साताको पहिलो दिन सेयर बजारको परिसूचक दोहोरो अंकमा झरेको छ। ११. ४ अंकले नेप्से झरेर १६४२ अंकमा कायम भएको छ।
कारोबार सुरु हुँदा उक्लिएको नेप्सेले १२ मिनेटमै १६६० अंक नाघेको थियो। त्यसपछि बन्द हुँदासम्म नेप्से ओरालो गतिमा रह्यो। कारोबार रकममा पनि ठूलै गिरावट देखिएको छ।
दैनिक सरदर एक अर्बको कारोबार हुने गरेकोमा आज ८० करोडमा सीमित भएको छ। १६० कम्पनीको १९ लाख कित्ता सेयर किनबेच भयो।
समूहगत रुपमा हेर्दा फाइनान्स र उत्पादन समूह हरियो अंकमा रहे भने अरु सबै घटेका छन्। फाइनान्स ८ र उत्पादन समूह १६ अंकले बढे।
बिमामा सबैभन्दा धेरै १०४ अंकको गिरावट आएको छ। बैंकिङ ९, होटल ५४, विकास बैंक १८, जलविद्युत २१ र अन्य समूह १ अंकमुनि रातो रहे। नेसनल हाइड्रोपावरको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ।
उसको ६ करोड ३८ लाखको कारोबार भयो। मूल्य प्रतिकित्ता १६३ पुगेको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड १३ लाखको कारोबार भयो। स्टान्डर्ड चार्टड, एनआइसी एसिया बैंक र नविल संस्थापक सेयर कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।
महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन्। ति लगानीकर्ताले ९ प्रतिशत नाफा कमाए। यति डेभलपमेन्टसँग मर्जपछि पहिलो पटक कारोबार खुलेकाले कम्पनीको सेयर खरिदका लागि आदेश बढेको छ भने पूर्ति न्यून छ।
अरुण फाइनान्स र नेसनल हाइड्रोको मूल्य ५ प्रतिशत बढीले बढेको छ। ललितपुर फाइनान्स, ग्रीन डेभलपमेन्ट र हाम्रो विकास बैंकका लगानीकर्ताले ९ प्रतिशत बढी गुमाए।
यस दिन वाणिज्य बैंक समूहको २७ करोड, बिमा समूहको २३ र बिकास बैंक समूहको २१ करोडको कारोबार भयो। नागरिक लगानी कोषको बोनसपछि मूल्य समायोजन भएको छ। एनआइसी एसिया बैंकले २० प्रतिशत बोनस दिने सूचना नेप्सेको साइटमार्फत सार्वजनिक गरेको छ।