नेपाल ग्रामीण विकास बैंकको एफपिओमा बाँडफाँड भएको छ। मंगलबार भएको बाँडफाँडमा १ लाख ५३ हजार २४ जनाको हात रित्तै भएको छ। कुल २ लाख ५० हजार ५२४ जनाले आवेदन दिएकोमा ९७ हजार ५ सयले मात्रै गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन्।
कम्पनीले ९ लाख ७५ हजार कित्ता एफपिओ गत भदौ २७ देखि ३० गतेसम्म बिक्री खुलाएको थियो। पुग्ने भएमा आवेदन दिने सबैलाई १० कित्ताका दरले सेयर दिइनुपर्ने धितोपत्र बोर्डको नयाँ प्रावधानअनुसार ९७ हजार ५ सयलाई मात्रै १० कित्ताका दरले बाँडफाँड गरिएको हो।
३ हजार ७९१ आवेदन भने रद्द भएको थियो।
बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार साँझसम्म आफूलाई सेयर परे नपरेको हेर्न सकिनेछ। सिस्टमको काम भइरहेकाले साँझसम्म आफूलाई सेयर परे नपरेको हेर्न सकिने कम्पनीको भनाइ छ।
एफपिओमा कुल २ अर्ब ७३ करोड रुपैयाँ बराबरको आवेदन परेको क्यापिटलले जनाएको छ। बजारमा कम्पनीको मूल्य प्रतिकित्ता ७ सय रुपैयाँको हाराहारीमा छ। कम्पनीले अंकित मूल्य १ सयमै एफपिओ बिक्री खुलाएकाले अत्याधिक आवेदन परेको हो।