नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले तिहारलगत्तै ब्रोकरमार्फत मार्जिन लेण्डिङको काम हुने गरी अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
विश्व लगानीकर्ता सप्ताहको अवसरमा आज बोर्डमा आयोजित कार्यक्रममा उनले लगानीकर्ताको हित र सम्पत्तिको संरक्षणलाई बोर्डले सधै प्राथमिकतामा राखेको बताए।
हालसम्म ब्रोकर कम्पनीबाट मार्जिन लेण्डिङको काम नहुँदा लगानीकर्ताले बैंकबाटै ऋण लिएर सेयरमा लगानी गर्ने गरेका छन्। ब्रोकर कम्पनीबाट नै लगानीकर्ताले सेयर खरिद गर्दा कुल मूल्यमा केही हिस्सा रकम सापटीस्वरुप दिने प्रक्रियालाई मार्जिन लेण्डिङ भन्ने गरिन्छ।
सो अवसरमा लगानीकर्ता संघका अध्यक्षहरु उत्तम अर्याल र नवराज सुवेदीले विश्व लगानीकर्ता सप्ताहलाई बोर्डले नेपालमा पनि मनाएर विशेष ध्यान दिएकोमा खुसी व्यक्त गरे।
त्यस्तै अनलाइन ट्रेडिङ प्रक्रियालाई यथाशक्य चाँडो लागू गरिनुपर्ने, वाणिज्य बैंकले ब्रोकरको लाइसेन्स पाउनुपर्ने, दोस्रो बजारमा एक वर्षभन्दा लामो अवधि सेयर ज्यामी गरी बिक्री गर्दा क्यापिटल गेन ट्याक्स लाग्न नहुने, धितोपत्र कारोवार गर्दा लाग्ने ब्रोकर कमिसन अझै घटाउनुपर्ने लगायतका माग लगानीकर्ताले गरेका छन्।