अरुण भ्याली हाईड्रो पावर डेभलपमेण्ट कम्पनीले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
शुक्रबार बसेको कम्पनीको २० औं वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो।
यसका साथै, उक्त साधारण सभाले सञ्चालक समिति समेत चयन गरेको छ । कम्पनीका नयाँ सञ्चालक समितिमा जीवन शाक्य, रमेश प्रसाद न्यौपाने, पूजा दाहाल, विवेक तातेड र मिलन खड्का गरी पाँच जना सञ्चालकहरू चयन भएका छन् ।
कम्पनीले मेची अञ्चल पाँचथर जिल्ला याङवरक गाउँपालिकामा निर्माण भैरहेको काबेली बी—१ जलविद्युत आयोजनाको टेलरेसको पानी उपयोग गरी ९ दशमलव ९४ मेगावाट क्षमताको आयोजना निर्माणका लागि सम्पूर्ण अध्ययन पूरा गरी विद्युत खरीद विक्री सम्झौताका लागि नेपाल विद्युत प्राधिकरणमा छिट्टै आवेदन गर्ने तयारी गरेको छ ।
साथै, कम्पनीले पाँचथर जिल्लाको काबेली खोलाबाट अपर काबेली ९ दशमलव ६ मेगावाट र सोलुखुम्बु जिल्लाको बुदुम खोलाबाट ११ दशमलव ८ मेगावाट क्षमताका दुई आयोजनाहरूको विस्तृत संभाव्यता अध्ययनको कार्य अगाडि बढाएको छ ।