साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ। यस दिन बजारको परिसूचक नेप्से करिब ३५ अंकले घटेको छ भने सबै सूचक तथा समूहहरु रातो रहे।
कम्पनीहरुले लाभांश घोषणा गर्दै गर्दा बजारमा ठूलो गिरावट देखिएको छ। सेयर आपूर्ति बढ्नु र नजिकिँदा चाडपर्वका कारण बजारमा प्रभाव परेको हो।
कारोबार रकममा सामान्य सुधार देखिएको छ। यस दिन १५८ कम्पनीको ९२ करोड ४२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ। ३४. ८ अंकले नेप्से ओर्लिएर १५१९ अंकमा कायम भएको छ। यस दिन सबै समूहहरु ओर्लिएका छन्।
सबैभन्दा धेरै बिमा समूह २९६ अंकले घटेको छ। बैंकिङ २८, होटल ५१, विकास बैंक ४९, जलविद्युत ४०, फाइनान्स १३, उत्पादन २४ र अन्य समूह २ अंकले घटेका छन्।
कारोबार रकमका आधारमा यस दिन निर्धन उत्थान विकास बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीले ४० प्रतिशत बोनस र १४ प्रतिशत नगद लाभांश घोषणा गरेकै दिन कारोबार बढेको हो। उसको १० करोड ६७ लाख बढी रकमको कारोबार भएको छ।
त्यस्तै नेपाल बैंकको ५ करोडको कारोबार हुँदा नविल बैंकको ४ करोड ९२ लाखको सेयर किनबेच भयो। नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टड बैंक पनि कारोबारका आधारमा अगाडि रहे।
समग्र बजारमा भारी गिरावट आउँदा पनि समता माइक्रोफाइनान्सका लगानीकर्ताले ४.९ प्रतिशत नाफा कमाए। निर्धन उत्थानको मूल्य पनि ४.४ प्रतिशतले बढेकोछ। छिमेक लघुवित्त विकास बैंकको मूल्य १० प्रतिशतले घटेको छ भने जेनरल फाइनान्सको मूल्य ८ प्रतिशतले घटेको छ।
यसैबीच नेपाल बंगलादेश बैंकले गत आवको नाफाबाट १२ प्रतिशत बोनस र करसहित ३. ७ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ।