नेपाल बङ्गलादेश बैंकको बागलुङमा ४७ औं शाखा संचालनमा आएको छ।
२०५१ सालमा स्थापना भएको बंैकले यसअघि देशका विभिन्न ४६ स्थानका शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकको शाखा उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले नेपालको ४२ प्रतिशत जनतामा मात्र बैंकको पहुँच रहेको जानकारी गराए।
नेपालका सबै स्थानीय तहमा बैंकिङ सेवा विस्तार गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ। ‘नेपालको ५८ प्रतिशत जनसंख्यासम्म अझै पनि बैंकको सेवा पुग्न सकेको छैन,’ उनले भने, ‘सबैसँग पहुँच पुर्याउनु जरुरी छ।’ पौडेलले भूगोल, संचार, यातायात, सुरक्षा लगायतका कारण तत्काल सबै ठाउँका स्थानीय तहमा सेवा पुर्याउन अप्ठ्यारो भएको बताए।
बैंकका सञ्चालक माधवप्रसाद न्यौपानेले आर्थिक कारोबारको हिसाबले बागलुङ उर्वर ठाउँ भएकाले शाखा खोलिएको बताए। नेपालमा धेरै रेमिट्यान्स भित्रिने ठाउँहरुको लिष्टमा बाग्लुङको नाम अगाडि नै छ, जसले गर्दा यहाँ आर्थिक कारोबार धेरै हुन्छ, हामी पनि यहाँको आर्थिक विकासमा साझेदार बन्न शाखा खोलेका हौँ’ उनले भने।
बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले बैंक भित्रिनु खुशीको कुरा भएको बताए। उनले यहाँको रेमिट्यान्समा मात्र केन्द्रित नभई गाउँघरसम्म लगानी गरेर आर्थिक विकास गर्न बैंकलाई सुझाव दिए।