साताभर सवा ५ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार १६७ कम्पनीको ५ अर्ब २५ करोड २४ लाखको सेयर खरिदबिक्री भएको हो।
कारोबार रकम गत साताको भन्दा ५.०५ प्रतिशत कम हो। गत साता १७० कम्पनीहरुको पाँच अर्ब ५३ करोड रुपैयाँको सेयरहरु खरिदबिक्री भएका थिए। साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७. ३० अंकले बढेर अन्तिम दिन १६६०. ५८ अंकमा पुगेको छ।
साताभर बैंकिङ समूह १०, विकास बैंक ४८, वित्त ६४, होटल १६२ र जलविद्युत समूह ३३ अंकले बढे। बिमा समूह १४१ अंकले घटेको छ। उत्पादनमूलक ६८ तथा अन्य समूह १५ अंकले बढे।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.८६ अंकले बढेर ३४८.२२ अंकमा आईपुगेको छ।
यस साता कारोबार रकम (२४ करोड ५७ लाख ६० हजार रुपैयाँ) को आधारमा नेपाल ग्रामिण विकास बैंक अग्रस्थानमा रहेको छ। मुक्तिनाथ विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र सानिमा बैंक कारोबार रकमका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।
त्यसैगरी कारोबार भएको सेयर संख्या (१७ लाख ४२ हजार कित्ता) को आधारमा लक्ष्मी भ्यालु फण्ड १ अग्रस्थानमा रहेको छ। यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो।
यस साता ४ कम्पनीका थप सेयर बजारमा सूचीकृत भएका छन्। मिसन डेभलपमेन्ट, जनता बैंक, टुरिजम डेभलपमेन्ट र तिनाउ विकास बैंकको हकप्रद सेयर सूचीकृत भएका छन्।