पुँजी बजारको विकासका लागि भन्दै ‘पुँजी बजार लगानीकर्ता संघ’ गठन भएको छ। नवराज सुवेदीको अध्यक्षतामा संघ गठन भएको हो।
संघमा ५० वटै ब्रोकरमार्फत लगानी गरेका १०–१० जनाका दरले पदाधिकारी छनौट गरिने अध्यक्ष सुवेदीले जानकारी दिए। संघमार्फत पुँजी बजारको विकासका लागि अघि बढिने उनको भनाइ छ। ब्रोकर कमिसन घटाउने, अनलाइन ट्रेडिङ सिस्टमको विकासका लागि दवाव दिने, मार्केट डिलर तथा मार्जिन लेण्डिङको व्यवस्थाका लागि दवाव दिने लगायतका कार्यहरु संघले गर्ने उनले बताए।
सेयर बजारका लगानीकर्ताको हितकै लागि भनेर लगानीकर्ता संघ र इन्भेष्टर फोरम यसअघि नै गठन भएका छन्। गठन भएको लगानीकर्ता संघमा सुवेदीले नै महासचिव पद सम्हालेका थिए। संघमा आवद्ध केही सदस्यहरुले नाजायज फाइदा लिएको भन्दै उनले बीचमै राजीनामा दिएका थिए।
गठन भएका संघप्रति भने साना लगानीकर्ता असन्तुष्ट बनेका छन्। विभिन्न संघ गठन गरेर कम्पनीका सूचनाहरु चाँडो आफूले लिने र फाइदा उठाउने काम मात्रै भएको उनीहरुको गुनासो छ।