कम्पनीहरुले गत आवको नाफाबाट लाभांश घोषणा गर्दै गर्दा सेयर बजार भने ओर्लिरहेको छ। विगत तीन साताकै अवधिमा नेप्से परिसूचक ८७ अंकले झरिसकेको छ।
गत साउन २३ गते १६६७ अंकमा रहेको नेप्से आज कारोबार हुँदा १५८० अंकमा झरेको छ। यस बीचमा सिटिजन्स, नविल, एनआइसी एसिया, युनिलिभर नेपाल लगायत कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन्।
अन्य धेरै कम्पनीहरु पनि आकर्षक लाभांश घोषणाको तयारीमा छन्। बैंक तथा वित्तीय संस्थाहरुको सेयर आपूर्ति बढेकाले लाभांश घोषणा हुँदै गर्दा पनि बजार उक्लिन नसकेको लगानीकर्ताको भनाइ छ।
सात वर्षदेखि दोस्रो बजारमा सक्रिय रहँदै आएका लगानीकर्ता सिर्जन वस्ताकोटी पूर्ति ज्यादा भएकाले नै बजार बढ्न नसकेको बताउँछन्। ‘लगानीकर्ता केही थपिएका भए पनि दायरा उहीँ हो, आपूर्ति ज्यादै बढेको छ त्यसकारण बजार उक्लिन नसकेको हो’ उनले भने।
बजार निरन्तर झरेपछि बेच्नेहरु ‘हतास’ मनस्थितिमा र किन्न चाहनेहरुमा ‘पर्ख’ को मनस्थिति बनेको लगानीकर्ताहरु बताउँछन्।
बिहीबार १८ अंकले झर्योसाता कारोबारको अन्तिम दिन १८ अंकले झरेको छ। कारोबार ८४ करोडमा सीमित रह्यो। यस दिन सबै समूहहरु ओर्लिएका छन्। बैंकिङ १६, होटल ११, विकास बैंक २४, जलविद्युत १७, फाइनान्स १०, बिमा १४७, उत्पादन १ र अन्य समूह १ अंकले झरे।
कारोबारका आधारमा एनआइसी एसिया बैंक अगाडि रह्यो। सो कम्पनीको ६ करोड २६ लाखको कारोबार भयो। कम्पनीको मूल्य प्रतिकित्ता ४४० कायम भएको छ। यस दिन जनरल फाइनान्स र निर्धन उत्थान विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशत मूल्य कमाए।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीमका लगानीकर्ताले १० प्रतिशत मूल्य गुमाए।