ग्राहकलाई अत्याधुनिक बैकिङ्ग सेवा दिने उद्देश्यका साथ कुमारी बैंकले नयाँ कोर बैंकिङ सफ्टवेयर ‘फिनाकल–१०’ खरिद गर्नका लागि इन्फोसिस लिमिटेडसँग सम्झौता गरेको छ। कुमारी बैंकका सिइओ सुरेन्द्र भण्डारी तथा इन्फोसिसका डाइरेक्टर अंकुर सक्सेनाले सम्झौता पत्रमा हस्ताक्षर गरे।
इन्फोसेस मल्टिनेशनल सफ्टवेयर कम्पनी हो। फिनाकल संसारभरि चलेको उच्चस्तरीय बैंकिङ सफ्टवेयर भएको जनाउँदै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले फिनाकल सिस्टमबाट ग्राहकले गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे।
फिनाकल सफ्टवेयर विश्वका ४५ वटा देशहरुमा प्रयोग भइरहेको र नेपालमा आधुनिक प्रविधियुक्त यस्तो सफ्टवेयरको प्रयोग सन् १९९६ देखि हुँदै आएको बैंकले जनाएको छ। हाल नेपालमा ११ वटा बैंकले यो सफ्टवेयरको प्रयोग गरेका छन्।
हाल कुमारी बैंकले ७४ शाखा तथा २ वटा एक्सटेन्सन काउन्टरहरुवाट सेवा प्रदान गरिरहेको छ। यसका अतिरिक्त बैंकका एटिएम संख्या ५७ पुगेको छ।