा आवद्ध गर्न, हकप्रद तथा बोनस चाँडै खातामा आउने व्यवस्था गर्न र कम्पनीको त्रैमासिक विवरण नेप्सेबाट पनि सार्वजनिक गर्नुपर्नेमा इन्भेष्टर फोरमको माग छ।
फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले यस सम्वन्धमा धितोपत्र बोर्डको पनि चाँडै ध्यानाकर्षण गराउने बताए। ‘अब बजारको विकासका लागि नियमित रुपमा नियामकलाई झकझक्याउने काम गर्छौँ’ उनले भने।