आइतबार नेप्से परिसूचक ४.५ अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्से १६२२ मा पुगेको छ।
यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। १६५ कम्पनीको ८१ करोड ५१ लाखको सेयर खरिदबिक्री भएको छ। बिमा, फाइनान्स र अन्यबाहेकका समूह बढेका छन्। बिमा ३४, अन्य ६ र फाइनान्स समूह १ अंकले घटे। विकास बैंक १२, उत्पादन ३२, जलविद्युत ११, होटल ६ र बैंकिङ समूह ७ अंकले बढेका छन्।
कारोबारका आधारमा नविल बैंक अगाडि रह्यो। सो कम्पनीको ५ करोड ५२ लाखको कारोबार भएको छ। कम्पनीले आजै लाभांशको घोषणा गरेकाले कारोबार उच्च भएको हो।
त्यस्तै सिटिजन्स बैंकको ४ करोड २१ लाखको सेयर खरिदबिक्री भयो। कम्पनीको बुक क्लोजको मिति नजिकिएकाले सो कम्पनीको कारोबार बढेको हो। प्राइम लाइफ इन्स्योरेन्स, एनआइसी एसिया र स्टान्डर्ड चार्टड बैंक पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।
यस दिन पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतकै हाराहारीमा मूल्य कमाएका छन्। सिर्जना फाइनान्स, हिमालयन पावर पार्टनर, स्वरोजगार लघुवित्त, समिट माइक्रोफाइनान्स र हिमालयन डिस्टिलरीको मूल्य १० प्रतिशतले बढेको हो। तिमध्ये स्वरोजगारले २५ प्रतिशत बोनसको घोषणा गरिसकेको छ।
समग्र बजार बढ्दा नविल ब्यालेन्स फण्डको मूल्य १० प्रतिशतले घटेको छ। कम्पनीको नगद लाभांशका लागि बुक क्लोज भइसकेर नयाँ मूल्यमा कारोबार खुलेकाले मूल्य घटेको हो। जनरल फाइनान्सको मूल्य पनि १० प्रतिशतकै हाराहारीमा घटेको छ। सिन्धु विकासका लगानीकर्ताले ७ प्रतिशत मूल्य गुमाउँदा अन्य गुमाउनेहरु ४ प्रतिशतमुनिको सीमामै रहन सके।
यसैबीच ओपल सेक्युरिटिज कम्पनीको कारोबार रोकिएको छ। समयमै रकम भुक्तानी नहुँदा कारोबार रोकिएको नेप्सेले जनाएको छ।