नेसनल लाइफ इन्स्योरेन्सले चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर दिएर हुन आउने रकममा थप ६० प्रतिशत हकप्रद दिएर चुक्ता पुँजी पुर्याउने भएको छ। कम्पनीको २९ औं वार्षिक साधारण सभाले २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश पारित गरेको छ।
२५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ६५ करोड पुग्नेछ। त्यसपश्चात पुनः ६० प्रतिशत हकप्रद सेयर जारी गरेर २ अर्ब ६४ करोड पुर्याइने कम्पनीले जनाएको छ। यसवाट भविष्यमा तोकिन सक्ने संभावित पुँजी बृद्धिको लागि सहयोग हुने कम्पनीले आशा गरेको छ।
सो साधारण सभामा कम्पनी अध्यक्ष प्रेमा सिंहले आ.व २०७२/७३ मा कूल ३८५ करोड बीमा शुल्क संकलन भएको जानकारी दिइन्। १०७ करोड खूद दावी भुक्तानी भएको र ३६ करोड खुद मुनाफा आर्जन गरेको सिंहले बताइन्।
कम्पनीको बीमा कोष अघिल्लो वर्षको तुलनामा २२.९४ प्रतिशतले बृद्धि भई २०७३ असार मसान्तसम्ममा १४ अर्ब ३१ करोड पुगेको छ। आगामी दिनहरुमा नेपाली बीमा बजारमा थप अद्यावधिक बीमा लेखहरु प्रवेश गराउन र आफ्ना ग्राहकवर्गलाई प्रदान गर्ने सेवाको गुणस्तरमा बृद्धि गर्न कम्पनी सदैव प्रयासरत रहने समेत अध्यक्षले सभामा जानकारी गराइन्।