नेपालमा भिसा कार्ड प्रयोगमा आएको २५ वर्षपछि भिसा वर्ल्डवाइड सिंगापुरले नेपालमा आधिकारीक कार्यालय खोलेको छ।
यससँगै भिसाले नेपाल बैंकर्स संघसँगको साझेदारीमा वित्तीय सुरक्षा, सचेतनामा काम गर्ने भएको छ।
‘यो सहकार्य अन्तर्गत आगामी सेप्टेम्बरमा हामी केही प्रशिक्षकहरू समेत पठाउनेछौं, हामी नेपालमा बैंकिङ समुदाय र फिनटेकमा संलग्न समुदायको सुदृढिकरणको लागि थप नयाँ क्षेत्रहरूको पहिचान पनि गर्नेछौं,’ भारत र दक्षिण एसियाका लागि भिसाका उपाध्यक्ष तथा हेड अफ गभर्नमेन्ट इन्गेजमेन्ट प्रमुख आनन्द झाले बताए।
नेपालमा भुक्तानीको लागि क्युआर प्रणालीको प्रयोग बढिरहेपनि कार्डको प्रयोगमा समेत कमि नरहेकोले यसमा पनि नयाँ प्रविधि भित्र्याउन आवश्यक रहेको नेपाल बैंकर्स संघका प्रमूख कार्यकारी अधिकृत अनिल शर्माले बताए।
शर्माले भने, ‘प्रयोगकर्ता संख्याको आधारमा क्युआरको प्रयोग धेरै देखिन्छ, तर भुक्तानी हुने रकमको आधारमा कार्डमा पनि लगभग उस्तै छ, त्यसैले कार्डको प्रयोगमा नयाँ प्रविधि ल्याउन, यसलाई सुरक्षित बनाउन पनि उत्तिकै जरूरी छ।’
बैंकर्स संघका प्रमूख कार्यकारी अधिकृत शर्माका अनुसार अहिले क्युआरबाट वार्षिक क्युआरमा ९३ अर्ब रूपैयाँ बराबरको कारोबार हुँदा कार्डबाट समेत ९१ अर्ब रूपैयाँ बराबरको भइरहेको छ।
भिसासँगको साझेदारीसँगै भुक्तानी क्षेत्रमा प्राविधिक सहयोग पुग्ने पनि शर्माले बताए।
आगामी दिनमा भिसाले राष्ट्र बैंक र सरकारले लिएको डिजिटल नेपालको लक्ष्यलाई सघाउने गरी काम गर्ने नेपालका लागि भिसाका प्रमूख मनोज थापाले बताए।